काठमाडौं । व्यवस्थापकीय कमजोरीका कारण दसैंको मुखमा नेपाल एयरलाइन्स(एनएसी)को कल साइन ९ एन एवीटी भएको टुईनअटर जहाज एक महिनादेखि ग्राउण्डेड छ । ग्राउण्डेड जहाजलाई समयमै मर्मत सम्भार नगरेकै कारण दसैंको मुखमा आन्तरिक उडान प्रभावित बनेको छ ।
जहाजको फ्युल इन्डिकेशन (इन्धन मापन केन्द्र ) बिग्रिएको र नयाँ ल्याउनका लागि बजेट नभएकै कारण सो जहाज ग्राउण्डेड भएको हो ।
एयरलाइन्स स्रोतका अनुसार बिग्रिएको सामान ल्याउन करिब १ करोड रुपैयाँ लाग्ने र त्यसका लागि आवश्यक बजेट विनियोजन नै नभएको कारण समस्या भएको छ ।
एयरलाइन्सभित्र लामो समयदेखि कर्मचारीहरु आन्दोलनमा रहेको कारण बजेट पास हुन सकेको छैन । कर्मचारीहरुको चर्को दबाबका बीच महाप्रवन्धक डिमप्रकाश पौडेलले आफ्नो विषेश अधिकारी प्रयोग गर्दै तीन महिनाको तलब भर्खरै वितरण गरेका छन् ।
तर, जहाजको सामान ल्याउन भने बजेट नभएको भन्दै मर्मत सम्भार हुन नसक्दा निगमको दसैंको मुखमा आन्तरिक उडान प्रभावित भएको छ ।
यति मात्र नभई सो जहाजको चक्कासमेत झिकेर अर्को जहाजमा प्रयोग गरिएको छ । यस्तै जाहाजमा भएको रेडियो पनि झिकिएको छ । हाल सञ्चालनमा रहेको जहाजको चक्का मर्मतका लागि प्राविधिक राखे पनि उसले समयमै काम नगर्दा अर्कोको प्रयोग गरेर सञ्चालनमा ल्याएको छ ।
दुइवटा टुईनअटर जहाजमार्फत देशको दुर्गम क्षेत्रमा आन्तरिक उडान गर्दै आएको नेपाल एयरलाइन्सले तत्कालै मर्मत गर्ने अवस्था नदेखेपछि एउटा जहाजको मात्र उडान तालिका समेत सार्वजनिक गरेको छ ।
आन्तरिक उडान भर्दै आएको ५ वटा चिनियाँ जहाज सञ्चालन नगर्ने निर्णयसँगै निगमका दुइवटा टुईनअटर जहाजले उडान गर्दै आएको थिए ।
जहाज उडाउनका लागि एयरलाइन्सले मासिक ५ देखि ७ लाख रुपैयाँ तलब दिएर पाइलटहरु राख्दै आएको छ । जहाज समयमै मर्मत नगर्दा निगमले पाइलटहरुलाई कामै नगरी मासिक लाखौं रुपैयाँ तलब दिँदै आएको छ ।