काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आगामी ४ वर्षमा विद्युत उत्पादनको पूर्वाधार बनाउन थप ३ खर्ब ६४ अर्ब ७१ करोड रुपैयाँ लगानी गर्ने भएको छ ।
प्राधिकरणले विद्युत उत्पादन, बिजुली उत्पादन गर्न सहायक कम्पनी, प्रसारण लाइन, वितरण प्रणाली र संस्थागत (कर्पोरेट) योजनामा सो रकम लगानी गर्ने भएको हो । प्राधिकरणले बिहीबार सार्वजनिक गरेको लगानी योजनामा सहायक कम्पनीहरुबाट ठूला आयोजना बनाउने लक्ष्य लिएको छ । यस्तै ठूला प्रसारण लाइन बनाउन जोड दिने भएको छ ।
प्राधिकरणले उत्पादन प्रणालीमा २५ अर्ब ५५ करोड, सहायक कम्पनीहरुमा १ खर्ब ९ अर्ब ८६ करोड, प्रसारण लाइन बनाउन १ खर्ब १८ अर्ब १५ करोड, वितरण प्रणालीमा १ खर्ब १६ अर्ब ७ करोड र संस्थागतमा २ अर्ब रुपैयाँ लगानी गर्ने जानकारी दिएको छ । ४ वर्षको अवधिमा प्राधिकरणले सबैभन्दा ठूलो लगानी प्रसारण लाइन निर्माणमा गर्ने लक्ष्य लिएको छ ।
प्राधिकरणले चालू आर्थिक वर्षमा १ खर्ब २ अर्ब, आगामी आर्थिक वर्ष ०७९/०८० मा ८६ अर्ब ६३ करोड, ०८०/०८१ मा ८८ अर्ब ४२ करोड र आर्थिक वर्ष ०८१/०८२ मा ८७ अर्ब ४ करोड रुपैयाँ विद्युत क्षेत्रको पूर्वाधार विकासमा लगानी गर्ने योजना बनाएको कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।
उनले चालू आर्थिक वर्षमा १ हजार मेगावाट बिजुली प्रणालीमा थपिने अनुमान गरिएको बताए । आगामी ३ वर्षमा २ हजार, ४ वर्षमा ५ हजार र १० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने सरकारको योजनामा सघाउ पुर्याउन यो रकम लगानी गर्ने घिसिङले स्पष्टपारे ।
यसैगरी प्राधिकरणले सहायक कम्पनीहरुबाट ६३५ मेगावाटको दूधकोसी जलाशय, १०६१ मेगावाटको माथिल्लो अरुण, चैनपुर सेती, माथिल्लो मोदी, तामाकोसी ५ आँधिखोला, उत्तरगंगा, कुलेखानी पम्पस्टोरेज, रुपा वेगनास पम्पस्टोरेज, जस्ता जलविद्युत आयोजनाका साथै २२० र ४०० केभी क्षमताका प्रसारण लाइन बनाउन यो रकम लगानी गर्ने प्राधिकरणले जनाएको छ ।
चालू आर्थिक वर्षमा विद्युत बिक्रीबाट ९६ अर्ब २८ करोड ९५ करोड रुपैयाँ आम्दानी भई ९२ अर्ब ६४ करोड ६५ लाख खर्च हुने प्रक्षेपण सार्वजनिक गरेको छ ।