काठमाडौं । भारतीय निजी रेलले नेपालमा सेवा सुरु गरेपछि सरकारी स्वामित्वको कंकोरले प्रतिकन्टेनर २० हजार रुपैयाँ भाडा घटाउँदा नेपालको ३ अर्ब रुपैयाँ जोगिएको छ ।
वाणिज्य तथा आपूर्ति मन्त्रालय र भारतबीच निजी रेलले नेपालमा पनि सामान ढुवानी गर्न सक्ने सम्झौतापछि निजी रेलले सेवा सुरु गर्ने बित्तिकै कंकोरले भारी मात्रामा भाडा कटौती गर्दा नेपालको ३ अर्ब रुपैयाँ जोगिने भएको वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
नेपालमा वार्षिक रुपमा १ लाख कन्टेनर आउँछन् । एउटा कन्टेनरमा कंकोरले २० हजार रुपैयाँ भाडा घटाएको छ । २० हजार रुपैयाँ भाडा घटाउँदा नेपालबाट झण्डै ३ अर्ब रुपैयाँ भारत जान रोकिएको हो । एकातिर भाडामै भारी कटौती गरेको छ भने अर्कोतिर कंकोरले दिने सेवाको गुणस्तर पनि सुध्रिएको छ । जसले गर्दा नेपाली व्यवसायीको लागत कम पर्ने देखिएको छ ।
मन्त्रालयका अनुसार निजी रेलले तीब्र गतिमा सामान ओसार्न थालेपछि अझै भाडा घट्न सक्छ । यसअघिसम्म रेल सेवामा एकाधिकार गर्दै आएको कंकोरले निजी रेललाई चुनौती नै दिएर भाडादर घटाएको हो ।
हिन्द टर्मिनलले नेपालमा सेवा सुचारु गरेपछि कंकोरको एकाधिकार तोडिएको छ भने भाडामा समेत नेपाली व्यवसायीलाई ठूलो राहत दिएको छ । नेपालमा प्रिन्टाइनले पनि रेलमार्फत सामान ढुवानी गर्न खोजिरहेको छ । कंकोरले निजी क्षेत्रका रेललाई चुनौती दिएर भाडा घटाएको हो ।
कंकोर र निजी रेलवे सेवा प्रदायकहरूबीच तीब्र प्रतिस्पर्धा हुँदा अझै भाडादर घट्ने सम्भावना छ । त्यसो हुँदा नेपाललाई ठूलो आर्थिक लाभ हुन्छ । ‘भरखरै प्रतिस्पर्धा सुरु भएको छ । प्रतिस्पर्धा सुरु हुने बित्तिकैको पहिलो टलको रिजल्ट हो’ मन्त्रालयका एक अधिकारीले भने ।
सिपिङ कम्पनीले यस अघिसम्म सीआईएफ कोलाकाताको कोटेसन दिन्थ्यो । अहिले सिपिङ कम्पनीले सीआईएफ वीरगन्जको कोटेसन दिन्छ । त्यसो हुने बित्तिकै आउने समय छोटिहाल्छ ।
कंकोरमा निजी क्षेत्रको पनि झण्डै ६५ प्रतिशतभन्दा बढी सेयर छ । तर, निजी रेलको भन्दा कंकोरको बजार हिस्सा ठूलो छ । कंकोरसँग निजी रेलको तुलनामा धेरै रेकहरु छन् । योसँग २०० भन्दा बढी रेक छ । ‘कंकोरले निजी रेललाई आफ्नो चुनौती रुपमा लिएको छ र सेवालाई थप प्रभावकारी बनाउने सम्भावना पनि उत्तिकै रहेको वाणिज्य मन्त्रालयका पूर्वसहसचिव रविशंकर सैजु बताउँछन् ।
कंकोरले यसपटकबाट जीएसटी पनि नगलाउने निर्णयलाई कार्यान्वयन गरेको छ । वाणिज्य मन्त्रालय र भारतबीच भएको सहमतिमा पहिल्यै जीएसटी नलगाउने सहमति भइसकेको थियो । तर, कंकोरले कार्यान्वयन गरेको थिएन । तर, अहिले निजी रेल प्रतिस्पर्धामा उत्रिएपछि जीएसटी पनि नलगाउने निर्णय गरेको उनको भनाइ छ ।
कंकोरको भारतमा रजगज छ । यो सँग प्रतिस्पर्धामा आउने कम्पनीहरूको पनि सेयर हिस्सा कम छैन । त्यसो हुँदा नेपाललाई ठूलो आर्थिक लाभ हुने सरकारी अधिकारीहरू बताउँछन् ।
याे पनि हेर्नुहाेस्
प्राइभेट रेलको प्रवेशपछि कंकोरले घटायो ३० प्रतिशत भाडा, जीएसटी पनि खारेज