काठमाडौं । नेपाल विद्युत प्राधिकरणले देशका विभिन्न भागमा इन्टरनेटको तार काटी सेवा अवरूद्ध पारेपछि नियामक निकाय नेपाल दुरसञ्चार प्राधिकरणले कारबाहीको माग गरेको छ ।
सेवाप्रदायक कम्पनीहरुले पोल भाडा भुक्तानी नगरेको भन्दै विद्युत प्राधिकरणले इन्टरनेटको तार काट्न थालेपछि यी दुई सरकारी निकायबीचको विवाद उत्कर्षमा पुगेको हो ।
इन्टरनेट सेवा प्रदायक संघ नेपाल र नेपाल विद्यु्त प्राधिकरणबीच पोल भाडा दर विवाद समाधानको प्रयास सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गरिरहेको अवस्थामा अनायास अप्टिकल फाइबर काट्दा राज्यको अति आवश्यक सेवा अवरुद्ध भएको दुरसञ्चार प्राधिकरणले बताएको छ । दूरसञ्चार ऐन, २०५३ अनुसार कसैले पनि यस्तो सेवा अवरुद्ध गरेमा दण्ड हुने व्यवस्था छ ।
सोही व्यवस्थाका आधारमा दोषी विद्युत प्राधिकरणलाई काराबाही गर्न दुरसञ्चार प्राधिकरणको माग हो । पूर्वाधारको सुरक्षा गर्न सम्वन्धित सबैलाई प्राधिकरणले अनुरोधसमेत गरेको छ ।
हरेक समस्याको समाधान वार्ताबाट मात्र हुन सक्ने भन्दै सबै पक्ष बसी आपसी छलफलबाट समस्याको समाधान गरी इन्टरनेट सेवाको निर्वाध उपयोग गर्ने गराउने व्यवस्था मिलाउन विद्युत प्राधिकरण, इन्टरनेट सेवा प्रदायक संघ नेपाल तथा सम्बन्धित सबै पक्षमा अनुरोध गरेको छ ।
पोल भाडा भुक्तानी नगरेको भन्दै विद्युत प्राधिकरणले आज शनिबारबाट इन्टरनेटको तार काट्न थालेको छ । एनसेल, सीजी नेट र डिसहोम बाहेक बाँकी सम्पूर्ण सेवाप्रदायकहरूको इन्टरनेटको तार काट्न थालेको प्राधिकरण ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले बताए ।
‘हामीले आज बिहान नै देशैभर सम्पूर्ण सेवाप्रदायकको एक एक स्थानमा नेटवर्कका तार काटिसकेका छौं’ सिलवालले भने । पहिलो चरणमा सांकेतिक चेतावनी स्वरूप कम सेवाग्राहीहरू प्रभावित हुने क्षेत्रमा मात्र तार काटिएको उनले जानकारी दिए ।
यो पनि हेर्नुहोस
विद्युत प्राधिकरणले काट्न थाल्यो इन्टरनेटको तार
विद्युत प्राधिकरणले शनिबारदेखि पोलको तार काट्ने, धेरै स्थानमा इन्टरनेट सेवा बन्द हुने