काठमाडौं । जल तथा मौसमसम्बन्धी थप विवरण लिन जल तथा मौसम विज्ञान विभागले यस वर्ष दुई ओटा राडार सिस्टम जडान गर्ने भएको छ । विभागले पाल्पा र उदयपुरमा राडार जडान गर्ने बताएको छ ।
गत वर्ष विभागले देशमै पहिलो पटक त्यस्तै प्रकारको एउटा राडार सुर्खेतमा जडान गरिसकेको छ । त्यस राडारले २०० किलोमिटर क्षेत्र वरपरको मौसमी अवस्थाबारे पूर्वानुमान सूचना दिन्छ ।
राडार खरिद गर्न बोलपत्रको प्रक्रियामा रहेको विभागका सूचना अधिकारी विक्रम श्रेष्ठले जानकारी दिए । बोलपत्र पेस भइसकेको र हाल त्यसको मूल्याङ्कन भइरहेको श्रेष्ठले जानकारी दिए । डेढ महिनासम्म ठेक्का सम्पन्न भएर ६ महिनामा जडानको काम सम्पन्न भइसक्ने श्रेष्ठले क्यापिटल नेपाललाई बताए ।
२०० किलोमिटरको क्षेत्रलाई कभर गर्ने तीन ओटा राडार भएपछि यसले नेपालको ८०० वर्ग किमि क्षेत्रफल कभर गर्न सक्ने उनले जानकारी दिए । प्रत्येक राडार सिस्टमको पूर्व–पश्चिम, उत्तर–दक्षिण चारै दिशामा दुई सय वर्गकिलोमटरको रेन्ज हुन्छ । यसले गर्दा तीन ओटा राडारको रेन्जले ८०० वर्ग किमिको क्षेत्रफललाई सजिलै ओगट्छ । कतिपाय ठाउँतिर त रेन्ज ओभरल्याप पनि हुन्छ । तर, उत्तर–दक्षिणको विषयमा चाहिँ दक्षिणतिर समथर भूभाग भएकाले सजिलै काम गरे पनि उत्तरी खोँचहरुमा भने राम्ररी रेन्ज पुग्न सक्दैन ।
‘यो राडारले विशेषगरी कस्तो वर्षा हुने, बादलको तह बाक्लो वा पातलो तथा चट्याङ आदिका विषयमा २०० किलोमिटर वरपरको क्षेत्र कभर गरेर पूर्वानुमान गर्छ,’ श्रेष्ठले भने ।
यसले विशेषगरी आन्तरिक विमान दुर्घटना न्यूनीकरण गर्ने उनले सुनाए । ‘हामीकहाँ उडड्यन क्षेत्रमा उडान र अवतरण गर्ने क्षेत्रको मात्र मौसमी अवस्थाको जानकारी पाउन सकिन्छ,’ उनले भने, ‘बीचमा के कस्तो मौसम छ केही थाहा हुँदैन । तर, यसले २०० किलोमिटर क्षेत्रसम्मको जानकारी दिने हुँदा आन्तरिक उडानका दुर्घटना न्यूनीकरण गर्न सक्छ ।’
तत्कालका लागि यसले बाढी पहिरोलगायतका प्रकोपका बारेमा जानकारी दिन नसके पनि विभागले आफै सफ्टवेयर विकास गरेर सो राडारलाई बाढी पहिरोको सूचनाका लागि लिङ्क गर्न सक्ने श्रेष्ठले बताए ।
यसका अतिरिक्त यसै आर्थिक वर्षमा विभागले ८८ ओटा स्वचालित मौसम केन्द्र पनि स्थापना गर्दै छ । यो स्वचालित मौसम स्टेसन (एडब्ल्यूएस) यस वर्ष करिब ८० ठाउँमा अपग्रेड गरिँदैछ । यो चाहिँ पीभीसीआर परियोजनाअन्तर्गत हो । जापानले पनि २०, २२ ओटा स्टेसन अपग्रेड गरिदिने भएको छ । यसअघि नेपालमा म्यानुअल स्टेसनहरु थिए, जुन मानव संसाधनबाट सञ्चालित हुन्थे ।
स्वचालित मौसम केन्द्रको क्षमता भने राडार सिस्टम जस्तो बलियो हुँदैन । यसले निश्चित क्षेत्रसम्मको मात्र पूर्वानुमान सूचना दिन सक्छ ।