विराटनगर । सुनसरी दुहवीकी चन्द्रमुखि कुमारी चौधरी स्नातक पढ्दै छिन् । उनीले अहिलेसम्म डिम्याट खाता खोलेकी छैनन् । तर, उनलाई अहिले सेयरको बारेमा निकै चासो छ । कसेलै सेयर बजारका बारेमा कुरा गर्दा निकै चाख मानेर सुन्छिन् पनि चौधरी । सेयरको बारेमा थोरै जानकारी भए पनि राम्रो जानकारी नभएका कारण डिम्याट खाता नखोलेको उनले बताइन् ।
शनिबार नासा इन्भेष्टमेन्ट विराटनगरले आयोजना गरेको प्रदेश स्तरीय सेयर सचेतना कार्यक्रममा चौधरी सहभागी भइन् । कार्यक्रममा सहभागी भइरहँदै उनले भनिन्, ‘अब डिम्याट खाता खोलेर आईपीओ भर्छु,’ र सेकेन्डरी बजारमा पनि छिर्छु ।’ आफूले बल्ल सेयर बजारका बारेमा जानकारी पाएको उनको भनाइ छ ।
त्यसैगरी स्नातक पढ्दै गरेकी इनरुवाकी अस्मिता यादव पनि डिम्याट खाता खोल्ने तयारीमा छिन् । सेयर बजारका बारेमा खासै वास्ता नगर्ने यादव क्याम्पसले कार्यक्रममा जानुभन्दा अन्यौलमा परेकी थिईन । ‘सेयर बजारसम्बन्धी कार्यक्रम छ विराटनगरमा जानु भनेर क्याम्पसको सरले भन्नुभयो’, उनले भनिन्, ‘सुरुमा अलमलमा परे, जेसुकै होस् जान्छु भनेर आएको कार्यक्रममा सहभागि भएपछि राम्रो लाग्यो ।’
आफूहरूका लागि राम्रो कुरा भएको उनले बताईन । ‘सेयर बजारसम्बन्धी बुझे, अब गएर डिम्याट खाता खोल्छु’, उनले भनिन् । अझै धेरै जनालाई सेयरका बारेमा थाहा नभएको अवस्थामा सेयर सचेतना कार्यक्रम प्रभावकारी रहेको उनको बुझाइ छ । यस्ता कार्यक्रम बजार केन्द्रित भन्दा नी गाउँ केन्द्रित भने अझ प्रभावकारी हुने यादवले बताइन् ।
पछिल्लो समयमा युवाहरू सेयर बजारमा निकै आकर्षित हुन थालेका छन् । संस्थागत रूपमा पनि शेयर सचेतना कार्यक्रम सञ्चालन गरिरहेका छन् । शेयर बजारको प्रवद्र्धन गर्नका लागि विराटनगरमा गत असारदेखि सञ्चालनमा आएको नासा इन्भेष्टमेन्टले सेयर सचेतना कार्यक्रमलाई तीव्रता दिएको छ ।
नासाले तीन महिनाको अवधिमा विभिन्न ठाउँमा गरी ६ वटा सेयर सचेतना कार्यक्रमको आयोजना गरिसकेको छ । प्रदेश १ का विभिन्न ठाउँलगायत अन्य प्रदेशमा पनि शेयर सचेतना कार्यक्रम गरिरहेको नासा इन्भेष्टमेन्ट विराटनगरका कार्यकारी निर्देशक अरविन्द मेहताले जानकारी दिए ।
‘हाम्रो कार्यक्षेत्र भनेको देशभर हो, अन्तराष्ट्रिय रूपमा पनि हामी कार्यक्रम गर्छाैं’, उनले भने, ‘अझै धेरैलाई सेयर बजारको बारेमा जानकारी छैन, उहाँहरूलाई जानकारी गराई सेयर बजारको पहुँचसम्म ल्याउने काम हामी गछौं ।’ सेयर बजारमा आउन युवाहरूलाई प्रोत्साहन गर्ने आफूहरूको उद्देश्य रहेको मेहताले बताए ।
सेयर बजार बाहेक आफूहरूले बैंक तथा वित्तीय संस्थाले आह्वान गरेको सेयर धितो लिलाम बिक्रीमा सहभागी भई सोसँग सम्वन्धित धितोपत्र खरिद बिक्री गर्ने गराउने काम गर्ने अध्यक्ष मेहताको भनाइ छ ।
‘स्वदेश तथा विदेशमासमेत सञ्चालित साना, सझौला तथा ठूला विभिन्न व्यापार, व्यवसायमा लगानी गरी सो सम्बन्धी कामहरू गर्नेछौं’, उनले भने ‘कृषि, व्यापार, होटल, कृषि फर्महरू, विभिन्न खाले नर्सरीलगायत मानिसले गर्ने सबै खाले काम तथा व्यवसायमा हामी लगानी गर्ने छाैं ।’ ‘हाम्रो कार्य क्षेत्र फराकिलो छ’, उनले भने ‘हामी जुनसुकै व्यवसायमा लगानी गर्न सक्छाैं ।’
शनिबार विराटनगरमा गरिएको प्रदेश स्तरीय सेयर सचेतना कार्यक्रममा संविधान दिवसको अवसरमा मोरङ र सुनसरीबाट विभिन्न पदकबाट विभूषित भएका व्यक्तिहरूलाई सम्मान समेत गरिएको थियो ।