काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले फाइभजीलगायत नयाँ प्रविधिको परीक्षण सम्बन्धी कार्यविधि २०७८’ पारित गरेको २ महिना पुरा भइसकेको छ ।
फ्रिक्वेन्सी प्राप्त गरी प्राधिकरणबाट अनुमति पाएको अवस्थामा पुसदेखि चार शहरमा फाइभजी प्रविधि परिक्षण गर्ने टेलिकमको योजना छ ।
तर कार्यविधि बनेर बाटो खुलेको अवस्थामा समेत फाइभजी परीक्षणको काम अगाडी बढ्न सकेको छैन ।
प्राधिकरणबाट फाइभजीको परीक्षण र सेवा सञ्चालनकालमा प्राप्त हुने फ्रिक्वेन्सी एउटै हुने सुनिश्चित नहुँदा हाल नेपाल टेलिकमले योजना अनुरुप काम अगाडी बढाउन सकिरहेको छैन ।
‘परीक्षणका लागि अहिले हामीलाई जुन फ्रिक्वेन्सी दिइन्छ, त्यसैका आधारमा सोही फ्रिक्वेन्सीलाई मिल्ने उपकरणहरु हामी विदेशबाट ल्याउँछौं । तर पछि सेवा सञ्चालन गर्दा यहीँ फ्रिक्वेन्सी हामीलाई नमिल्न सक्छ त्यस्तो बेला हामीलाई भिन्दै उपकरण चाहिन्छ,’ नेपाल टेलिकमका प्रवत्ता राजेश जोशी भन्छन्,‘परिक्षणकालमा प्रयोग भएको उपकरण त्यसबेला प्रयोगविहिन बन्न सक्छ, नेपालमा विद्युतीय उपकरणलाई आयात गरेपछि फिर्ता गर्न मिल्दैन, यसैले खर्च दोहोरो हुन्छ,’ जोशीले भने,
फाइभजीको लागि टेस्ट र अपरेसनल फ्रिक्वेन्सी एउटै प्रदान गर्न र सोही विषयहरु कार्यविधिमा संसोधन गरी समेट्न टेलिकमको माग रहेको जोशीले बताए । हाल आफूहरुबीच यसै विषयमा छलफल भइरहेको उनले जानकारी दिए ।
तर टेलिकमले भने जसरी टेस्ट र अपरेसन फ्रिक्वेन्सी एउटै बनाउन नमिल्ने प्राधिकरणको फ्रिक्वेन्सी शाखाका प्रमुख निर्देशक अम्बर स्थापित बताउँछन् ।
‘परीक्षण भनेको सधैभरलाई होइन, त्यो त फ्रिक्वेन्सी, उपकरण र प्रविधिको तालमेल र पर्फमेन्स हेर्नलाई हो,’ स्थापित भन्छन्,‘अब हामीले जुन फ्रिक्वेन्सीमा उपकरण ल्यायो त्यहीँ फ्रिक्वेन्सी हामीलाई देउ भन्न त मिल्दैन नी त’
परीक्षणकालिन फ्रिक्वेन्सी उपयुक्त नभएको अवस्थामा सेवा सञ्चालनकालमा फरक फ्रिक्वेन्सी प्रदान गर्नुपर्ने र उपकरण पनि त्यहीँ अनुसार ल्याउन पर्ने उनले बताए । तर फ्रिक्वेन्सीको विषय लिएर टेलिकमले हालसम्म प्राधिकरणमा कुनै औपचारिक सरोकार नउठाएको स्थापितले बताए ।
‘टेलिकमले यस विषयमा त हामीलाई केही भनेको छैन,’ उनले भने, ‘कार्यविधिअनुसार फाइभजी परीक्षण कसरी सञ्चालन गर्ने भनेर हामीले विस्तृत कार्ययोजना माग गरेको हो टेलिकमसँग उसले केही जवाफ दिएन, हामीले फेरी फलोअप गरेको तर उसको जवाफ आएको छैन ।’
टेलिकमले फाइभजी परीक्षणका लागि रुची नै नदिएको लागेर हामीले केही काम अगाडी बढाएका छैनौं । हाल टेलिकम र प्राधिकरण फाइभजी परिक्षण रोक्किनुमा एकअर्कोलाई दोषारोपण गरिरहेका छन् ।
तर उपकरण, स्पेक्ट्रम र सिस्टमको पर्फमेन्स परीक्षण गरेर आएको नतिजापछि मात्र पछि के दिने कस्तो फ्रेमवर्क बनाउने निर्णय हुन्छ । अहिले ट्रायलमा जे गर्यो त्यो परिक्षणकालमा गर्न पाउनुपर्छ भन्ने कुरा नमिल्ने उनले बताए ।