काठमाडौं । लगानी बोर्डले दुई ठूला जलविद्युत आयोजना बनाउन ७३ अर्ब रुपैयाँ बराबरको लगानी तथा पुँजी वृद्धि योजनालाई स्वीकृत गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बोर्डको ४८औं बैठक बैठकले लगानी स्वीकृती गरेको हो ।
बोर्ड बैठकले दोलखामा रहेको ५६ मेगावाटको जुमखोला जलविद्युत आयोजनाका लागि १० अर्ब ५० करोड र संखुवासभा जिल्लामा भारतीय लगानीमा निर्माणको चरणमा रहेको ९०० मेगावाट क्षमताको अरुण ३ जलविद्युत आयोजनाका लागि ६२ अर्ब २६ करोड रुपैयाँ पूँजीवृद्धि स्वीकृति प्रदान गरेको बोर्डका सहसचिव एवम् प्रवत्ता सुरेन्द्र पौडेलले बताए ।
बैठकले ९०० मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत परियोजनाको सन्दर्भमा अध्ययन गरी ४५ दिनभित्र सुझाव सहितको प्रतिवेदन बोर्डसमक्ष पेश गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलको संयोजकत्त्वमा एक उच्चस्तरीय अध्ययन समिति गठन गरेको छ ।
समितिमा अर्थ मन्त्रालय, ऊर्जा , जलस्रोत तथा सिंचाइ मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) र एक विज्ञ सदस्य रहेका छन् भने लगानी बोर्ड कार्यालयका सहसचिव सदस्य सचिवको रुपमा रहेका छन् ।
बैठकले लगानी बोर्डको चालु आर्थिक वर्ष०७८/०७९ को वार्षिक बजेट तथा कार्यक्रम स्वीकृत गर्ने, सम्राट सिमेन्ट र माथिल्लो त्रिशुली १ जलविद्युत परियोजनाको सेयर खरिदबिक्री सम्झौता स्वीकृत गर्ने लगायतका निर्णयहरु गरेको छ ।
बैठकमा प्रधानमन्त्री देउवाले विद्युत खपत वृद्धि गर्ने सम्बन्धि दिर्घकालीन योजना तय गर्दै लगानीको वातावरण बनाउन र छिटोछरितो रुपमा कार्यसम्पादन गर्न सबै निकायलाई निर्देशन दिएका छन् ।
उक्त अवसरमा अर्थमन्त्री तथा बोर्डका उपाध्यक्ष श्री जनार्दन शर्मा, ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसाल, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमाल, वन तथा वातावरणमन्त्री रामसहाय प्रसाद यादव, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेल, मुख्यसचिव शंकरदाश बैरागी, बोर्डका विज्ञ सदस्यहरु हरिभक्त शर्मा, भवानी राणा, राजेशकाजी श्रेष्ठ लगाय सरकारका उच्च पदस्थ अधिकारीहरुको उपस्थिति थियो ।