काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का निर्देशक प्रदीप अधिकारीले विगत पाँच वर्षदेखि दरबन्दी नै नभएको विभागमा कब्जा जमाउँदै जबरजफ्ती काम गर्दै आएका छन् ।
प्राधिकरणका तत्कालीन महानिर्देशक सञ्जीव गौतमसँगको मिलेमतोमा अधिकारीले विगत पाँच वर्षदेखि सिभिल इन्जिनियर विभाग र राष्ट्रिय गौरबको आयोजनाहरूमा अनुचित लाभ लिँदै बसिरहेका हुन् ।
अधिकारी क्यानमा आउने महानिर्देशक, प्रधानमन्त्री र पर्यटनमन्त्रीलाई मिलाउँदै तीन ठूला एयरपोर्टको प्रमुख बनिरहेका छन् । एउटै व्यक्ति तीन ठूला एयरपोर्टको प्रमुख बनिरहेको र आयोजना लम्बिरहेको भन्दै प्राधिकरणको आन्तरिक रिपोर्ट विगतमा पर्यटनमन्त्री र प्रधानमन्त्रीकोमा पुग्दासमेत उनलाई कुनै कारबाही भएन ।
अधिकारी जुन विभागमा छन् उनको दरबन्दीअनुसार होइन । उनी २०७३ साल फागुनमा ११ औं तहमा नियामक निकायमा एरोडिम सेफ्टी विभागमा बढुवा भएका थिए ।
तर, उनी आफ्नो दरबन्दीमा नगई तत्कालीन पर्यटनमन्त्री स्वर्गीय रवीन्द्र अधिकारीको निकटता र तत्कालीन महानिर्देशक गौतमलाई प्रभावमा पारेर सिभिल इन्जिनियर विभागमा गएका थिए ।
त्यति मात्र होइन मन्त्री अधिकारीकै पालामा महानिर्देशक गौतमसँगको मिलोमतोमा प्राधिकरण भित्रको निर्माणाधीन तीन ठूला आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र निर्माणको चरणमा रहेको निजगड अन्तर्राष्ट्रिय विमानस्थलको समेत जिम्मेवारी पनि अधिकारी आफंैले लिएका छन् । जुन अहिलेसम्म पनि उनी मातहतमा नै छ ।
अधिकारीले कब्जा गरेको ठाउँमा मुरारी भण्डारीको दरबन्दी थियो तर भण्डारीलाई अधिकारीकै योजनामा सो ठाउँमा काम गर्न दिइएन् । भण्डारी सो ठाउँमा बढुवा भएर आए पनि तत्कालीन प्राधिकरणका महानिर्देशक र पर्यटनमन्त्रीको दबाबको कारण उनले सो विभागमा काम गर्न पाएनन् । भण्डारी हाल हवाई यातायात क्षमता अभिवृद्धि परियोजनाका प्रमुखको रुपमा कार्यरत छन् ।
त्यति मात्र होइन निर्देशक अधिकारीले मन्त्री रवीन्द्रसँगै हेलिकप्टर दुर्घटनामा परी ज्यान गुमाएका सिभिल इन्जिनियर विभागका प्रमुख धुव्र भुछिभयाको निधन भएपछि उनको ठाउँसमेत कब्जा गर्दै आएका छन् ।
तत्कालीन महानिर्देशक गौतमलाई प्रभावमा पारेर उनले सो विभागमा कसैलाई आउन दिएका छैनन् । केही साताअघि मात्र अवकाश प्राप्त महानिर्देशक राजन पोखरेलसमेत अधिकारी सामू निरिह नै बनेका थिए । उनले तत्कालिन पर्यटन मन्त्री योगेश भट्टराईलाई समेत प्रभावमा पारेका थिए ।
अहिले निमित्त महानिर्देशक रहेका राजकुमार क्षेत्रीले समेत उनलाई पुरानै दरबन्दीमा फर्काउन सकेका छैनन् । पर्यटनमन्त्री र नेकपा एमालेसँगको साँठगाँठलाई पावरका रुपमा प्रयोग गर्दै प्राधिकरणमा उनले एकलौटी गर्दै आएका छन् । अधिकारी एमाले अध्यक्ष केपी ओलीसँग निकट रहेको भन्दै प्राधिकरणको नेतृत्वलाई समेत अटेर गर्ने गरेका थिए ।
पर्यटन मन्त्रालयमा मन्त्री भएर आउने सबै मन्त्रीहरू सचिवदेखि महानिर्देशकलाई समेत शक्तिको आडमा आफू पक्षीय निर्णयहरू मात्र गराउँदै आएको प्राधिकरणका एक अधिकारीले क्यापिटल नेपालसँग भने ।
केही समयअघि मात्र अवकाश लिएका महानिर्देशक पोखरेलले भदौ ३१ गतेको निर्णयअनुसार भण्डारीको काज फिर्ता गराएर सिभिल इन्जिनियरिङ विभागमै फिर्ता गराएको छ । तर, अधिकारीले हालसम्म सो विभाग भने छाडेका छैनन् भने राष्ट्रिय गौरवको आयोजनासमेत छोड्न मानेका छैनन् ।
भण्डारीले आफ्नो विभागमा काम गर्न नपाएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई यातायात क्षमता अभिवृद्धि परियोजनामा काजमा गएका थिए । अहिले उनलाई त्यहाँबाट काज फिर्ता गराएर आफ्नै दरबन्दीमा पठाए पनि आफ्नो जिम्मेवारी लिन पाएका छैनन् ।
निर्देशक अधिकारीले भने आफूले सिभिल इन्जिनियर विभागको जिम्मेवारी विगत दुई वर्षदेखि लिएको बताउ“दै आफूले चाहेरभन्दा पनि प्राधिकरण व्यवस्थापनको आग्रहअनुसार काम गर्दै आएको दाबी गरे । ‘आफ्नो इच्छाभन्दा माथिल्लो निकायले दिएको जिम्मेवारीलाई पूरा गरेको हो,’ उनले भने । यसमा मेरो कुनै स्वार्थ छैन निर्देशक अधिकारीले भने, ‘दिएको जिम्मेवारी राम्रोसँग पूरा गरेको छु ।’
मालदार आयोजनामा अधिकारीको आँखाप्राधिकरण भित्रको मालदार मानिने विमानस्थल आयोजनाहरू र राष्ट्रिय गौरबका आयोजनाहरू उनले विगत ५ वर्षदेखि कब्जा लिँदै आएका छन् ।
राजनीतिक शक्तिको आडमा महानिर्देशकलाई प्रभावमा पार्दै अर्बौं रुपैयाँको परियोजनाहरू एक्लौटी रुपमा सञ्चालन गर्दै आएका हुन् । उनी मातहतमा तीन वटा राष्ट्रिय गौरबका आयोजनाहरू र विमानस्थल निर्माणका सबै आयोजनाहरू पर्छन् ।
हाल निर्माणको अन्तिम चरण भनिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको लागत छ अर्ब २२ करोड ५१ लाख २० हजार २२७ रुपैयाँ रहेको छ । यस्तै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको २१ अर्ब ६० करोड रुपैयाँ रहेको छ ।
योसँगै पछिल्लो समय विदेशी लगानीकर्ता नआउने भएपछि निजगड विमानस्थल प्राधिकरण आफैंले बनाउने प्रस्ताव अघि सारेको छ । प्राधिकरणले बनाएको योजनाअनुसार दुई चरणमा काम सकाउने र पहिलो चरणको कामका लागि १ अर्ब २० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
आयोजना सकाउनेभन्दा लम्ब्याउने र नयाँ बनाउने ध्यानमा
निर्देशक अधिकारी ठूला आयोजनाहरू समयमै सम्पन्न गराउनेतर्फ भन्दा लम्ब्याउने र नयाँ आयोजनाहरूमा ठेक्का लगाउनेतर्फ ध्यान दिँदै आएको प्राधिकरण भित्रकै कर्मचारीहरूको आरोप छ ।
उच्च तहका अधिकारीलाई गुमनाहमा राखेर निर्माणको अन्तिम चरणमा भनिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटनको समय पटक–पटक सारिँदै आएको छ ।
सार्वजनिक रुपमा चर्चा कमाउनका लागि मिति तोक्दै फेरि पछि सारिँदै आएको सो आयोजना अझै कहिलेबाट सञ्चालनमा आउँछ भन्ने यकिन हुन सकेको छैन । यति मात्र होइन निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास गर्ने भनेर पटक–पटक मिति सारिँदै आएको छ ।
सो आयोजनामा पनि प्राधिकरणले वार्षिक रुपमा अर्बाैं रुपैयाँ विनियोजन गर्दै आएको छ । तर, हालसम्म काम भने सुरु हुन सकेको छैन । मुआब्जा वितरणदेखि बस्ती स्थान्तरणको काम भन्दै वार्षिक रुपमा बजेट खर्च मात्र गराउँदै आएका छन् ।