विराटनगर । नेपालीहरूको महान पर्व दसैं नजिकिए पनि अझै विराटनगरमा चहलपहल छैन । स्वदेशी उत्पादनको माग नहुँदा उत्पादन कटौती गरेर उद्योगी बस्न बाध्य छन् ।
व्यापारीहरूले भाडा तिर्न नसकेर पसल बन्द गर्नुपरेको अवस्था छ । तर, बजारमा कालोबजारी तथा र मूल्य वृद्धि भयो भनेर उपभोक्ताहरूले बजार अनुगमन गर्ने कुरा गरिहँदा व्यवसायीहरू भने निराश हुँदै जोगवनीको भीडलाई नियन्त्रण गर्न आग्रह गरिरहेका छन् ।
चाडपर्व लक्षित बजार अनुगमनको विषयमा भएको छलफल कार्यक्रममा बोल्दै मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडा जोगवनीको भीडलाई रोक्न नसकेसम्म व्यवसायीलाई मात्र दोष लगाएर केही नहुने बताउँछन् । ‘उपभोक्ता नठगिनका लागि जोगवनी गइरहेका छन्, त्यसको चिन्ता हामीलाई छैन’, उनले भने, ‘केही बचेका उपभोक्ता विराटनगरको बजारमा हुन्छन्, तिनीहरूको चिन्ता हामीलाई छ ।’
जोगवनी बजारमा दैनिक १०/११ करोड कारोबार हुने बताउँदै मुन्दडाले विराटनगर बजारमा ५ लाखको पनि नहुने अवस्था भएको बताए । बजारमा सामानको माग नहुँदा उद्योगहरूले उत्पादन पनि घटाउनु परेको उनको भनाइ छ । बजारमा उत्पादित वस्तुको माग बढाउनलाई स्थानीय प्रशासन, प्रदेश सरकार र संघीय सरकारले ध्यान दिनुपर्ने उनको भनाइ छ ।
‘हामी त सचेत नागरिक तथा उपभोक्ता छौं बोर्डरमा गएर बसौं र भनौं यो वर्षको दसैं विराटनगरबाट नै माननौं’, उनले भने, ‘जोगवनीमा हुने कारोबार विराटनगरमा हुन सक्यो भने मूल्य घटाउन र विभिन्न किसिमका स्किम ल्याउन सकिन्छ ।’
जबसम्म जोगवनी जाने भीडलाई विराटनगर केन्द्रित गर्न सकिँदैन तबसम्म हाम्रो अर्थतन्त्रमा असर परिरहने मुन्दडाको भनाइ छ । अहिले उद्योगी व्यवसायी प्रोत्साहित गर्नुपर्ने अवस्था रहेको तर्क व्यवसायी मुन्दडाको छ ।
दुई पैसा बढी भए पनि विराटनगरमा नै किन्छु भन्ने कमिन्टमेन्ट उपभोक्ताले गर्नुपर्ने उनले बताए । जोगवनीबाट सामान ल्याउँदा एक सयभन्दा माथिको सामान ल्याउनेलाई राजस्व तिनुपर्ने बाध्यकारी बनाउनुपर्ने उनको भनाइ छ ।
त्यसैगरी विराट व्यापार संघका अध्यक्ष सुजन थापाले पनि व्यापारीले गल्ती गर्दा सजाय पाउनुपर्ने र गल्ती गर्नेलाई किन कारवाही गरेको भनेर अहिलेसम्म आपूmले कुनै पक्षलाई पनि नभनेको बताए । ‘बजार अनुगमन हुनुपर्छ, गल्ति गर्नेलाई कार्वाही गर्नुपर्छ’, उनले भने, ‘तर बजार अनुगमन गर्नुपर्ने अवस्था पनि सिर्जना गर्नुपर्छ ।’ ‘बजारमा बिक्री नै नभएको अवस्थामा के अनुगमन हुन्’, उनले भने ।
बजारमा सामानको बिक्री बढ्यो भने मूल्य स्वतः कम हुने थापाको भनाइ छ । कोरोनाको समयमा बढेको व्यवसाय नाका खुल्ने वित्तिकै सुक्दा नै हामीले हाम्रो बजारको अवस्था थाहा पाएको उनले बताए ।
‘कोरोनाको समयमा कहिले आयात नभएको वस्तु पनि आयत भए, बजार पनि चल्यो, उद्योग पनि चले तर नाका खुल्ने बित्तिकै समस्या उस्तै भयो’, उनले भने, ‘कच्चा पदार्थ बाहिरबाट ल्याउनुपर्छ, भन्सार, कर लगायत सबै कुरा जोड्दा उत्पादन मूल्य बढी पर्न जान्छ, उत्पादन मूल्य क मगर्न सरकारले भन्सार शुल्क घटाउनुपर्छ, उपभोक्तालाई कसरी सस्तो र गुणस्तरीय बस्तु दिन सक्छौ त्यो हेनुपर्छ ।’
‘कोरोनाको समयमा हाम्रो उत्पादनले धानिरहेको अवस्थामा अब पनि धेरै हाम्रै उत्पादनले धान्छ र बाहिरबाट आउने सामानमा भन्सार दर घटाएर भएपनि उपभोक्ताले विराटनगर बजारमा नै किनमेल गर्ने वातावरण सिर्जना गर्न सबै सरोकारवालहरू लाग्नुपर्ने हुन्छ’, उनले भने ।
उद्योग संगठन मोरङका निर्देश चुडामणि भट्टराईले सामानको मूल्य निर्धारण गर्ने बजारले भएको बताउँदै की त सरकारले सामानको मूल्य तोकिदिनुपर्ने बताए । ‘एउटा फाइबस्टार होटलमा एक बोतल पानीको मूल्य तीन सय पर्ने र बाहिर किन्दा २५ रुपैयाँ पर्ने भएकाले म ठगिए भनेर उपभोक्ताले कसरी भन्ने ? उनले प्रश्न गरे’ ।
‘पानी खान किन जान पर्यो महँगो पर्ने ठाउँमा बाहिर किनेर खाए भया नि,’ उनले भने, ‘त्यो उसको विचार हो, उसले सेवा लिए बापत महँगो तिर्दै छ, त्यसकारण मूल्य बजारले निर्धारण गर्ने हो र गुणस्तर सरकारले हेर्ने हो ।’ उद्योगहरूमा उसको उत्पादनमा लागेको खर्च कति छ, त्यसमा २५ प्रतिशत नाफा लिएर मात्र बजारमा बढाउने सरकारको नीति नै भएकाले बढी लिएर कार्वाही गर्ने निकाय भएको भट्टराईले बताए ।
‘१ रुपैयाँ उत्पादन खर्च छ भने १२५ रुपैयाँभन्दा बढीमा बेच्यो भने कालोबजारी ऐनले समात्छ’, उनले भने, ‘बजारमा प्रतिस्पर्धा धेरै भएको अवस्थामा बजारको अवस्था बुझेर समस्यामा छलफल भयो भने राम्रो हुन्छ ।’
उपभोक्ता हित संरक्षण मन्च विराटनगरका अध्यक्ष विनोद सुवेदीले पनि जोगवनी बजार जानेलाई राजस्वको दायरामा ल्याउनुपर्ने बताए । चोरी पैठारी गर्नेलाई पनि कडाईका साथ हेनुपर्ने बताउँदै सुवेदीले व्यवसायीको कुरामा आफू सहमत भएको भन्दै उपभोक्तालाई जोगवनी नजानका लागि त्यहाँ ठगिएका बारेमा उनीहरूलाई जानकारी गराउनुपर्नेमा जोड दिए ।
प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले पनि राजस्व कार्यालय ईटहरीलाई जोगवनीबाट बढी सामान ल्याउनेलाई कडाईका साथ राजस्वको दायरामा ल्याउन निर्देशन दिएको बताए । स्वदेशी उत्पादन र व्यवसायलाई हामीले सहयोग गर्ने भन्दै उपभोक्तलाई जोगवनी जानबाट केही हदसम्म भए पनि क मगर्ने प्रयासमा आफू रहेको दाहालले बताए ।