विराटनगर । १९ महिनादेखि बन्द रहेको विराटनगरको रानी र भारतको जोगवनी जोड्ने नाका पूर्णरुपमा खल्ला भएपछि पूर्वका पर्यटन व्यवसायी उत्साहित भएका छन् ।
पूर्वका होटल व्यवसाय धेरै जसो भारतीय पर्यटकले नै धानेको थियो । प्रदेश १ मा पर्यटकीय क्षेत्रहरु धेरै भएका कारण सामान्य अवस्थामा भारतीय पर्यटकहरु उल्लेख्य आउने गरेका थिए ।
कोभिड १९ महामारी विश्वव्यापी रुपमा फैलिएपछि रोकथाम र नियन्त्रणका लागि सरकारले २०७६ साल चैत ११ गतेदेखि पूर्णरुपमा सो नाका बन्द गरेको थियो ।
सरकारको असोज ११ गते बसेको मन्त्रिपरिषद बैठकको निर्णयले नाका खोल्ने निर्णय गरेको भए पनि जिल्ला प्रशासन कार्यालय मोरङले नाका खुला गर्न निर्देशन दिएको थिएन ।
सर्वसाधारणको आवतजावत केही समय अघिदेखिनै भइरहेको भए पनि सवारी साधन आवतजावत पूर्णरुपमा बन्द थियो । शनिबारबाट भने सबै प्रकारको आवतजावत खुला भएको छ । नाका खुलेपछि नेपाल र भारतबाट दुइपाङ्ग्रे, चारपाङ्ग्रे साना र ठूला सवारीसाधनहरु आउजाउ गर्न थालेका छन् ।
विराटनगर एसोसिएसन अफ ट्राभल एजेन्ट्स (बाटा) अध्यक्ष फडिन्द्र अधिकारी कोरोनाका कारण थला परेको पर्यटन क्षेत्र अब विस्तारै अघि बढ्ने बताउछन् । पर्यटन क्षेत्र र मठमन्दिर पनि खुलिसकेको र अब भारतीय पर्यटक आउने र पूर्वको पर्यटन क्षेत्रले अब गति लिने अधिकारीको भनाई छ ।
विभिन्न एनजीओ र आईएनजिओको कार्यक्रमहरु र सरकारी स्तरका कार्यक्रमहरु लगायतका कार्यक्रमहरु सञ्चालन हुन थालेकाले होटल व्यवसाय अघि बढ्ने विश्वास उनको छ । प्रदेश १ को राजधानी विराटनगरमा पर्यटकलाई लक्षित गरि बनाईएका होटलहरु बढी मारमा परेको अवस्थामा अब होटलहरुले पिकअप लिने अधिकारीले बताए ।
‘लकडाउनको समयमा होटल चल्न नसक्दा बैंकको ब्याज तिर्न पनि होटल नसकेको अवस्था थियो’, उनले भने, ‘गाडिहरु त्यतिकै बस्नुपर्यो, ट्राभल्स एजेन्सीहरु बन्द भए, यस्तो अवस्थामा ब्याज कसरी तिर्नु, सरकारले पुनर्कर्जाको व्यवस्था व्यवसायीलाई गर्नुपर्छ ।’ पुनर्कर्जाको विषय बजेट भाषण र मौद्रिक नीतिमा आए पनि व्यवसायीले नपाएको उनको भनाई छ ।
राष्ट्र बैंकले एउटा कुरा भन्ने र बैंकहरुले अर्को कुरा गर्ने गरेकाले पनि यस्तो समस्या आएको अधिकारीको बुझाई छ । ‘राष्ट्र बैंकले ताकेता नगर्नु भन्दा नि बैंकहरुले ताकेता गरिरहेका हुन्छन्’ उनले भने । ऋण लिएर तिर्न गाह्रो हुने र आफ्नो व्यवसायबाट नै तिर्नुपर्ने भएकाले यस्ता कुरामा बैंकहरुले व्यवसायिलाई ताकेता गर्न नहुने पर्यटन व्यवसायी अधिकारीको भनाई छ ।
होटल एसोसिएसन नेपालका केन्द्रीय सदस्य राजन श्रेष्ठले भारतीय पर्यटक घुम्न आउने यो सिजनमा नाका पूर्ण रुपमा खुलेकाले होटल व्यवसायीहरु उत्साहित भएको बताए । भारतीय पर्यटकहरु विराटनगर हुँदै भेडेटार, धरान, ईलाम लगायतका पर्यटकीय स्थलहरुमा घुम्न जाने भएकाले पूर्वको पर्यटन क्षेत्रले अब गति लिने श्रेष्ठको भनाई छ ।
स्वागतम होटलका सञ्चालक समेत रहेका श्रेष्ठले कोरोना कम भएसँगै आंशिक रुपमा खुलिरहेका होटलहरु अब पूर्ण रुपमा सञ्चालनमा आउने बताए । प्रदेश १ मा नयाँ पर्यटन स्तरीय होटलहरु आउने क्रम बढिरहेको अवस्थामा भारतीय पर्यटक आउने बाटो खुलेसँगै पर्यटन क्षेत्र चलायमान हुने उनको तर्क छ ।
प्रदेश १ मा पर्यटन क्षेत्रमा लगानी बढीरहेको र होटल क्षेत्रमा पनि लगानी गर्नेहरुको संख्या बढीरहेकाले कोरोनाको अर्को लहर नआए पर्यटन क्षेत्रले छिट्टै गति लिने श्रेष्ठको बुझाई छ । कोरोनाको समयमा नै विराटनगरमा धेरै होटलहरु सञ्चालनमा आएको र कोरोना आउनुभन्दा अगाडि लगानी गरिएका होटलहरु आउनेक्रममा रहेको श्रेष्ठले बताए ।