काठमाडौं । मन्त्रालय बाँडफाँडमा पर्यटन मन्त्रालय दाबी गरिरहेको नेपाल कम्युनिष्ट पार्टी समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पर्यटन मन्त्रालयअन्तर्गतका निकायमा कुनै पनि नियुक्ति नदिन सरकारलाई भनेपछि नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)को महानिर्देशक नियुक्त प्रक्रिया रोकिएको छ ।
पर्यटन मन्त्रालयमा नयाँ मन्त्री आएपछि छलफल गरेर मन्त्रालयअन्तर्गतका निकायमा समन्वय गर्ने र नियुक्ति गरिने सरकारलाई जानकारी गराएपछि ३ जनाको नामसहितको फाइल उठे पनि नियुक्ति हुन नसकेको पर्यटन मन्त्रालयका एक सहसचिवले क्यापिटल नेपाललाई बताए ।
असोज ८ गतेबाट रिक्त रहेको महानिर्देशक पदमा नियुक्तिमा ढिलाइ भएसँगै बिचौलियाहरूले विभिन्न शक्ति केन्द्रहरूमा धाउँदै करोडको बार्गेनिङसमेत गर्न थालेको ती सहसचिव बताउँछन् ।
अहिले महानिर्देशक बन्नका लागि प्राधिकरण भित्रका योग्यदेखि योग्यता नपुगेका व्यक्तिहरू पनि दौडधुपमा लागेका छन् । उनीहरूले १ करोडदेखि ५ करोडसम्म नेताहरूलाई अफर गरिरहेको आफूले सुनेको उनको भनाइ छ ।
पर्यटनमन्त्रीको समेत जिम्मेवारी लिएका प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रभावमा पार्न अहिले दैनिक रुपमा बालुवाटार धाउने र विभिन्न बिचौलियाहरूलाई प्रयोग गरेर करोडको बोलकबोल गर्नेहरूको संख्या बढेको बताइएको छ ।
पर्यटनमन्त्री समाजवादीको भागमा परेपछि अहिले धेरैको नजर को मन्त्री आउने कसलाई भन्दा हुन्छ भनेर दौडमा लागेका छन् ।
विशेष गरेर योग्यता नै नपुगेका केही व्यक्तिहरू वरियताक्रमलाई पछि पार्दै महानिर्देशक हत्याउने योजनाका साथ नेताहरूको घरदैलोमा करोडको अफर लिएर हिँड्न थालेको स्रोतको दाबी छ ।
अहिले महानिर्देशक बन्नका लागि १२औं तहका वरिष्ठ अधिकारीहरू राजकुमार क्षेत्री, भोलाप्रसाद गुरागाईं र प्रतावबाबु तिवारी, ११औं तहका हंसराज पाण्डे, देवचन्द्रलाल कर्ण, कुलप्रसाद सिम्खडा, प्रदीप अधिकारी दौडमा छन् । त्योसँगै पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने पनि महानिर्देशक बन्ने दौडमा छन् ।
बढुवा रोकियो
पर्यटनमन्त्री नभएकै कारण प्राधिकरणमा लामो समयदेखि रिक्त रहेको १२औं तहमा बढुवासमेत रोकिएको छ । सञ्चालक समितिले फाइल अध्ययन गरेर ११औं तहका कर्मचारीहरूलाई वरिष्ठको आधारमा बढुवा गर्ने प्रचलन रहेको छ ।
हाल १२औं तहमा तीन जनाको पद खालिरहेको छ । प्राधिकरणभित्र हाल ११औं तहको वरिष्ठ कर्मचारीहरूमा हंसराज पाण्डे, देवचन्द्रलाल कर्ण र कुलप्रसाद सिम्खडा छन् ।