काठमाडौं । सेयर बजार घटाउन ब्रोकरहरु संगठित रुपमै लागेका छन् । ५८ वटै ब्रोकरले मौखिक सहमति गरेर लगानीकर्ताको सेयर किन्ने लिमिट शून्यमा झारेपछि धेरै लगानीकर्ताले सेयर किन्न सकेका छैनन् ।
ब्रोकरले केही लगानीकर्तालाई सेयर किन्न लिमिट हालिदिए पनि अधिकांश लगानीकर्ताको लिमिट शून्यमा झारेका छन् । लगानीकर्ताले ब्रोकर अफिसमा फोन गर्दा पहिला पैसा लोड गर्नुस्, त्यसपछि लिमिट खुला हुन्छ भन्ने जवाफ दिने गरेका छन् ।
कतिपय लगानीकर्ताले पैसा लोड गर्दा पनि ब्रोकरले सेयर किन्नका लागि लिमिटि खुला गरेका छैनन् । लगानीकर्ताले आइतरबार बारम्बार ब्रोकर अफिसमा फोन गर्दा पनि लिमिट नखुलाइएको बताएका छन् ।
केन्द्रीय बैंकले सेयर धितो कर्जाको ४ र १२ करोडको सीमालाई हटाउने अर्थमन्त्रीसामू प्रतिबद्धता जनाएपछि पनि बजार निरन्तर ओरालो लाग्नुको पछाडि ब्रोकरहरुको हात रहेको लगानीकर्ताहरु बताउँछन् ।
पहिले पहिले ब्रोकरले लगानीकर्ता दिएको लिमिटबाट ४ गुणासम्म सेयर किन्न सक्ने व्यवस्था गर्ने । त्यो सुविधा दिँदा धेरै लगानीकर्ताले सेयर किन्ने तर भुक्तानी नगर्ने गरे । त्यसपछि त्यो सुविधालाई ब्रोकरले हटाए । पछि पैसा लोड गरेपछि मात्रै सेयर किन्न सक्ने सुविधा दिए । अहिले पैसा लोड गर्दा पनि सेयर किन्नका लागि लिमिट दिएका छैनन् ।
ब्रोकरहरुले पनि बजार विस्तारै स्थिर हुँदै गएको र अब घट्ने ठाउँ नरहेको बताइरहेका छन् । तैपनि आइतबार ६० अंकभन्दा बढी बजार घटेको छ।
लगानीकर्तामा खासै आत्मविश्वास पैदा हुन सकेको जस्तो देखिएको छैन । क्रेता र बिक्रेता दुवै पक्ष ‘पर्ख र हेर’ को अवस्थामा बस्दा कारोबार रकम पनि निकै सुस्त भएको हो । विश्लेषकहरुका अनुसार बजारले स्पष्ट दिशानिर्देश गर्न नसकेका कारण खरिदबिक्री रकम पनि सुस्त भएको हो । बेस्सरी घटेका बेला खरिदकर्ता आकर्षित हुन्छन् । यस्तै, धेरै बढेका बेला पनि बिक्रेता र क्रेता पनि सोही अनुसार आउने गर्छन् । तर अहिले सूचक निकै सुस्त भएको छ ।
राष्ट्र बैंक र सरकारको गलत नीतिका कारण सेयर बजार प्रभावित भएको हो । विशेषगरी सेयर धितो कर्जामा १२ करोडको क्यापले बजारलाई बेस्सरी असर गरेको छ । यस्तै, बैंकिङ प्रणालीमा तरलता अभावले पनि बजारको गति सुस्त हुन गएको अनुमान गरिएको छ ।
यद्दपि, बजार सधैं घट्ने मात्र हुँदैन । यस्तो अवस्थामा लगानीकर्तामा धैर्य र संयमता हुन जरुरी छ । बजारका अनुभवी लगानीकर्ताहरुले पनि अहिलेको अवस्थालाई लगानीकर्ताको धैयर्ताको परीक्षणका रुपमा लिएका छन् । बजारको बुलिस ट्रेन्ड अझै नसकिएको उनीहरुले बताएका छन् ।
सेयर बजार आइतबार ५५.९३ अंकले घटेर २५७७.५० बिन्दुमा आएको छ । ४ अर्ब ११ करोड रुपैयाँको सेयर किनबेच भएको छ । यो कारोबार गत बिहीबारको भन्दा बढी हो । बिहीबार ३ अर्ब ७० करोड रुपैयाँको मात्र सेयर कारोबार भएको छ ।