काठमाडौं । नेपाल वायुसेवा निगमका कर्मचारीहरुको आन्दोलनका कारण विगत तीन महिनाभन्दा बढी समयदेखि महाप्रवन्धक डिमप्रकाश पौडेल कार्यालय बाहिर बसेर काम गर्दै आएका छन् ।
आन्दोलनमा उत्रिएका कर्मचारीहरुले महाप्रवन्धक पौडेलको समेत राजीनामा माग गर्दै यथास्थितिमा कार्यालयमा प्रवेश गर्न नदिने अडान राख्दै आएका कारण उनी तालुकदार मन्त्रालय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा हाजिर हुँदै आएका छन् ।
तत्कालीन समयमा पर्यटनमन्त्री नभएको भन्दै त्यहाँका सचिव र अन्य अधिकारीहरुले निगमको समस्या सल्टाउन ठोस पहलकदमी गरेका थिएनन् । तर, अहिले पर्यटनमन्त्रीको रुपमा प्रेम आले आएसँगै तत्कालका लागि दसैं र तिहारसम्मका लागि आन्दोलन स्थगन गरे पनि महाप्रवन्धक पौडेल कार्यालयमा जान पाएका छैनन् । उनी अहिले पनि मन्त्रालयमै हाजिर हुँदै त्यहीबाट दैनिक कामकाज गर्दै आएका छन् ।
महाप्रवन्धक पौडेललाई निगमको कार्यालयमा हाजिर गराउने विषयमा पर्यटन मन्त्री आलेसमेत मौन रहँदै आएका छन् । उनले महाप्रवन्धक पौडेललाई आफ्नै कार्यालयमा जान निर्देशनसमेत दिन सकेका छैनन् भने कर्मचारीहरुलाई पनि महाप्रबन्धक पौडेललाई बर्खास्ती गर्ने र नियमित रुपमा काम गर्न भनेर निर्देशन दिन सकेका छैनन् ।
मन्त्री नियुक्ति भएको १२ दिन(असोज २२ नियुक्त) हुँदा समेत निगमको समस्या ज्युँकात्यूँ रहँदै आएको छ । त्यहाँको समस्या समाधानका लागि मन्त्री आलेले आन्दोलनरत कर्मचारीहरुसँग छलफल गरे पनि महाप्रबन्धक पौडेललाई बर्खास्तीको मागले गर्दा ठोस निर्णय हुन सकेको छैन ।
छलफलमा सहभागी एक ट्रेड युनियनका कर्मचारीका अनुसार मन्त्री आलेले महाप्रवन्धकलाई हटाउने अधिकार आफ्नो नभएको र मन्त्रिपरिषद्ले नै निर्णय गर्नुपर्ने भएकाले तत्कालै सम्भव नभएको बताएका थिए । कर्मचारीहरुले भने महाप्रवन्धक पौडेललाई बर्खास्ती नगरी कार्यालयमा नपठाउन मन्त्री आलेलाई आग्रह गरिएको बताइएको छ ।
यता पर्यटन मन्त्रालयका प्रवक्ता डा. टोकराज पाण्डेले भने निगमको आन्दोलन सकिसकेको र महाप्रवन्धक पौडेलले नियमित रुपमा कार्यालयमा काम गरिरहेको जानकारी दिए ।
‘उहाँ आफ्नै कार्यालयमा बसेर काम गर्दै आउनुभएको छ, प्रवक्ता पाण्डेले भने, मन्त्रालयमा हाजिर भएको जानकारी मलाई छैन ।’
निगमका कर्मचारीहरुले असार १८ गतेदेखि आन्दोलन सुरु गरेका थिए । निगमलाई पब्लिक कम्पनीमा लैजाने प्रक्रिया खारेज हुनुपर्ने र महाप्रवन्धक पौडेलले राजीनामा दिनुपर्ने माग राख्दै लामो समयदेखि त्यहाँका कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन् ।