काठमाडौं । महाबौद्धको क्राउडलाई निस्तेज पार्ने उद्देश्यसहित त्यहाँको बजारलाई बल्खुमा सारिने भएको छ । नेपालकै सबैभन्दा ठूलो सपिङ मल बनाएर महाबौद्धको होलसेल बजारलाई बल्खु सार्न लागिएको हो ।
चीनबाट भित्रिने हरेक सस्तो कपडाको होलसेल बजार महाबौद्ध हो । त्यहाँबाट देशभरका विभिन्न ठाउँमा कपडा लगिन्छ । त्यही बजारलाई निकट भविष्यमै बल्खुमा सार्न लागिएको हो । अहिले बल्खुमा ५२२ व्यापारीको लगानीमा नेपालकै सबैभन्दा ठूलो मलको कन्ष्ट्रक्सन सुरु भइरहेको छ ।
व्यापारी उपेन्द्र महत्तोको ३६ रोपनी जग्गा किनेर बल्खुमा नेपालको सबैभन्दा ठूलो व्यापारिक भवन ‘आदर ट्रेड सपिङ मल’ बनाइएको हो । महाबौद्ध क्षेत्रमा बसेर चिनियाँ सामानको थोक व्यापार गर्ने ५२२ जना व्यापारीको समान लगानीमा उक्त मल बनाउन लागिएको हो । सो भवनको लागत ४ अर्ब बढी रहेको बताइएको छ ।
‘आदर मल्टि इन्भेष्टमेन्ट कम्पनी’ले उक्त भवन निर्माण गर्न लागेको हो । सो कम्पनीमा ५२२ जना महाबौद्धका व्यापारीको लगानी छ । आदर मल्टी इन्भेष्टमेन्ट कम्पनी २०७३ सालमा स्थापना भएको थियो ।
काठमाडौंको मुटु न्युरोड अचाक्ली कन्जस्टेड भइसकेको छ । मान्छेलाई आवातजावात गर्नै समस्या भएपछि महाबौद्धको विकल्प खोजिएको हो । यदि महाबौद्धको बजारलाई मात्रै बल्खु लगियो भने, त्यहाँ हुने भीडभाड कम हुन्छ ।
स्रोतका अनुसार उक्त मलमा ८/८ तल्लाका ११ वटा भवन निर्माण हुने बताइएको छ । त्यसमध्ये ४ वटा भवनको काम अन्तिम चरणमा पुगेको छ । ३३ महिना अगाडिबाट निर्माण सुरु भएको सो भवनको आगामी १७ महिनापछि निर्माण सम्पन्न हुने कम्पनीले जनाएको छ ।
पहिलो चरणमा ४ वटा भवनको निर्माण कार्य सकिन्छ । निर्माण सकिएका भवनमा महाबौद्धको बजार लगिन्छ । बाँकी भवन बनिसकेपछि मात्रै महाबौद्धबाट सबै व्यापारीलाई त्यता सिफ्ट गर्ने योजना छ ।
महाबैद्ध क्षेत्रमा यातायात, गोदाम, पार्किङ, सामान ओसार पसार गर्न, घर भाडा र सुरक्षामा पनि दिन प्रतिदिन समस्या हुँदै गएको छ । सोही समस्याको कारण विक्रम सम्वत २०७२ को भूकम्पपछि थोक व्यापारी संघ–संस्थाले सरकारलाई जग्गाको व्यवस्था गर्न आग्रह गरेका थिए ।
तर, राहत, उद्धार तथा पुनर्निर्माणमा लागेकाले सरकारले जग्गा उपलब्ध गारउन सकेको थिएन ।
सोहीअनुसार आदर मल्टिइन्भेष्टमेन्टले ‘सक्नेले आफ्ना लागि सकेको गर्ने’ अवधारण अगाडि सार्यो । उक्त अवधारणमा इच्छुक व्यापारीहरुले सहभागी भई एनआरएनका संस्थापक अध्यक्ष डा. उपेन्द्र महत्तोको कम्पनी तथा उनको परिवारका सदस्यको नाममा रहेको काठमाडौं महानगरपालिका वडा नम्बर १४ बल्खुको ३६ रोपनी जग्गा खरिद गरेको थियो । निर्माण सम्पन्न भएपछि सो भवनमा २ हजारदेखि २५ सयसम्म सटरहरु निर्माण हुने छन् ।
सो भवन बजार सार्नकै लागि बनाएको नभनाई इच्छुक व्यापारी संलग्न हुने गरी निर्माण गरिएको बताइएको छ । कम्पनीले हरेक कारोबार बैंकबाट सञ्चालन गरी पारदर्शी बनाउने जनाएको छ । साथै जग्गा खरिदको रमकलाई आधार मानेर सरकारलाई राजस्व बुझाएकोसमेत कम्पनीले जनाएको छ ।
महाबौद्धमा १ हजारभन्दा बढी व्यापारी छन् । त्यहाँबाट दैनिक अर्बौको कारोबार हुन्छ । सस्तो बजार भनेर चिनिने महाबौद्धका सामान देशका कुनाकुनामा पुग्छन् ।