काठमाडौं । निरन्तर गिरावट रहेको सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दुई दिनमा १०० अंकभन्दा बढीले उकालो लागेको छ । मंगलबार करिब ४२ अंकले उचालिएको नेप्से सूचक बुधबार पनि ६८.४७ अंकले उचाइ लिएको छ (२६८१.११ बिन्दूमा पुगेको छ) ।
गतसाताको अन्तिम दिन र यो साताको आइतबार र सोमबार (दुइ दिन) गरी ९५ अंकले झरेको बजार पछिल्ले दुई दिनमा ११० अंकले बढेको छ ।
भदौ २ मा हालसम्मकै उच्च ३१९८ बिन्दूबाट ओरालो लागेको बजार कहिले काँही बढे जस्तो गर्दै अधिकांश समय घटेको थियो । गत बुधबार पछिल्लो पटकको न्यून बिन्दू २५७० मा रोकिएको थियो । उच्च बिन्दूबाट २ महिनामा २० प्रतिशत सूचक झरे सामान्यतय बजार वियरिस भएको मानिन्छ । तर, २० प्रतिशत नपुग्दै बजार सूचक उकालो लागेको छ । पछिल्ला दिन सूचक घट्दा वा बढ्दा कारोबार रकममा भने न्यूनता देखिएको छ । यसले लगानीकर्ता घटेको मूल्यमा सेयर बेच्न तयार छैनन् भन्ने देखाउँछ ।
जसको परिणम यो साताकै पहिलो दिन आइतबार ३ अर्ब ७० करोड, सोमबार ४ अर्ब १२ करोड, मंगलबार २ अर्ब ९९ करोड र बुधबार साढे ४ अर्ब माथिमा सीमित भएको छ । नेप्से उच्च बिन्दू हुँदा २१ अर्बभन्दा बढी कारोबार भएको थियो । यसले लगानीकर्ता सस्तो मूल्यमा सेयर बेच्न अनिच्छुक छन् । तथापि, खरिदकर्ताहरु घटेर मात्रै किन्ने दबदबा बनाउँदा कारोबार रकम खुम्चिएको हो ।
बिक्रीकर्ताहरुले सतर्कता अपनाएको खण्डमा बजारले बुलिस ट्रेन्ड समाउँछ । यद्यपि, दसैंअघि सेयर कारोबारको रकमको भुक्तानी ब्रोकर र लगानीकर्ता दुवै तर्फबाट रोकिने भयले सेयर खरिद बिक्रीमा चाप छैन् । उता दसैंलाई लक्षित गरेर खरिद सेयरमा भुक्तानी नआउने ठानेर दबाल व्यवसायी (ब्रोकर)ले सेयर किन्ने धितो सीमा शून्यमा झारेका छन् ।
कतिपयले यसलाई बजार घटाउने सेयर दलालको सुनियोजित चालका रुपमा लिएका छ । खासगरी, मौद्रिक नीतिबाट आएको सेयर धितोकर्ता ४ र १२ करोडको सीमा, ब्याजदरको तल्लो बिन्दू बढाउने पहलले सेयर बजारलाई नकारात्मक प्रभाव पारेको थियो । तरलता अभाव सिर्जना गरेर ब्याजदर बढाउने अधिकतम प्रयासमा केन्द्रीय बैंकले कैँची लगाउँदै आवश्यक तरलताका लागि धमाधम रिपो जारी गरे पछि तरलता सहज देखिएको र त्यसले बजारमा पनि सकारात्मक प्रभाव परेको छ । उता धितो पत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा सरकारले बर्खास्त गर्ने निर्णय गर्यो । जसले बजारलाई सकारात्मक प्रभाव पारेको छ ।
यसअघि नै दसैंका लागि आवश्यक खर्च जोहो गरिसकेका लगानीकर्ताहरुले न्यून बिन्दूमा सेयर बेच्न अनिच्छा देखाउँदा बजारले उकालो यात्रा लिन खोजेको छ । खासगरी, सूचीकृत कम्पनीहरुले उच्च लाभांश घोषणा गर्ने क्रम देखिएको र मूल्य न्यून बिन्दुमा आइसकेको स्थितिलाई नयाँ लगानीकर्ताले सेयर किन्ने अवसरका रुपमा लिएका छन् ।
बजार २० प्रतिशत घट्नु अघि नै उठ्न खोजेकाले थप गति लिने अपेक्षा गरिएको छ । यसले आगामी दिनमा बजारलाई थप चलायमान बनाउने छ । यद्यपि, दुई दिनमै कतिपय कम्पनीमा २० प्रतिशत नाफा आइसकेको अवस्थाले अन्तिम दिन (आगामी सोमबार) र दसैं पछिको पहिलो कारोबार असोज ३१ गते केही सुस्ताउन सक्छ । लगानीकर्ता सचेत नभए गुमाउने स्थिति रहन्छ ।
बुधबार १२ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट लागेको छ । त्यस्तै, ७ कम्पनीको ९ प्रतिशत भन्दा बढी सेयर मूल्य बढ्दा समग्रमा १८० कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । उता ५ कम्पनीको सेयर मूल्यमा भने गिरावट देखिएको छ । त्यसमध्ये सबैभन्दा बढी रिडी हाइड्रो पावरको २.१६ प्रतिशतले मूल्य घटेको छ ।
यसदिन १३ वटै समूह सूचकमा वृद्धि भएको छ । सबैभन्दा वित्त समूहको ६.५० प्रतिशतल बढेको छ भने सबैभन्दा कम होटल तथा पर्यटन समूहको करिब १ प्रतिशतको वृद्धि छ । बुधबार सबैभन्दा बढी सिटिजन्स बैंकको २३ करोड ४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।