काठमाडौं । नेपाल विद्युत प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरुलाई पोलभाडा बक्यौता तिर्न डेढ महिनाको समय दिएको छ । प्राधिकरणले आईएसपीहरुलाई सम्पूर्ण बक्यौता भुक्तानी तथा सम्झौताका लागि कात्तिक ३० गतेसम्मको समय दिएको छ । तबसम्म आफूहरुले इन्टरनेटको तार काट्ने तथा सेवा अवरुद्ध पार्ने जस्ता केही पनि काम नगर्ने प्राधिकरणले सुनिश्चित गरेको छ ।
आइतबार उर्जा मन्त्रालयले इन्टरनेटको तार काटेको विषयमा आह्वान गरेको छलफलमा प्राधिकरणले सो म्याद थप गरेको हो । वैठकमा दुवै तालुकदार मन्त्रालय, दुबै प्राधिकरणको उपस्थिति थियो ।
तर, प्राधिकरणले समस्याको मुख्य चुरो रहेको भाडादर आफ्नो सञ्चालक समितिले तय गरेको भन्दै त्यस निर्णयबाट पछि नहट्ने अडान कायम राखेको छ ।
यसबीच पोलभाडा विवादका सम्पूर्ण पक्षको समाधान गर्न दुई मन्त्रालयले सरोकारवाला पक्षहरु समेटेर आज छुट्टै समिति बनाउने निर्णय पनि सोही वैठकबाट गरेको वैठकमा उपस्थित विद्युत प्राधिकरण ग्राहक सेवा निर्देशनालयका उप कार्यकारी निर्देशक मनोज सिलवालले बताए ।
‘हामीले तय गरेको भाडादरबाट हामी पछि नहट्ने हामीले बताइसकेका छौं वैठकमा,’ सिलवालले भने, ‘अब यसबीच सेवा प्रदायकहरुलाई कसरी भाडा तिराउन सकिन्छ के कस्तो सुविधा र सर्तमा भाडा तिराउने हो ती लगायत अहिले उठेको विवादको समस्याको सम्पूर्ण पक्षलाई समाधान गर्न आज मन्त्रालयले नयाँ समिति बनाउँदैछ ।’तर सो अवधिमा समेत आईएसपीहरु वार्तामा नआए र भाडा नतिरे पुन एक्सन लिन सक्ने प्राधिकरणले चेतावनी दिएको छ ।
यो पनि हेर्नुहोस
दुई प्राधिकरणबीच विवाद उत्कर्षमाः दूरसञ्चारले विद्युतमाथि गर्यो कारबाहीको माग
विद्युत प्राधिकरणले काट्न थाल्यो इन्टरनेटको तार
विद्युत प्राधिकरणले शनिबारदेखि पोलको तार काट्ने, धेरै स्थानमा इन्टरनेट सेवा बन्द हुने