काठमाडौं । नेपालको प्रसिद्ध अग्नि ग्रुप र आस्ट्रेक ग्रुपको संयुक्त लगानीमा ललितपुरको लाकुरीभन्ज्याङमा पाँचतारे होटल ‘दी ट्यारेसेस रिसोर्ट एण्ड स्पा’ निर्माण भएको छ । सो होटल माउन्ट मोनाष्ट्री प्रालिद्धारा निर्माण र सञ्चालन गरिएको हो ।
१ अर्ब रुपैयाँ लगानीमा निर्माण गरिएको सो होटलको घटनास्थापनादेखि सञ्चालनमा ल्याउने गरि आन्तरिक तयारी भइरहेको सञ्चालक मध्येका टासी शेर्पाले जानकारी दिए ।
५ वर्ष अघिबाट निर्माण गरिएको सो रिसोर्टको काम एक वर्ष अघिनै सकिए पनि कोभिड महामारीका कारण सञ्चालनमा आउन सकेको थिएन । कोभिडको संक्रमणदर कम हुँदै गएको र विदेशी पर्यटकहरुलाई नेपाल आउन सहज भएसँगै होटल सञ्चालनमा ल्याउन लागिएको शेर्पाले बताए ।
होटलको संरचनाहरु २८ रोपनी क्षेत्रफलमा फैलिएको छ भने त्यस आसपासको जंगल ८०० रोपनीमा रहेको छ । जंगल पनि सोही होटलले भाडामा लिएको छ । ४६ वटा कोठा रहेको होटलले पहिलो चरणमा ३० वटा मात्र सञ्चालनमा ल्याउने जनाएको छ । विस्तारै अवस्था सामान्य हुँदै गएपछि फुलफेजमा सञ्चालन गर्ने गरि तयारी पुरा गरिएको बताइएको छ ।
आस्ट्रेक ग्रुप पर्यटन व्यवसायी आङछिरिङ शेर्पा सहितको समूहले सञ्चालन गरेको हो । सो ग्रुपमा लामो समयदेखि माउण्टेरिङ र ट्रेकिङ क्षेत्रमा क्रियाशिल व्यवसायीहरु आबद्ध रहेका छन् । त्रिभुवन अन्तर्राट्रिय विमानस्थलबाट १८ किलोमिटर र ठमेलबाट २३ किलोमिटरको दूरीमा रहेको छ ।
काठमाडौं नजिकका गन्तव्यको रुपमा नगरकोट, गोदावरी र धुलिखेललाई लिदैं आइरहेको बेला लाकुरीभन्ज्याङमा नयाँ होटल निर्माण भएको हो । यसअघि त्यस क्षेत्रमा सुविधासम्पन्न होटलहरु थिएनन । जंगलको बीचमा होटल बनेको कारण आफुहरुको मुख्य ‘टार्गेट’ विभिन्न संघसस्थाको बैठक र सेमिनारनै रहेको सञ्चालकहरुले बताएका छन ।
काठमाडौं उपत्यकाको दक्षिण पूर्वि भागमा २०१० मिटरको उचाईमा रहेको रिसोर्टबाट हिमालका मनमोहक दृश्यहरू नियाल्न सकिने बताइएको छ ।
उपत्यकाको निकटतम तथा आकर्षित स्थानमा रहेको यस होटलले फुल्चोकी डाँडामा रहेको श्रृंखलाको एउटा टुप्पोको रूपमा वरिपरिको शान्तमय प्राकृतिक वातावरणको मज्जा लिन सकिने जनाएको छ । प्रेसिडेन्टल, स्टाण्डर र डिलक्स रुमहरु रहेको सो रिसोर्टमा रेष्टुराँ, बैंक्यूट हल, स्पा, जीमका साथै स्वीमिङ पुल पनि छ ।