काठमाडौं । लागत बढेपछि भारतीय लगानीमा निर्माणधिन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाको पुँजी वृद्धि भएको छ । आयोजनाको पुँजी ६२ अर्ब २६ करोड रुपैयाँ वृद्धि भएको विकासकर्ता एसजेबीएन अरुण ३ पावर डेभलपमेन्ट कम्पनीले जनाएको छ ।
लागत बढ्ने भएपछि सेयर संरचना परिवर्तन गर्न ऋण लगानी गर्ने बैंकले भनेपछि कम्पनीले पुँजी वृद्धि गरेको हो । कम्पनीले एक वर्षअघि प्रस्ताव गरेको पुँजी वृद्धि योजनालाई लगानी बोर्डको शनिबार बसेको बोर्ड बैठकले स्वीकृत गरेको छ ।
आयोजनामा स्वपुँजी (इक्विटी) ३० र बैंकको ऋण लगानी ७० प्रतिशत हुने भएको छ । यसअघि २५ प्रतिशत इक्विटी र बाँकी ७५ प्रतिशत बैंकहरुको ऋण हुने गरी लगानी संरचना तयार पारिएको थियो । आयोजनाको लागत बढेपछि पुँजी वृद्धि भएको कम्पनीले जनाएको छ ।
यसअघि ८२ अर्ब रुपैयाँ प्रस्ताव गरिएको थियो । सो रकम सन् २०१५ मा तय गरिएको थियो । आयोजनाको कुल लागत १ खर्ब ४४ अर्ब रुपैयाँ पुगेको छ । यसअघि १ खर्ब १५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको थियो ।
यो लागत आयोजनाको उत्पादन र प्रसारण संरचना निर्माणको हो । जसअनुसार ९८ अर्ब रुपैयाँ भारतीय र नेपाली बैंकको ऋण लगानी हुने छ । ४५ अर्ब रुपैयाँ स्वपुँजी लगानी हुने कम्पनीले जनाएको छ । सन् २०१५ को निर्धारण गरेको भन्दा लागत थप भएको आयोजनाले जनाएको छ ।
त्यसबेला इक्विटी लगानी २५ अर्ब रुपैयाँ हुने तय गरिएको थियो । खर्च बढे पनि आयोजनाको प्रतिमेगावाट लागत १६ करोड रुपैयाँ रहेको छ । हालसम्म आयोजनाको ४१.८ प्रतिशत काम पुरा भएको छ । अझै ५८ प्रतिशत काम सम्पन्न हुन बाँकी छ । आगामी ३ वर्षभित्र आयोजनाको काम सम्पन्न गर्ने लक्ष्य लिइएको छ । हाल आयोजनाको काम धमाधम भइरहेको छ ।
आयोजनाको २०७४ वैशाख २९ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा शिलान्यास गरेका थिए । बाँधस्थलमा जयप्रकाश एसोसिएट्स निर्माण कम्पनी तथा विद्युत गृहस्थल क्षेत्रमा पटेल इन्जिनियरिङ कन्सल्टेन्टले काम गरिरहेका छन् ।
नेपालका नबिल र एभरेष्ट बैंकले सो आयोजनामा १५ अर्ब रुपैयाँ ऋण लगानी गरेका छन । आयोजनामा भारत सरकार स्वामित्वको भारतीय स्टेट बैंक (एसबीआई) का अतिरिक्त, पञ्जाब नेसनल बैंक, युनियन बैंक अफ इन्डिया र भारतीय एक्सपोर्ट इम्पोर्ट (एक्जिम) बैंकबाट ५३ अर्ब ७३ करोड ६८ लाख भारु अर्थात ८५ अर्ब ९७ करोड ८८ लाख रुपैयाँ ऋण लगानी गरेका छन् । ४ लटमा आयोजनाको काम भइरहेको छ । निर्माण अवधिबाहेक आयोजनाको अवधि २५ वर्ष छ ।
भारत निकासी प्रयोजनाका लागि निर्माण भइरहेको अरुण तेस्रो आयोजनाबाट नेपालले २२ प्रतिशत अर्थात १९८ मेगावाट बिजु्ली निःशुल्क पाउने छ । यस्तै अर्बौं रुपैयाँ रोयल्टी पनि सरकारले पाउने भएको छ ।
आयोजनाबाट उत्पादन हुने बिजुली ढल्केबर हुँदै ४०० केभी प्रसारण लाइनबाट भारतमा पुग्नेछ । कम्पनीले ७०० मेगावाट बिजुली बिक्रीका लागि प्रस्तावसमेत मागेको छ ।यसैगरी विकासकर्ता एसजेबीएनले प्रतिस्पर्धाबाट ६७९ मेगावाटको तल्लो अरुण जलविद्युत आयोजना निर्माण गर्न पाएको छ ।
दुई वटा आयोजनाको जडित क्षमता १ हजार ५७९ मेगावाट हुने छ । यस्तै तल्लो अरुणबाट पनि हालको जडित क्षमताअनुसार २१ प्रतिशत अर्थात १४२ मेगावाट बिजुली निःशुल्क पाउने छ ।
आयोजना अघि बढाउन लगानी बोर्ड र विकासकर्ताबीच समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भइसकेको छ । आयोजनाको अध्ययन अघि बढाएको कम्पनीले जनाएको छ ।