बीबीसी । लामो समय नाइकीको कार्यकारी भएर काम गरेका एक व्यक्तिले आफूले ५६ वर्षअघि एक किशोरको गोली हानी हत्या गरेको खुलासा गरेका छन्।
चर्चित जोर्डन ब्रान्डका अध्यक्ष लारी मिलरले सन् १९६५ मा अमेरिकाको वेस्ट फिलडेल्फियाको सडकमा गोली हानी ती किशोरको हत्या गरेको खुलाएका हुन्।
आगामी वर्ष आफ्नो संस्मरण सार्वजनिक गर्ने तयारी गरिरहेका मिलरले बुधवार स्पोर्ट्स इलस्ट्रेटेडमा प्रकाशित अन्तवार्तामा हत्याबारे बताएका छन्।
ूयसले मलाई भित्रभित्रै खाइरहेको थियो आफू १६ वर्षको हुँदा भएको घटनाबारे उनले भने। त्यसबेला आफू गुण्डागर्दीमा संलग्न एक समूहको सदस्य भएको उनले बताएका छन्।
मिलरले आफू १३ वर्षकै उमेरमा गुण्डागर्दी गर्ने सिडर एभिन्युु समूहको सदस्य भएको र हरेक दिन मदिरा सेवन गर्ने गरेको उल्लेख गरेका छन्।
आफ्नो समूहका एक सदस्य मारिएपछि अरू तीन जना साथीहरूसँगै नशाले मातिएको र बन्दुक लिएर प्रतिस्पर्धी समूहसँग बदलाको लागि हिँडेको बताएका छन्। तर सन् १९६५ सेप्टेम्बर ३० मा उनीहरूको सामुन्ने देखिएका १८ वर्षीय एडवार्ड ह्वाइटको छातीमा मिलरले गोली हानेर हत्या गरे।
मैले विना कारण त्यो काम गरेको थिएँ। त्यसले मलाई अझै अप्ठ्यारो महसुस गराउँछ,ू उनले भनेका छन्। म वर्षौँदेखि यो विषयसँग भागिरहेको थिएँ हत्याको कसुरमा उनले जेल सजाय काटिसकेका छन्।
मिलरले आफ्ना बच्चाहरू, नजिकका साथी र व्यापारिक साझेदारहरूसँग लामो समयदेखि लुकाइराखेको आफ्नो विगतबारे खुलासा गर्ने निर्णय लिन निकै कठिन भएको उल्लेख गरेका छन्।
म वर्षौँदेखि यो विषयसँग भागिरहेको थिएँ। मैले यसलाई लुकाउने प्रयास गरेँ र मानिसहरूले थाहा पाएनन् भन्ने विश्वास गरेँ, उनले स्पोर्ट्स इलस्ट्रेटेडसँग भनेका छन्।
सन् १९९७ बाट नाइकीमा आबद्ध भएका मिलरले नाइकी बास्केटबल, जोर्डन ब्रान्ड र कन्भर्सको दैनिक सञ्चालन व्यवस्थापन गर्दै आएका छन्। उनले रोजगारीका लागि आफूले दिएका निवेदनहरूमा जेल समयबारे झुट नबोलेको बताएका छन्।
अन्तरवार्ताअघि उनले प्रसिद्ध बास्केटबल खेलाडी माइकल जोर्डन र नेशनल बास्केटबल एसोसिएसनका कमिसनर एडम सिल्भरलाई घटनाबारे बताएको दाबी गरिएको छ।
उनले आफ्नी जेठी छोरीसँग मिलेर प्रकाशन गर्न लागेको जीवनीले घटनाबारे विस्तृतमा उल्लेख गरेको छ। उनीमाथि लागेका कैयन आरोप, सुधार गृह र जेल जीवनबारे पनि जम्प माई सेक्रेट जर्नी फ्रम दी स्ट्रिट्स टु दी बोर्डरू पुस्तकमा उल्लेख छ।
बीसीसीलाई दिएको वक्तव्यमा नाइकीले मिलरको जीवन ूदोस्रो मौकाको अविश्वशनीय कथाू भएको बताएको छ। लारी मिलर र आशा तथा प्रेरणा दिने उनको कथामा हामी गर्व गर्छौँ, कम्पनीले भनेको छ। उसले पूर्व कैदीहरूलाई अवसरको नयाँ ढोका खोल्दै जीवन अघि बढाउनू सहयोग गर्ने नीति लिएको पनि जनाएको छ।
मिलरले आफ्नो कथाले जोखिममा रहेका युवाहरूलाई हिंसा त्याग्न प्रेरित गर्ने र कैद जीवन बिताएकाहरूलाई अझै समाजमा योगदान दिन सकिन्छ भन्ने आभास दिलाउन सक्ने दावी गरेका छन्। एउटा मान्छेले जीवनमा गरेको गल्ती वा सबैभन्दा खराब गल्तीले उसको बाँकी जीवन नियन्त्रित गर्नु हुँदैन, उनी भन्छन्।