काठमाडौं । चाडबाडको समय सवारी साधन किनबेचका लागि उपयुक्त समय हो । यसबेला गाडीको कारोबार ३० देखि ३५ प्रतिशतसम्म बढ्छ । तर, चिपको अभावको कारण यस वर्षको चाडबाडमा भने व्यवसायीहरुले गाडीको माग धान्न सकेका छैनन् ।
सीमित गाडीमा मात्र अफर र स्किम ल्याएका व्यवसायीहरुले ग्राहकले माग गरेबमोजिम कारहरु उपलब्ध नगराउँदा अटो व्यवसायमा अपेक्षित व्यवसाय छैन । तर, उपभोक्ताहरुका लागि विकल्प सेकेन्ड ह्यान्ड कार छ । उपभोक्ताहरु केही वर्ष सेकेन्ड ह्यान्ड कार चढेर त्यसपछि नयाँ कार लिने मुडमा छन् ।
लामो समयसम्म कोभिड र निषेधाज्ञाका कारण गाडी आयात गर्न नसक्दा पनि अहिले सोरुममा खासै गाडीको सो भएको छैन । यसैले गाडी बुकिङ गरेको डेढ महिनासम्म पनि ग्राहकहरुले गाडी पाइरहेका छैनन् । तर, नयाँ गाडीको बजारमा अभाव खट्किन थालेपछि पुराना गाडीको कारोबारले भने राम्रो बजार पाएको छ ।
नयाँ गाडीको बजारमा अभाव देखिन थालेपछि पुरानो गाडी भए पनि किन्नेहरुको भीड बढेको रिकन्डिसन सेन्टर तथा पुराना गाडी किनबेच गर्दै आइरहेका कम्पनीहरुको भनाइ छ । बाबा अटो ग्रुपको केटीएम कार बाई सेलका अनुसार पहिलेको तुलनामा अहिले पुरानो गाडीको बजार बढेको छ ।
‘पुराना गाडीको किनबेच त पहिले पनि राम्रै थियो, तर अहिले कोभिड र विभिन्न कारणले नयाँ गाडी नपाउँदा पुराना गाडी किनबेच गर्नेको संख्या बढेको छ,’ केटीएम कार बाई सेलकी दिलु श्रेष्ठले क्यापिटल नेपाललाई भनिन् । केटीएम कार बाई सेलले प्रयोग भएका गाडीहरु बिक्रेताबाट किनेर आफ्नो साइटमा राखी क्रेतालाई बिक्री गर्छ । पुराना गाडीहरुको मूल्य पनि ५० हजारसम्म बढेको उनले सुनाइन् ।
‘अहिले पहिलेको तुलनामा मूल्य बढेको छ । हामी गाडी झण्डै ५० हजार बढी मूल्यमा किनेर ५० हजार बढी मूल्यमा बिक्री गरिरहेका छौं ।’
यस्तै नक्सलस्थित पुराना गाडीहरुको किनबेच गर्ने कम्पनी राम्रो मोटर्सकी युनिसा श्रेष्ठ पनि चाडबाड बढेपछि पुराना गाडीको किनबेच पनि बढेको बताउँछिन् ।
रिकन्डिसन सेन्टर पनि सँगै रहेको राम्रो मोटर्समा हाल विभिन्न ब्राण्डका नयाँ पुराना ३ लाखदेखि माथि विभिन्न मूल्य रेन्जमा गाडीहरु पाउन सकिन्छ । क्रेताले सोरुममै आएर गाडी हेरेर खरिद गर्न सक्ने उनी बताउँछिन् ।
एक महिनाअघि मात्र हाम्रो बजारले प्रयोग भइसकेका सेकेन्ड ह्यान्ड कारको बिक्री गर्ने उद्देश्यले सेकेन्ड ह्यान्ड कारको प्रदर्शनी गरेको थियो । हाम्रो बजारको वेबसाइटमा अहिले ५० भन्दा बढी कार बिक्रीमा राखिएको छ । गैरीधारास्थित सेकेन्डह्याण्ड कारको कारोबार गर्ने नेपाल हुविल्स्मा अहिले २५ लाखदेखि ५० लाखका कार लिनेहरु बढिरहेको कम्पनीले जनाएको छ ।
कम्पनीका प्रतिनिधि साधुराम ढकालले सोरुममा नयाँ कार नभएपछि ग्राहकहरु विकल्पमा सेकेन्डह्यान्ड कार खरिद गरिरहेको बताए । सेकेन्डह्यान्ड कारको माग वर्षभरि नै हुन्छ तर चाडपर्वमा लिने सोच बनाएकाहरुले नयाँ कार नपाएपछि कन्डिसनका सेकेन्डह्यान्ड कारलाई रोजाइमा पारेको उनले बताए ।
‘हाम्रोमा क्रेटा, ब्रेजादेखि ल्याण्डकुजरको माग बढी छ, बिक्री पनि त्यसैको भइरहेको छ,’ उनले भने । ‘हाल हामीसँग २५ लाखदेखि ८० लाखसम्मको कार छ’