काठमाडौं । गाडी किन्नका लागि चाड पर्व सबैभन्दा उपयुक्त समय हो । विभिन्न स्किम, उपहार र अफरले भरिपूर्ण चाड पर्व लक्षित बजारमा औसत समयभन्दा छुट पनि प्रशस्तै पाइन्छ ।
हामी सबै गाडी किनेर घरमा थप खुसियाली भित्र्याउन चाहन्छौं । तर, गाडीको नाम सुन्ने बित्तिकै मोटो रकमको र बजेटको हामीलाई चिन्ता हुन थाल्छ ।
तर, चिन्ता नलिनुहोस्, बजारमा ग्राहकको आर्थिक क्षमताअनुसार विभिन्न सेग्मेन्ट र मूल्य रेन्जमा गाडीहरू उपलब्ध भएका छन् । आज हामी तपाईंहरूलाई नेपालमा उपलब्ध न्यून बजेट सेग्मेन्टमा उपलब्ध तर उत्कृष्ट क्षमता र फिचर भएका उत्कृष्ट पाँच गाडीहरूका बारेमा बताउँदैछौं ।
ह्युण्डाई स्यान्ट्रो
ह्युण्डाई फाइभ सिटर ह्याचब्याग कार हो । यसमा दुई किसिमको फ्युल इन्जिन छ । दुवै १०८६ सीसी पेट्रोल र सीएनजी फ्युल इन्जिन छ जसले क्रमशः २० र १३.४८ किलोमिटर प्रतिघण्टाको माइलेज प्रदान गर्छ । यसको इन्धन ट्यांक क्षमता ३५ लिटर छ । यसमा मेनुअल र अटो दुवै ट्रान्समिसन अप्सन उपलब्ध छ ।
यसले ५५०० आरपीएममा ६८.०५ बीएचपीको म्याक्सिमम पावर र ४५०० आरपीएममा ९९.०४ एनएम टर्क प्रदान गर्छ । यसमा १६० एमएमको राम्रो ग्राउण्ड क्ल्यिरेन्स छ । यसको मूल्य नेपाली बजारमा २६ लाख ५६ हजार रुपैयाँ रहेको छ ।
सुजुकी एसप्रेसो
सुजुकी एसप्रेसो नेपालमा उपलब्ध कम मूल्य रेन्जको राम्रो कार हो । यो गाडी नेपालमा दुई अप्सनमा उपलब्ध छ । पहिलो अप्सनको मूल्य २३ लाख ४९ हजार रुपैयाँ छ भने अर्को एसप्रेसो फुल अप्सन छ जसको मूल्य २६ लाख ५९ हजार रुपैयाँ पर्छ । फुल अप्सन भेरियन्ट अफरोडका लागि एकदमै उत्कृष्ट राम्रो गाडी हो ।
५५ लिटरको सीएनजी फ्युल टाइप भएको यस गाडीले ३१.२ किलोमिटर प्रतिघण्टाको माइलेज प्रदान गर्छ । यो ४ र ५ संख्या सिट अप्सन भएको ह्याचब्याक गाडी हो । मेनुअल ट्रान्समिसनमा उपलब्ध यो गाडीको ग्राउण्ड क्लियरेन्स क्विडकै जतिको १८० एमएम रहेको छ ।
मारुती सुजुकी वागेन आर
वागेन आर न्यून बजेट सेग्मेन्टको ह्याचब्याग गाडी हो । फिचरको दृष्टिले एकदमै राम्रो कम बजेटको यस गाडीको मूल्य नेपाली बजारमा २६ लाख ९९ हजार रहेको छ । यसले ५५०० आरपीएममा ५० किलोवाट पावर दिन्छ भने ३५०० आरपीएममा ९० एनएम टर्क प्रदान गर्छ ।
३२ लिटरको इन्धन ट्यांक रहेको यस गाडीको ११९७ सीसी पेट्रोल इन्जिनले २०.५२ किलोमिटर माइलेज प्रदान गर्छ । यस्तै ९८८ सीसीको सीएनजी मेनुअलले ३२.५२ किलोमिटर प्रतिलिटर माइलेज दिन्छ ।
ड्याटसन रेडी गो २०२०
निसानको कम मूल्यका गाडीमध्ये उत्कृष्ट पाँच सिटको ह्याचब्याग हो ड्याटसन रेडी गो २०२० । युवाहरूलाई लक्षित गरी निर्माण गरिएको ड्याटसन रेडी गो २०२० को डिजाइन एकदमै आकर्षक छ । यसमा १८७ एमएमको ग्राउण्ड क्लियरेन्स छ । ११९८ सीसी क्षमताको इन्जिन रहेको यस गाडीमा ३५ लिटरको पेट्रोल फ्युल ट्यांक छ जसले १९.५९ किलोमिटर प्रतिलिटरको माइलेज दिन्छ ।
यसले ६००० आरपीएममा अधिकतम ७६.४३ बीएचपी पावर र ४४०० आरपीएममा १०४ एनएम टर्क दिन्छ । यसको मूल्य २४ लाख ४९ हजार रुपैयाँ रहेको छ ।
ह्युण्डाई औरा
औरा ह्युण्डाईको न्यून मूल्यको एकदमै राम्रो पाँच सिट भएको सेडान गाडी हो । यो गाडी डिजन, पेट्रोल र सीएनजी गरी तीनवटा इन्जिन भेरियन्टमा उपलब्ध छ ।
यो अटो र मेनुअल दुवै ट्रान्समिसनमा उपलब्ध छ । ३७ लिटर फ्युल ट्यांक क्षमता भएको यस गाडीले २५ किलोमिटर प्रतिलिटरको माइलेज प्रदान गर्छ । यसमा १६५ एमएमको ग्राउण्ड क्ल्यिरेन्स छ । यसले ४००० आरपीएममा ७३.९७ बीएचपी पावर र २२५० आरपीएममा १९०.२ एनएम टर्क प्रदान गर्छ ।
यसको मूल्य नेपाली बजारमा ३३ लाख ९६ हजार रुपैयाँ रहेको छ । चिप अभावका कारण हाल नेपाली बजारमा नयाँ तथा पुराना मोडलका गाडीहरूको आपूर्ति हुन नसकेको अवस्थामा यी गाडीहरू भने हाल स्टकमै रहेको विक्रेताहरूले बताएका छन् ।