काठमाडौं । कलंकी र आसपासका ग्राहकलाई लक्षित गरेर नयाँ व्यापारिक मल स्थापना गरिएको छ । न्यूरोडका ४८ जना व्यापारीको संयुक्त लगानीमा नयाँ मल सञ्चालनमा ल्याइएको हो । उक्त मलमा न्यूरोडका व्यापारीको २ अर्ब ५० करोड रुपैयाँ लगानी भएको छ ।
उनीहरुले काठमाडौं उपत्यको कलंकीमा ‘नेसनल बिजनेस ट्रेड सेन्टर (एनबीटीसी) सञ्चालनमा ल्याएका छन् । यो कलंकीको पहिलो र सबैभन्दा ठूलो व्यापारिक मल हो ।
पछिल्लो समय सुरक्षा तथा सुविधा अभावका कारण देखाउँदै व्यापारीहरुले वैकल्पिक क्षेत्र खोजी गर्न थालेका छन् । त्यही भएर न्यूरोडमै व्यापार गर्दै आएका व्यापारीले मिलेर कलंकीमा नयाँ व्यापारिक मल बनाएका हुन् ।
लामो समयदेखि न्यूरोडमा व्यापार–व्यवसाय सञ्चालन गर्दै आएका डाइरेक्टरहरू गोपाल पंगेनी निरजमान श्रेष्ठ,राजू महर्जन, चिरञ्जीवि पाैडेललगायत ४८ जनाको समूहले न्यूरोडको बजारलाई कंलकीमा सर्ने तयारी अन्तिम चरणमा पुर्याएका छन् । एनबीटीसी निर्माणका लागि जमिनदेखि भवनसम्ममा करिब २ अर्ब ५० करोड खर्च भएको मलका सञ्चालक मध्येका एक पंगेनीले बताए । सो बिजनेस ट्रेड सेन्टर करिब २५ रोपनी जमिनमा फैलिएको छ । कम्फर्ट हाउजिङ र न्यूराेडका व्यापारिकाे संयुक्त लगानीमा मल बनाइएकाे हाे ।
नेपालमा हालसम्म औपचारीक तथा अनौपचारिक रुपमा सञ्चालनमा आएका मध्ये एनबीटीसी सबैभन्दा ठूलो होलसेल बजार भएको पंगेनीको दाबी छ । यद्यपि एनबीटीसीकै छेउमा ‘आदर मल्टि इनभेष्टमेन्ट कम्पनी’ले निर्माण कार्य सञ्चालन गर्दै गरेको ‘आदर ट्रेड सपिङ मल’ ३६ रोपनी जग्गामा निमार्णाधीन अवस्थामा रहेको छ । आदर ट्रेड सेन्टर पनि महाबौद्धका ५२२ जना व्यापारीहरु मिलेर निर्माण सुरु गरेका हुन् । आदर सपिङ मलको निर्माण कार्य आगामी १७ महिनामा सप्पन्न गर्ने बताइएको छ ।
‘मिलाल्याण्ड डेभलभमेन्ट कम्पनी’ अन्तर्गत रही बिजनेस ट्रेड सेन्टरको निर्माण गरिएको एनबीटीसीका लगानीकर्ता पंगेनीले बताए । २०७१ सालदेखि सुरु गरेको बिजनेस ट्रेड सेन्टर निर्माणको काम सकिएको छ । करिब १ वर्ष पहिलाबाट सटरहरु बेच्न सुरू गरेकाे हाे । तीन/तीन महिनाकाे किस्ता लिएर उनीहरूलाइ बेच्न थालिए पनि एनबीटीसीको औपचारिक उद्घाटन भने नभएको पंगेनीले बताए ।
क्यापिटल नेपालसँग कुरा गर्दै उनले भने, ‘अहिले एनबीटीसीमा करिब ५ सय वटा पसल सञ्चालनमा आइसकेका छन् । ७ सय वटा सञ्चालनमा आएपछि उद्घाटन गर्ने हाम्रो योजना छ । माघ÷फागुनसम्म औपचारिक रुपमा सञ्चालनमा आउँछ ।’ ४८ जना मध्ये मुख्य ७ जना (डारेक्टर) र अन्य ४१ जना लगानीकर्ता हुन् । पंगेनी डाइरेक्टर पनि हुन् ।
कम्पनीको नियम अनुसार, हामी आफैंले पनि सटर किन्नु पर्ने हुन्छ । लगानीकर्तालाई आवश्यक बाहेक अरु सबै सटर बेच्छौं ।’ साथै हालसम्म अधिकांश लगानीकर्ताले न्यूरोड छोडेर एनबीटीसीमा व्यवसाय सुरु गरेको उनको भनाइ छ ।
‘न्यूरोडमा व्यापार, व्यवसाय सञ्चालन गर्नका लागि सुरक्षा, सुविधाको अभाव हुँदै गएको छ । भिडभाड तथा ट्राफिक जाम बढी, ट्रासपोटेसनको असुविधा र आगलागी भइहाले दमकल भित्र जना नसक्ने भएकाले हामीले खुला ठाउँमा एउटै छानामुनि सबै सामान पाइने बजार सञ्चालनमा ल्याएका हौं’ उनले भने ।
एनबीटीसीले ग्राहको लागि सटरहरु बिक्री गर्न थालेको १ वर्ष भइसकेको छ । हाल करिब ६० वटा सटर मात्रै बिक्री हुन बाँकी रहेका छन् । रिङरोड (चक्रपथ)सँगै रहेको सो ट्रेडसेन्टरबाट देशभरका लागि सामान सप्लाई हुने बताइएको छ । त्यस्तै महिला तथा पुरुषका लागि आवश्यक पर्ने जुत्ताचप्पल, कपडा, फेन्सी तथा इलेट्रोनिक पसल सञ्चालन भइसकेका छन् । साथै रेष्टुराँ तथा खाजा घरसमेत सञ्चालनमा रहेको डिरेक्टर पंगेनी बताउँछन् ।
उक्त सेन्टरले सुरुमा प्रतिस्वायर फिटअनुसार १८/२० हजारमा बिक्री गरेकाेमा हाल ३५/४० हजारसम्म पुगेको बताइएको छ । साथै भवनको तलाअनुसार सटरको मूल्य पनि फरक रहेको छ । हालसम्म बिजनेस सेन्टरको व्यवस्थापन, कम्पनीको व्यवस्थापन टीमले गर्दै आएको छ । तर, सेन्टरको औपचारिक सुरुवात पछि भने व्यवस्थापनको जिम्मेवारी कम्पनीले हस्तान्तरण गर्ने जनाएको छ ।