काठमाडौं । बिदाको दिन घुम्न निस्कनेहरूको लहर नै चलेको छ । शुक्रबार, शनिबार होस् वा कुनै दिन परेको सार्वजनिक बिदामा किन नहोस् । अर्थात बिदाको दिन आयो कि घुम्न निस्किहाल्छन् ।
महानचाड दसैं–तिहार र छठ पर्वहरू नजिकिरहेको बेला घुम्न जाने योजनाहरूसमेत बनाउन थालेका छन् । कोभिड–१९ को संक्रमण फैलिएपछि अहिले ‘आउटब्राण्ड टुरिजममा’ जानेहरूको संख्या घटिरहेको बेला आन्तरिक पर्यटकहरूको चहलपहल भने धेरै हुन थालेको छ ।
नेपालभित्रै घुम्न जाने सोचमा हुनुहुन्छ भने यी हुन् ७ प्रदेशका ७ गन्तव्य
प्रदेश १
मुन्धुम ट्रेल
भोजपुरको मुन्धुम ट्रेललाई पूर्वी पहाडको ‘भर्जिन’ गन्तव्यका रुपमा लिन सकिन्छ । मुन्दुम ट्रेल पूर्वी पहाडी जिल्ला भोजपुर, खोटाङ, सोलुखुम्बु तथा संखुवासभा सीमाक्षेत्रमा पर्छ ।
भोजपुर र खोटाङको सिमानामा पर्ने ३ हजार १ सय ६५ मिटरको टेम्के डाँडा क्षेत्रबाट सुरु हुने पदयात्रा ३ हजार ३ सय ५० मिटरको मैयुङ डाँडा, ४ हजार १ सय ५५ मिटरको सिलिचुङडाँडा हुँदै ३ हजार ७ सय ५० मिटरको साल्पापोखरी १० देखि १४ दिनसम्ममा पुग्न सकिन्छ ।
पदमार्गमा अधिकांश किराँत समुदायका बस्ती रहेको तथा उनीहरूको मौखिक ग्रन्थ ‘मुन्धुम’मा उल्लिखित किराँती जीवनशैली, संस्कार र संस्कृतिबारे वर्णन गरिने भएकाले पदमार्गको नाम मुन्धुम रहन गएको हो । यो पदमार्गबाट सगरमाथा, कञ्चनजंङ्घा, मकालु, ल्होत्सेलगायत ८ हजार मिटर अग्ला ६ वटा हिमाल देख्न सकिन्छ । ३३ वटा हिमशृंखला र तराईको भूभाग अवलोकन गर्न यो ट्रेल आकर्षक गन्तव्यका रुपमा लिइन्छ ।
प्रदेश २
जानकी मन्दिर
प्रदेश २ को अस्थायी राजधानी जनकपुर क्षेत्रमा रहेको जानकी मन्दिर हिन्दु धर्मावलम्बीहरूको पवित्र धर्मस्थल एवं आस्थाको केन्द्र हो । जानकी अर्थात सीताको मन्दिर भारत मध्यप्रदेशस्थित टिकमगढकी राजकुमारी वृषभानुले ९ लाख चाँदीका असर्फी खर्चेर निर्माण गराएकाले यसलाई नौलखा मन्दिर पनि भन्ने गरिन्छ ।
सन् १९११ मा मुगल शैलीमा निर्माण सम्पन्न भएको जानकी मन्दिर नेपालको ख्यातिप्राप्त कलाको उत्कृष्ट नमुना हो । रामनवमीको अवसरमा हरेक चैतमा रामनवमी, वैशाखमा जानकी नवमी, मंसिरमा रामजानकी विवाह महोत्सव, असोज पूर्णिमामा कोजाग्रत, साउन–भदौमा झुला महोत्सव र १५ दिने मिथिला माध्यमिकी परिक्रमा धुमधामका साथ मनाइन्छ ।
जानकी मन्दिरभित्र त्रेताकालीन आभास झल्किने संग्रहालय पनि छ । मन्दिर परिसरमा रामसीता, राजा जनकलगायतका पहिरनको नमुना र विभिन्न कलात्मक प्रतिमा छन् ।
त्यस्तै जानकी मन्दिरमा ५६ वर्षदेखि भइरहेको अखण्ड रामसीता भजन पनि अवलोकन गर्न सकिन्छ । जानकी मन्दिर अवलोकन एवं घुमघामका लागि यहाँ दैनिक हजारौं श्रद्धालु भक्तजन एवं आन्तरिक तथा बाह्य पर्यटक आउँछन् । त्यहाँ पाँच दिनको यात्रा गर्न सकिन्छ ।
बागमती प्रदेश
रुबी भ्याली–गंगाजमुना झरना
धादिङ जिल्लाको उत्तरी क्षेत्रमा पर्ने रुबी भ्याली हिमालको फेदीबाट हेर्दा देखिने हरियाली रुबीको खानी भएको पर्यटकीय गन्तव्य हो । त्यहाँ विभिन्न थरीका बहुमूल्य रुबीहरू रातो, हरियो, नीलो र सेतो ढुंगा पाइन्छ । त्यस क्षेत्रको प्राकृतिक सुन्दरता र त्यहाँ पाइने अनेकन जैविक विविधताका कारण धेरैको रोजाइमा रुबी भ्याली पर्ने गरेको छ ।
तामाङ र गुरुङ संस्कृतिको नजिकबाट अनुभव गर्न पाइनुका साथै खेतीबालीको सुन्दर दृश्य हेर्न सकिन्छ । २४ दिनको यात्रामा अन्नपूर्ण, लाङटाङ, गणेश हिमाल र मनास्लु क्षेत्रका हिमालहरूको सुन्दर दृश्य अवलोकन गर्न पाइन्छ । त्यहाँबाट तीनसुरे लेक र पहाड पुग्न सकिन्छ । जहाँबाट गणेश हिमाल, लाङटाङ, शृङ्गी हिमाल, मनास्लु रेन्ज, लमजुङ हिमाल, अन्नपूर्ण, धौलागिरि र धेरै हिमशृंखलाहरूको दृश्यावलोकन गर्न सकिन्छ ।
गण्डकी प्रदेश
मनास्लु सर्किट, चुम भ्याली
नेपालमा धेरै रमाइला र मनोरम दृश्यावलोकन गर्दै पदयात्रा गर्न सकिने विश्वमै चर्चित पदमार्गका रुपमा चिनिने ‘मनास्लु सर्किटः चुम भ्याली’ गोरखामा पर्छ । गण्डकी प्रदेशमा अवस्थित मनास्लु पदमार्गलाई अन्नपूर्ण सर्किटको वैकल्पिक पदमार्गका रुपमा पनि लिने गरिन्छ ।
अन्नपूर्ण सर्किटमा सडकका कारण बढी भीड हुने हुनाले उस्तै उचाइ भएको यो पदमार्ग केही समययता रुचाइने पदमार्ग बन्दै गएको छ । शान्त एवं रमणीय पदयात्रा गर्न रुचाउनेका लागि मनास्लु सर्किट पहिलो रोजाइ बन्दै गएको छ ।
मनास्लु लार्केला पास हुँदै ५ हजार १ सय ६ मिटर उचाइको पदमार्ग १० देखि १५ दिनसम्म लगाएर घुम्न सकिन्छ । यो निषेधित क्षेत्र (रेस्ट्रिक्टेड एरिया) भएकाले कम्पनीमा दर्ता भएका एक जना कामदार र एक जना गाइड साथमा अनिवार्य लैजानुपर्छ । विदेशीहरूलाई पदयात्रा गर्दा १० दिनको १ सय अमेरिकी डलर परमिट शुल्क लाग्ने गर्छ । मनास्लु सर्किटमै पर्ने अर्काे पर्यटकीय गन्तव्य हो, चुम भ्याली ।
गोरखाको चुमनुब्री गाउँपालिका ६ को चुम्चेत र ७ को छेकम्पारमा चुम उपत्यका फैलिएको छ । त्यहाँ ७ सय वर्षभन्दा पुराना प्राचीन गुम्बा छन् । यहाँको शान्तिप्रिय संस्कार र संस्कृति, बौद्ध धर्मसम्बन्धी प्राचीन मानी, कानी, छ्योर्तेन, चैत्य, स्मारक र तिब्बती संस्कृतिको अलग्गै महङ्खव छ ।
लुम्बिनी प्रदेश
थवाङ–जलजला
रोल्पाको सदरमुकाम लिबाङबाट जलजला करिब २४ कोश उत्तरमा छ । प्रत्येक वर्ष तीन पटक नियमित बराह पूजा हुने उक्त क्षेत्र भौगोलिक रुपमा मनमोहक र रमणीय छ । जिल्लाकै अग्लो स्थानको जलजला थबाङ गाउँपालिकामा पर्छ । साविक थबाङ, जेलबाङ, धबाङ, मिरुल र उवा गाविसको केन्द्रमा रहेको त्यहाँ केही महिना हिउँ पर्छ । हिउँदमा भेडाबाख्रा चर्छन् ।
भौगोलिक रुपमा सुन्दर भएकाले सबैलाई लोभ्याउँछ । सशस्त्र द्वन्द्वका समयमा यो क्षेत्रलाई माओवादीले सुरक्षित तालिम केन्द्रका रुपमा प्रयोग गरेका थिए । समुन्द्री सतहबाट ३१९३ मिटर उचाइमा रहेको यस क्षेत्रमा वैशाख, जेठ र साउने पूर्णिमाका दिन विशेष मेला र पूजाआजा हुने गरेको छ ।
सिमखेत प्रकारको जमिनमा पाइला राख्दा थलथल गर्छ । श्रद्धालुले जमिनमा हिँड्दा कपासमा हिँडे जस्तो अनुभव गर्छन् । १४ दिनको यात्रामा जलजलामा धूपी, बाँज, सेतो गुराँस, लालीगुराँस, भोजपत्र, लेकाली सल्लालगायत वनस्पति र जडीबुटीको अवलोकन गर्न सक्छन् । त्यसैगरी डाँफे, मुनाल, कालिज, बँदेल, बाघ, भालु, घोरल, मृग, रातेलगायत जनावर पनि देख्न सकिन्छ । जलजलाबाट धौलागिरि र सिस्ने हिमशृंखला नजिकैबाट देख्न सकिन्छ ।
कर्णाली प्रदेश
लिमी भ्याली
हुम्ला जिल्लामा पर्ने लिमी भ्याली पर्यटकीय दृष्टिकोणले महङ्खवपूर्ण मानिन्छ । सदरमुकाम सिमकोटबाट ४ दिनको पैदल यात्रापछि लिमी भ्यालीमा पुग्न सकिन्छ । समुद्री सतहबाट ३ हजार ६ सय ६० मिटरको उचाइमा रहेको लिमी तिब्बती जीवनशैलीका कारण पनि पर्यटकको रोजाइमा पर्ने गरेको छ ।
तीनवटा गाउँ हल्जी, तिल र जाँग मिलेर यो उपत्यका बनेको छ । हल्जीमा ८२ घर छन् भने तिलमा ५२ र जाँगमा ६० घरपरिवार बस्छन् । एउटा गाउँबाट अर्को गाउँ पुग्न करिब तीन घण्टा लाग्छ । यसमध्ये हाल्जी गाउँको प्रमुख आकर्षण हो, हल्जी गुम्बा ।
जुन हजार वर्षभन्दा पनि पुरानो मानिन्छ । लिमी भ्यालीका बासिन्दा घरैपिच्छे एक जनाका दरले रोजगारीका लागि चीनको ताक्लाकोट जाने गर्छन् । यस भ्यालीका बासिन्दाको मुख्य बाली जौ, गुलियो फापर र आलु हो । हल्जीको महङ्खवपूर्ण बाली भने ‘उवा’ हो ।
सिमकोटबाट लिमी जाँदा दुईवटा पास छन्, न्यालुला र नाराला । न्यालुला ५ हजार मिटरको पास हो भने नाराला हिल्सा भएर लिमी जानेले चढ्नुपर्छ । न्यालुला पुग्नुभन्दा पहिले सेलिमा सो नामको एउटा सुन्दर ताल भेटिन्छ । यो सबैको थकाइ मेटाउने बिसौनी जस्तै हो । पासमा पुग्न करिब चार घण्टा लाग्छ । मौसम सफा भएको दिन न्यालुलाबाट कैलाश पर्वतसमेत देख्न सकिन्छ । लिमी भ्याली १० देखि १४ दिन लगाएर घुम्न सकिन्छ ।
सुदूरपश्चिम प्रदेश
खप्तड राष्ट्रिय निकुञ्ज
सुदूरपश्चिम प्रदेशका ४ पहाडी जिल्ला बझाङ, बाजुरा, डोटी र अछाम जिल्लाको संगमस्थलका रुपमा रहेको खप्तड राष्ट्रिय निकुञ्ज २ सय २५ वर्गकिलोमिटरमा फैलिएको छ । समुद्री सतहबाट २ हजार ४ सयदेखि ३ हजार ७ सय मिटर उचाइमा फैलिएको खप्तड क्षेत्रको बीचमा रहेको निकुञ्ज विश्वकै राम्रो क्षेत्रमध्ये गनिन्छ । खप्तडको त्रिवेणीमा रहेको त्रिवेणी मन्दिर र त्यसवरपर २२ वटा पाटन छन् ।
खप्तड बाबाको कुटी त्रिवेणी नदी, खापर दह, शिव मन्दिर, सहस्रलिङ्ग, गणेश मन्दिर, नागढुङ्गा, केदारढुङ्गा जस्ता धार्मिक स्थल निकै प्रख्यात छन् । सदियौंदेखि खप्तडमा लाग्ने विविध सांस्कृतिक मेलामध्ये गंगा दसहरामा हजारौं तीर्थयात्री भेला हुन्छन् । त्रिवेणी नदीमा स्नान र सुदूरपश्चिमकै प्रसिद्ध हुड्के नाच त्यहाँको प्रमुख आकर्षण हो ।
सुदूरपश्चिमको सबैभन्दा प्रसिद्ध गन्तव्यस्थल खप्तड घुम्नका लागि जेठ, असारदेखि मंसिरसम्मको समय उपयुक्त मानिन्छ । यहाँ २५ मैदान मात्र छैनन्, वरिपरि ५३ वटा थुम्का छन्, जसलाई स्थानीय भाषामा झोती भनिन्छ । किंवदन्तीअनुसार पाँच पाण्डवमध्येका एकभाइ भीमले हलो जोत्दा फालिले फ्याँकेको माटोबाट यी थुम्का बनेका हुन् ।
खप्तड पुग्ने धेरै बाटो भए पनि डोटीको सिलगढीबाट जाने बाटो धेरै चल्तीमा छ । सिलगढी पुग्न पूर्व–पश्चिम राजमार्गको अत्तरिया, कैलालीबाट नौ घण्टाको बस यात्रा गर्नुपर्छ वा नेपालगञ्जबाट हवाई यात्रा गरेर डोटी उत्रिन सकिन्छ । निकै अप्ठ्यारो गन्तव्यका रुपमा परिचित खप्तड तपस्याका लागि चर्चित क्षेत्र हो । यस क्षेत्रलाई ७ देखि १२ दिनसम्म अवलोकन गर्न सकिन्छ ।