मैलुङवेसी, रसुवा । नेपाली र कोरियन कम्पनीको संयुक्त लगानी रहेको २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको निर्माण कार्य तीव्र गतिमा अघि बढेको छ । हाल आयोजनाको सुरुङ खन्नका लागि पोर्टल बनाउने काम धमाधम भइरहेको छ ।
क्रसर मेसिनलगायत अन्य उपकरण जडानको काम धमाधम भइरहेको छ । आयोजनाको मुख्य प्रवेश सुरुङ, केबल सुरुङ, मुख्य सुरुङलगायतका संरचना निर्माण सुरु गरिएको छ ।
आयोजना स्थलमा क्रसर प्लान्ट तथा ब्याचिङ प्लान्टको स्थापना, निर्माण सामग्रीहरुको परीक्षण, पहुँच सडकका लागि त्रिशूली नदीमा बेली ब्रिजको निर्माण, बाँधल संरचना निर्माणका लागि रुख कटान, सर्च ट्याङतर्फको पहुँच सडक निर्माणलगायतका काम भइरहेको छ ।
आयोजना निर्माणका लागि इन्जिनियरिङ, खरिद र निर्माण (ईपीसी) मोडलमा कोरियन कम्पनी डुसान हेभी इन्डष्ट्रिज लिमिटेडले ठेक्का पाएको छ । डुसानले पनि पावर चाइनालाई ठेक्का दिएको छ । हाल आयोजना पावर चाइनाले बनाइरहेको छ ।
डुसानले झण्डै ३७ अर्ब रुपैयाँमा आयोजनाको संरचना बनाउन ठेक्का पाएको हो । उसले आयोजनाको सिभिल, हाइड्रोमेकानिकल, इलेक्ट्रोमेकानिकल र प्रसारण लाइन संरचना बनाउने भएको छ ।
आन्तरिक खपतका लागि प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) मा निर्माण हुन लागेको माथिल्लो त्रिशूली—१ हालसम्मकै ठूलो जलविद्युत आयोजना हो । आयोजनाको प्रवद्र्धक नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनी रहेको छ । आयोजना २०२६ अक्टुबर २६ मा सक्ने लक्ष्य रहेको डेपुटी प्रोजेक्ट म्यानेजर डा. गणेश न्यौपानेले बताए ।
आयोजनामा कोरियन सरकारको स्वामित्वमा रहेको कोरिया इनर्जी कम्पनी लिमिटेडको ५०, डेलियम कम्पनीको १५, केर्युङ कम्पनीको १०, विश्व बैंकअन्र्तगतको अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) को १५ प्रतिशत र नेपालको जेड कन्सल्टको १० प्रतिशत स्वामित्व रहेको छ । आयोजनामा नेपालीको १० र बाँकी ९० प्रतिशत कोरियाली कम्पनी र आईएफसीको लगानी छ । आयोजनाका लागि ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजी (इक्विटी) बाट जुटाउने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।
आयोजना बनाउन ६५ करोड अमेरिकी डलर अर्थात ७० अर्ब रुपैयाँ (निर्माण अवधिको ब्याजसहित) रहेको छ । आयोजनामा ९ अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरुले ४५ करोड ३२ लाख अमेरिकी डलर ऋण लगानीको सम्झौता गरेका छन् । बाँकी रकम स्वपुँजी (ईक्विटी)बाट जुटाइएको छ ।
आयोजनामा आईएफसी, एसियाली विकास बैंक (एडीबी), एसियन इन्फास्ट्रक्चर बैंक (एआईआईबी), कोरियन डेभलपमेन्ट बैंक, कोरियन एक्जिम बैंक, कमनवेल्थ डेभलपमेन्ट कर्पोरेशन (सीडीसी), नेदरल्याण्डको एफएमओ, प्रोपाको र ओएफआईडी छन् ।
आयोजनाबाट वार्षिक रुपमा १ अर्ब ४५ करोड ६० लाख युनिट विद्युत ऊर्जा उत्पादन हुनेछ । आयोजनाबाट उत्पादन हुने कुल वार्षिक ऊर्जामध्ये ३८.७५ प्रतिशत हिउँदयाममा र ६१.२५ प्रतिशत वर्षायामा उत्पादन हुने छ । क्यू ५० डिजाइन गरिएको आयोजनाबाट ६ महिना २१६ मेगावाट बिजुली उत्पादन हुनेछ । यस्तै सुक्खायाममासमेत १०८ मेगावाट बिजुली उत्पादन हुनेछ ।
उत्पादित ऊर्जा नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेको त्रिशूली–३ बी हब सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह हुनेछ । आयोजना र प्राधिकरणबीच विद्युत खरिदबिक्री सम्झौता (पीपीए) भइसकेको छ । बढी बिजुलीको खपत हुने राजधानी लोडसेन्टरबाट नजिक रहेको छ । मुलुकको विद्युत प्रणालीका लागि आयोजना अत्यन्त्यै आकर्षक मानिएको छ ।