काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ठूलो अंकले गिरावट आउँदा कारोबार रकम भने निकै तल आइपुगेको छ । कुनै बेला २० अर्ब रुपैयाँ हाराहारीमा सेयर कारोबार हुने गरेकोमा साताको अन्तिम दिन बिहीबार साढे ३ अर्ब रुपैयाँमा खुम्चिएको छ ।
कारोबार रकम खुम्चिनुले लगानीकर्ताहरु कम मूल्यमा सेयर बेच्न तयार छैनन् भन्ने देखाउँछ । यसले जुनसुकै बेला बजारलाई सकारात्मक प्रभाव पार्ने संभावनाका रुपमा लिइन्छ । साताको ३ दिन निरन्तर घटेर २०४ अंक तल झरेको बजार सूचक बुधबार भने ५० अंकले बढेको थियो ।
तीव्र रास्साकस्सीबीच बुधबारको कारोबार रकम ५ अर्ब रुपैयाँ माथिनै थियो । तर, बिहीबार ३२.५१ अंकले घटेर नेप्से सूचक २६३३.४२ अंकमा आइपुग्दा कारोबार रकम भने ३ अर्ब ७० करोड रुपैयाँमा सीमित छ ।
घटेको बजारमा पनि नेपाल फाइनान्स, मनकामना स्मार्ट लघुवित्त र मैलुङखोला जलविद्युतमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ । समग्रतामा ३३ कम्पनीहरुको सेयर मूल्य बढेको बजारमा १४७ कम्पनीको सेयर मूल्य ओरालो लागेको छ ।
त्यसमध्ये सबैभन्दा बढी गुडविल फाइनान्सको ६.८६ प्रतिशतले घटेको छ । सबैभन्दा बढी नेपाल बैंकको १२ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।
मौद्रिक नीतिमार्फत सेयर कर्जामा कडाइ, अर्थमन्त्रीका विवादस्पद अभिव्यक्ति, निक्षेपमा बैंकहरुले ब्याजदर बढाएको सूचना, धितोपत्र बोर्डद्धार बैंकका सहायक कम्पनीहरुलाई धितोपत्र दलाल व्यवसायीको अनुमति दिने नेपाल धितोपत्र बोर्डको जनाउ, अत्याधिक सेयर मूल्य घटेपछि बैंक तथा वित्तीय संस्थाद्धारा ऋणीहरुलाई मार्जिन कलको ताकेता र ऋणमा ब्याज बढ्ने सन्देश प्रवाहित भएपछि बजार निरन्तर खस्किएको हो ।
यद्यपि पछिल्लो पटक बजार सूचक २५८० बाट उक्लिएको थियो । तर, एक दिन पनि बजार नटिक्दै ओरालो लाग्यो । आगामी साता भने बजारले सकारात्मक सन्देश दिने संकेत गरेको छ । बिहीबार व्यापार अन्य र म्युचुअल फण्ड समूह सूचीमा भने सुधार देखिएको छ ।
यो पनि हेर्नुहोस
दबाब झेल्दै सेयर बजार उचालियो, टिक्ने सम्भावना अझै कम