एजेन्सी । टाटा मोटर्सले अमेरिकी अटो कम्पनी फोर्डको तामिलनाडु र गुजरातस्थित कारखाना (प्लान्ट) खरिद गर्ने भएको छ । भारतमा रहेको फोर्डको स्वामित्व खरिद गर्न टाटाले प्रक्रिया अघि बढाएको छ । खरिद रकम भने खुलाइएको छैन ।
यसअघि टाटाले २००८ मार्चमा फोर्डबाटै २ अर्ब ३० करोड डलरमा ज्यागौर ल्याण्ड रोभर खरिद गरेको थियो । सम्झौता सफल भएको अवस्थामा टाटा मोटर्सका लागि यो अटो कम्पनी दोस्रो खरिद कारोबार हुनेछ ।
हाल वातावरणमैत्री सवारीसाधन निर्माणका लागि गियर परिवर्तन गर्ने तयारीमा रहेको टाटा मोटर्सको फोर्डको तामिलनाडु र गुजरात प्लान्टलाई अधिग्रहण गर्न सकेको अवस्थामा त्यहाँको प्रविधि र क्षमताले टाटाको अटोमोटिभ उद्योगलाई थप बल पुर्याउने अपेक्षा गरिएको छ ।
यसका लागि टाटाको अग्रणी नेतृत्वमा रहेका अध्यक्ष एन चन्द्र शेखरन तथा कार्यकारी निर्देशक गिरिक वागले तामिल नाडुका सरकारी अधिकृतहरुलाई समेत भेट गरिसकेको बताइएको छ ।
हाल टाटा मोटर्सको तामिलनाडुमा कुनै पनि उत्पादन प्लान्ट छैन । तर गुजरातमा फोर्डको प्रोडक्सन युनिट नजिक नै टाटाको प्लान्ट छ ।
तामिलनाडु प्रशासनसमेत फोर्डमा कार्यरत कर्मचारीहरुको रोजगारी जोगाउन हाल फोर्डको फेसिलिटीको नयाँ स्वामित्वकर्ताको खोजी गरिरहेको छ ।
टाटा मोटर्ससँग हाल तीन अटो प्यासेन्जर भेहिकल प्रोडक्सन प्लान्टहरु छन् । जसमध्ये एउटा कम्पनीले फियाट क्रिस्लरसँगको जोइन्ट भेन्चरमा तयार गरेको छ ।
फोर्डले पछिल्लो एक दशकमा २ अर्ब डलरभन्दा धेरै रकमको नोक्सानी व्योहोरेपछि आफ्ना प्रोडक्सन प्लान्टहरु बन्द गर्ने निर्णयमा पुगेको हो । भारतमा उत्पादन लागत बढेको तर बजार विस्तार गर्न नसकेपछि फोर्ड बाहिरन लागेको हो ।
भारतमा फोर्ड मोटरको १ प्रतिशतभन्दा कम बजार हिस्सा रहेको छ । त्यसले गर्दा घाटा बढेपछि बाहिरिन लागेको कम्पनीले जानकारी गराइसकेको छ ।
टाटा मोटर्सले ९४ अर्ब २० करोड भारु मूल्यको आफ्नो घरेलु प्यासेन्जर भेहिकल बिजनेसलाई छुट्टै संस्थाको रुपमा छुट्याएपछि हाल कम्पनी यो नयाँ सम्झौतामा पुगेको हो । हाल फोर्ड भारतमा रहेका आफ्ना सबै युनिटलाई बन्द गरी विद्युतीय तथा स्वचालित सवारीको क्षेत्रमा लगानी गर्न चाहन्छ ।
तर’ यस विषयमा टाटाका प्रवक्ताले भने कुनै पनि विवरण सार्वजनिक गर्न चाहेनन् । उनले भने, ‘हामी निर्माण प्लान्टका लागि सम्भाव्य सबै विकल्पहरुमाथि विचार गरिरहेका छौं तर अहिलेको विषयमा म धेरै प्रतिक्रिया दिन चाहान्न ।’
यो पनि हेर्नुहोस
भारतबाट धमाधम बाहिरिँदै ठूला अटो कम्पनी, नेपालमा कस्तो असर पर्ला ?
फोर्ड मोटर कम्पनीले भारतमा कार उत्पादन बन्द गर्ने, २ अर्ब डलर नोक्सान