काठमाडौं । आन्तरिक उडान गर्दै आएको निजी क्षेत्रको एयरलाइन्सले दैनिक करिब २ सय ७ वटा उडान गरिरहँदा सरकारी स्वामित्वमा रहेको नेपाल एयरलाइन्स(एनएसी) को भने दैनिक ३ देखि ४ वटामा सीमित राखेको छ । त्यसमा पनि बेला–बेलामा उडान रद्द गर्ने समस्याको कारण यात्रुहरु हैरानीमा परेका छन् ।
तयारी बिनै आन्तरिक उडानमा रहेको चिनियाँ जहाज सञ्चालन नगर्ने सञ्चालक समितिको अपरिपक्क निर्णयको कारण विगत दुई वर्षदेखि निजी क्षेत्रले रजगज गरिरहेको हो ।
अहिले सबैभन्दा बढी बुद्ध एयरले दैनिक १ सय ४० भन्दा बढी उडान गर्दै आएको छ भने यती एयरलाइन्सले ४८, श्री एयरलाइन्सले २०, समिटले १५ र सौर्य एयरलाइन्सले ८ वटा उडान गर्दै आएको छ । सीता र तारा एयरले भने चार्टर्ड र कार्गो ढुवानी गर्दै आएको छ ।
चिनियाँ जहाजको बेहाल
२०७७ साउन १५ गतेदेखि पाँचवटा चिनियाँ जहाज सञ्चालन नगर्ने सञ्चालक समितिको निर्णयसँगै दुईवटा टुईनअटरले आन्तरिक उडान गर्दै आएको थियो । तीमध्ये एउटा जहाज एक महिनादेखि ग्राउण्डेड भएको छ । व्यवस्थापकीय कमजोरीका कारण एक महिनादेखि जहाज ग्राउण्डेड हुँदा दसैं, तिहार र छट जस्ता चाडपर्वमा निजी क्षेत्रको जहाजको रजगज हुने निश्चित देखिएको छ ।
आन्तरिक उडानमा रहेको चिनियाँ जहाज सञ्चालन नगर्ने निर्णय गरे पनि अहिलेसम्म कसरी व्यवस्थापन गर्ने कुनै निर्णय गरेको छैन । सञ्चालक समितिले सो जहाजको व्यवस्थापनको विकल्पको रुपमा बिक्री गर्ने वा भाडामा दिन सकिने गरी अर्थ मन्त्रालय र पर्यटन मन्त्रालयमा पठाएको थियो ।
अर्थ मन्त्रालयले भाडामा दिन सहमति गरे पनि लामो समय भइसक्दा सो जहाज कसलाई भाडामा दिने भन्ने विषय टुंगोमा पुर्याउन सकेको छैन । जसको कारण आन्तरिक उडान शून्य जस्तै हुँदै आएको छ । चिनियाँ जहाजको व्यवस्थापन पछि आन्तरिक उडानका लागि नयाँ जहाज खरिद गर्ने तयारी गरे पनि बजेट अभाव झेलिरहेको छ ।
दसैं अघिनै ग्राउण्डेड जहाज उड्छ, महाप्रवन्धक पौडेल एनएसीका महाप्रबन्धक डिमप्रकाश पौडेलले आज वा भोलिनै ग्राउण्डेड जहाजको सामान आइसक्ने बताएका छन् । आन्तरिक उडानमा रहेको टुइनअटर जहाजको लागि आवश्यक सामान आउने बित्तिकै दुई तीन दिनभित्रमा नियमित उडान गर्ने गरी तयारी भइरहेको उनले बताए ।
अहिले एउटा मात्र जहाज सञ्चालनमा रहेकाले त्यहीअनुसार तालिका सार्वजनिक गरेको बताउँदै जहाज बनेसँगै नयाँ तालिका सार्वजनिक गर्ने उनको भनाइ छ ।