काठमाडौं । सरकारले देशभर रहेको भन्सार कार्यालय कार्यालयमा व्यापक सुधार गरेको छ । भन्सार विभागले विभिन्न पाँच ओटा क्षेत्रमा व्यापक सुधार गरेर गएको हप्तादेखि लागूसमेत गरिसकेको छ ।
भन्सार विभाग स्रोतका अनुसार देशभरका केही ठूला भन्सार कार्यालयका यात्रुकक्ष र साना भन्सार कार्यालयमा यात्रुकक्षलाई ‘क्यासलेस’ बनाइएको छ । अब भन्सारका यात्रुकक्षमा हुने हरेक कारोबार बैङ्कमार्फत मात्रै हुने व्यवस्था मिलाइएको छ ।
‘व्यापारीले विभिन्न सामान नेपाल भित्रयाउँदा तिर्नुपर्ने राजस्व बुझाउँदा नगद मै हुन्थ्यो’, मन्त्रालयका एक अधिकारीले भने, ‘अब बैङ्कमा जम्मा गरेको रसिद देखाएपछि भन्सारमा आएको सामान छटाउन सकिन्छ ।’
त्यसैगरी भारतीय गाडी नेपाल प्रवेशका लागि पाउने ‘सुविधा पास’मा पनि व्यापक हेरफेर गरिएको छ । नेपालका नजिकका बजारसम्म भारतीय सवारी साधनलाई छुट्टै पासको व्यवस्था थियो ।
त्यो अहिले पनि कायम छ । तर, पाउने व्यवस्थामा परिवर्तन गरिएको छ । यसअघिसम्म त्यस्ता सवारी साधनलाई दिने पूर्जी पहिल्यै छापिन्थे । त्यही पूर्जी दिइन्थ्यो । त्यो पूर्जीको धेरै दुरुपयोग भएपछि सरकारले अबदेखि भन्सारका सफ्टवेयरबाट पूर्जी निकाल्ने र प्रीन्ट गरेर मात्रै दिने व्यवस्था गरिएको छ ।
भारतीय सवारी साधनले आफ्नो सम्पूर्ण जानकारी गराएर लाइन बसेर मात्रै उक्त पूर्जी पाउने छन् । यो व्यवस्था कार्यान्वयन हुने बित्तिकै नेपालमा कुन गाडी आयो, कति दिनसम्म रह्यो भन्नेलगायत सम्पूर्ण विवरण छर्लङ्ग हुन्छ ।
सरकारले व्यापारलाई सहजीकरण गर्ने र प्रक्रिया छोट्याउने हिसाबले पनि काम गरेको छ । यसअघिसम्म जाँच गर्नेले जाँचपास गरेर प्रज्ञापन पत्र दिने र एक्जिट नोट (गाडीहरु बाहिर जान दिने) व्यक्ति छुट्टाछट्टै हुन्थ्ये । यसले गर्दा प्रक्रिया पनि लामो हुने र धेरै कर्मचारीको सहभागिता पनि हुने गरेपछि अबदेखि प्रज्ञापन पत्र दिने र एक्जिट नोट जारी गर्ने एउटै व्यक्ति हुने व्यवस्था गरिएको छ ।
अबदेखि जसले जाँच पास गर्छ, उसैले एक्जिट नोट जारी गर्ने बनाइएको छ । व्यापारीको अत्यधिक समय, अनावश्यक समस्या, धेरै कर्मचारीको सहभागिता कम गराउन यस्तो व्यवस्था लागू गरिएको हो ।
त्यसैगरी, आसिकुडा लागेका भन्सारमा ‘छनोट प्रणाली’का आधारमा जाँचपाँस हुन्छ । आयात गरिएका कुन सामानहरुलाई ‘रेड’मा राखेर सतप्रतिशत फिजिकल इन्फेक्सन गर्ने, कुन सामानलाई ‘एल्लो’मा हालेर डकुमेन्ट मात्रै जाँचेर पठाउने र कुन सामानलाई ‘ग्रिन’मा राखेर केही पनि नहेरी पठाउने भन्ने हुन्छ । भन्सारसँग हाल तीन ओटा छनोट विधि छ ।
पहिला सबै भन्सारको आ–आफ्नै छनोट विधि थियो । हरेक भन्सारमा रिक्स म्यानेजमेन्ट कमिटी (जोखिम व्यवस्थापन समिति) हुन्छ । त्यही समितिले हेर्ने र कुन सामान ग्रीनमा छोड्न मिल्छ, कुनलाई एल्लोमा राखेर अनुसन्धान गर्ने र कुनलाई रेडमा राखेर अनुसन्धान गर्ने भनेर विश्लेषण गरेर छनोट विधि लगाइदिन्थ्यो ।
त्यसैगरी केन्द्रमा पनि केन्द्रीय जोखिम व्यवस्थापन समिति छ । अहिलेसम्म केन्द्रका साथै तल्लो तह गरी दुई ओटा समितिले विश्लेषण गर्थ्यो । अबदेखि पूर्ण रुपमा तल्लो तह बन्द गरेर केन्द्रबाटै गरिने भएको छ । अब छनोटको काम केन्द्रले गर्ने छ ।
तल्लो तहले जोखिम मूल्याङ्कन गरेर केन्द्रमा पठाउने र त्यसलाई समेत आधार मानेर देशभरका सम्पूर्ण छनोटको काम केन्द्रले गर्छ । त्यसैगरी मूल्याङ्कन विधिमा समेत ठूलो हेरफेर गरिएको छ । यसअघिसम्म तेस्रो मुलुकबाट आउने सामान मात्रै मूल्याङ्कन गरिन्थ्यो । भारतबाट आएको सामानको मूल्याङ्कन हुँदैन्थ्यो ।
अब जुनसुकै देशबाट आयात भएको भए पनि मूल्याङ्कन गरिने भएको छ । अहिले भ्यालुएसन मोडललाई प्रयोग गरेर कम्प्युटरबाटै भ्यालुएसन हुने बनाइएको छ। कुन अधिकारीले फिजिकल इन्फेक्सन गर्यो । कुन अधिकारीले त्यसका आधारमा भ्यालुएसन गर्यो । सबै कुरा सिस्टममा देखिने गरी बनाइएको छ ।
सरकारले यो व्यवस्थालाई मेची, वीरगन्ज सुख्खा बन्दरगाह र कृष्णनगर भन्सारमा लागू गरिसकिएको छ । यो विधि लागू गरेपछि कुन सामान कतिमा जाँचपास भयो भन्ने अटोमोटिक रुपमा देखापर्छ । तीन महिनाभित्र सबै भन्सारमा लागू हुने अर्थ मन्त्रालयले जनाएको छ ।
‘भन्सारभित्र अत्यधिक अटोमेसन भएको छ । भन्साारभित्र पूरै सिस्टमले कन्ट्रोल गर्छ । भन्सारभित्र सामान छिरिसकेपछि दायाँ बायाँ गर्न सक्ने ताकत कसैको छैन,’ अर्थ मन्त्रालयका एक अधिकारी भन्छन्, ‘पहिलो भन्सारभित्रै गज्याङगुजुङ गरेर सामान ल्याउन पाउँदासम्म भन्सारमा आउथे । अब भन्सारमा कसैगरी पनि सामान छिराउन सक्दैनन् ।’