काठमाडौं । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम ८० प्रतिशत सकिएको छ । रुपन्देहीको भैरहवामा निर्माण भइरहेको विमानस्थल आगामी पुसको पहिलो साताभित्र सञ्चालनमा ल्याउने गरी तीव्र गतिमा काम भइरहेको आयोजना प्रमुख प्रवेश अधिकारीले जानकारी दिए ।
विमानस्थलका लागि आवश्यक बत्ती जडान (लाइटिङ)को टेन्डर भइसकेको जनाइएको छ । लाइटिङको काम आयोजना निर्माण गरिरहेको चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल एभिएसनले नै गर्ने भएको छ । लाइटिङको काम गर्न यसअघि नै नर्थवेस्ट सिभिल एभिएसनले ठेक्का पाएको भए पनि केही विषयमा असहमति भएको थियो । तर, एक साताअघि भएको सम्झौताअनुसार आयोजनाले भनेजस्तै गुणस्तरमा काम गर्ने सहमति भएको हो ।
सहमतिअनुसार लाइटिङका लागि आवश्यक सम्पूर्ण सामग्री दसैं अगावै आयोजनास्थलमा पुर्याइसक्ने र दसैंपछि काम सुरु गर्ने गरी काम भइरहेको आयोजना प्रमुख अधिकारीको भनाइ छ । सम्पूर्ण सामग्री आयोजनामा पुगेपछि लाइटिङ जडानको काम बढीमा १ महिनाभित्र सकिने जनाइएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले केही साताअघि आयोजनाको स्थलगत अध्ययन गरी बाँकी रहेका सम्पूर्ण काम अगाडि बढाउन निर्देशन दिँदै लाइटिङको काम पनि तत्काल सुरु गर्न भनेका थिए ।
विमानस्थलमा आवश्यक हवाई इन्धन आपूर्तिका लागि नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान)ले नेपाल आयल निगमलाई ५ कठ्ठा जग्गा दिइसकेको छ । हाल रहेकै डिपोमा क्षमता वृद्धिका लागि भन्दै क्यानको बोर्डले निर्णय गरेर जग्गा दिएको हो । तर, निगमले आयोजनासँग ७ बिघा जग्गा माग गरेको छ । निगमले मागेको जग्गाका विषयमा निर्णयका लागि क्यानको बार्डमा पठाइसकेको जनाइएको छ ।
विमानस्थलको टर्मिनल भवनको छानो हाल्ने र कन्ट्रोल टावरको काम भइरहेको छ भने धावन मार्ग र ट्याक्सी वेको मार्किङको काम सम्पन्न भइसकेको छ ।
रनवे र ट्याक्सी वेमा विद्युतीय काम बाँकी छ । विद्युतीय कामका लागि आवश्यक फाउन्डेसन र कङ्क्रिट ब्लकहरु तयार भइसकेको उनको भनाइ छ । विमानस्थलको ल्यान्डसाइड एरियाको काम मौसममा सुधार आएपछि अगाडि बढाउने आयोजनाले तयारी छ ।
एसियाली विकास बैङ्क (एडीबी)को अनुदानसहित ६ अर्ब ८२ करोड रुपैयाँ लागतमा चिनियाँ ठेकेदार नर्थवेस्ट सिभिल एभिएसन कम्पनीले ७८७ बिघा क्षेत्रफलमा विमानस्थल निर्माण गरिरहेको छ । विमानस्थलभित्र चिनियाँ ४० र नेपाली २०० कामदारले काम गरिरहेका छन् ।