विराटनगर । नेपालीहरुको महान पर्व दसैं नजिकिदै छ । चाडपर्वको समयमा विराटनगर बजार सुनसान छ । यो समस्या आजको मात्र हैन । २० औं वर्षदेखि यस्तै भईरहेको छ ।
चाडपर्व नजिकिएसँगै सीमापारी जोगवनीमा भिडभाड हुन्छ । रानी नाका बन्द नै भएको अवस्थामा पनि नेपाली उपभोक्ताहरु भारतसँगको खुल्ला सिमानाका कारण सहायक नाकाबाट पनि जोगवनी जाने गरेका थिए । नाका बन्द हुँदा विराटनगर तथा सीमा नजिकका व्यापार केही हदसम्म हुन्थ्यो । तर नाका खुलेपछि पनि व्यापार हुँदैन ।
पछिल्लो समयमा जिल्ला प्रशासन, प्रहरीलगायत सरोकारवालाहरुसँग व्यावसायिक संस्थाहरुले छलफल गरिरहेका छन् । तर, अवस्था उस्तै छ । वर्षौंसम्म मुद्धा बनाई रहँदा उपभोक्ताको समस्या पनि बुझ्नुपर्ने मोरङ व्यापार संघका वरिष्ठ उपाध्यक्ष नविन रिजालले बताए । क्यापिटल नेपालसँग कुरा गर्दै रिजालले राज्यको नीतिलाई पनि निहालेर हेर्नुपर्ने तर्क गरे ।
‘हाम्रो दैनिक जीवनमा आवश्यक पर्ने ८०/९० वटा बस्तु छन्, त्यो लिन उपभोक्ता लोभिएर सिमापारी बजार पुग्छन्’, उनले भने, ‘यी बस्तुको भन्सारदर धेरै छ, त्यसले गर्दा त्यही सामान सिमापारी बजारमा सस्तो हुन्छ । तर, विराटनगरमा महंगो ।’ केही पैसा बचाउन अधिकाँश उपभोक्ता सिमापारी जाने गरेको उनको भनाई छ ।
सरकारले नीति बनाएर साडी लगायतका जुन जोगवनीमा सस्तो नेपालमा महंगो पर्ने सामान छन्, त्यसको भन्सारदर घटायो भने उपभोक्ताले आफ्नै ठाउँमा सामान किन्ने उद्योगी रिजालको भनाई छ ।
‘चोरी तस्करी गर्नेले पनि आफ्नो पेट भर्नका लागि ल्याएका हुन’, उनले भने, ‘उनीहरुको लागि पनि रोजगारीको सिर्जना गर्न सक्यो भने सिमापारी बजार जा भन्दा पनि उपभोक्ता जादैनन् ।’ मुद्धा उठान गर्न भन्दा पहिला समस्या पहिलाउने र त्यस अनुसारको नीति बनाउने हो भने उपभोक्तालाई सजिलो र व्यवसायीलाई पनि व्यवसाय डुब्ला भन्ने चिन्ता नहुने उनको भनाई छ । अहिलेको अवस्था रहिरहने हो भने व्यावसाय धरापमा भएको रिजालले बताए ।
सिमापारी बजारमा तौलदेखि सबै कुरामा उपभोक्ता ठगिएको विराट व्यापार संघका अध्यक्ष सुजन थापा बताउछन् । ‘वोर्डरमा सामान तौल गरेर देखाईदिँदा पनि उपभोक्ता पारि जान छाडेका छैनन्’ उनले भने, ‘सरकारले ल्याएको सामानको मूल्यअनुसार भन्सार लिने र हाम्रोमा महंगो भएका सामान भन्सार भन्सारदर बढी भएर नै महंगो भएका हुन, त्यसकारण भन्सारदर घटाउनु पर्यो ।’ ‘यहाँ व्यापारीलाई भन्सार तिनुपर्छ, कर तिर्नुपर्छ, त्यसकारण सामान केही महंगो हुन्छ ।
भन्सार नतिरी ल्याउँनेलाई जोगवनीमा सस्तो हुन्छ । सरकारले सबैलाई फाईदा हुने गरी थोरै नीति परिवर्तन गर्ने हो भने हामीले सँधै यो मुद्धा उठाईरहनु पर्दैन’, उनले भने ।
विराटनगरमा अहिले धेरै व्यवसायहरु पलायन भएको थापाले बताए । कोरोनाले थला परेको व्यवसाय चाडपर्वले पनि उकास्न नसकेपछि व्यवसायी सटर बन्द गरेर बस्नुपरेको अवस्था सिर्जना भएको उनको भनाई छ । सीमापार गएर नेपाली साबुनहरु लगायत धेरै नेपाली उत्पादन नै बोकेर आउने गरेकाले उपभोक्ता आफै ठगिँदा पनि उनीहरु सचेत हुन नसकेको अध्यक्ष थापाले बताए ।
साडी सस्तो लिनका लागि जोगवनी पुग्दा अरु हरेक कुरामा नेपाली उपभोक्ता ठगिरहेको उनको भनाई छ । यो मुद्धामा सरकार गम्भिर नभएसम्म नहुने थापाले बताए ।