काठमाडौं । साताको तीन दिन लगातार उच्च अंकले घटेको सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबार भने बढेको छ । तीन दिनमा २०४ अंकले ओरालो झरेको नेप्से सूचक बुधबार पनि तीब्र उतार चढावकाबीच उचालिएको हो ।
मंगलबार २६१५ मा रोकिएको सूचक बुधबार सेयर बजार खुलेसँगै बढ्ने संकेत गरेको थियो । १५ मिनेटमा २६४६ सम्म चढेको थियो । तर, लगत्तै बजार सिधा झर्यो र आधा घण्टामा २५७९ मा पुगेर फेरि उक्लिने संकेत गर्यो ।
त्यसपछि भने कम घट्ने र बढी बढ्ने गर्दै २ः१५ मा बजार सूचक २६६० सम्म पुग्यो । बजार त्यतिमै रोकिएन । फेरि घट्ने र बढ्नेक्रम अन्त्यसम्म रहिरह्यो र अन्तिम समयमा ५०.५८ अंकले बढेर २६६५.९४ बिन्दूमा रोकिएको छ ।
खासगरी, केन्द्रीय बैंकबाट जारी मौद्रिक नीति, अर्थमन्त्रीको विवादास्पद अभिव्यक्ति, ब्याजदर वृद्धिको रौनक र सामाजिक सञ्जालहरुमा लगानीकर्ताको अनेकखाले ब्याख्याहरुका बीच बजार पछिल्लो डेढ महिना यताको न्यून बिन्दूमा झरेको हो ।
अघिल्लो पटक २६८६ सम्म झरेर उक्लिएको बजार तीन दिनमै २८२० सम्म चढेको थियो । २६८६ को टेको लिएर बढे पनि लगानीकर्ताको दबाब, धितोपत्र दलाल व्यवसायी (ब्रोकर)हरुको सांकेतिक विरोध र ठूला लगानीकर्ता तथा विश्लेषकहरुको मनोमौजी ब्याख्याका कारण बजार फेरि ओरालो लाग्यो र बुधबार २५७९ मा टेको पाएर उकालिएको छ ।
तर, तीब्र दबाबमा रहेका लगानीकर्तामा बजार घट्छ भन्ने मनोविज्ञान अझै कायम रहेकाले वृद्धि फेरि रोकिन सक्छ । पछिल्लो समय धितोपत्र बोर्डको नेतृत्व नरहेका बेला पनि बैंकहरुका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिने प्रक्रिया धेरै अघि बढेको जनाउ कर्मचारीहरुले गरेपछि ब्रोकरहरु केही रुष्ट छन् । त्यसको असर सोमबार र मंगलबारको कारोबारमा देखिएको थियो ।
तर, बुधबार बजारमा एकखालको सकारात्मक सुधार आएको छ । बजार बढ्दा लगानीकर्ताहरुमा फेरि बजार घट्ने आंशकाले घाटा कम खाने मौका खोज्दा बिक्री दबाब हुने र यसले मूल्य घटाउन थप सहयोग गर्नेछ ।
सूचीकृत कम्पनीहरुले लाभांश घोषणा गरिरहँदा र उनीहरुको लाभांश वितरणको क्षमता (डिभिडेन्ट एल्ड) ३ प्रतिशतभन्दा बढी भएका कम्पनीहरुको पनि सेयर मूल्यमा गिरावट देखिएको छ । तीन प्रतिशत लाभांश क्षमता सेयर बजारमा हुनुलाई राम्रो मानिन्छ ।
यस्तो स्थितिमा पनि सेयर मूल्यमा निरन्तर गिरावट आउनु धेरैका लागि आश्चर्यजनक भएको छ । लगानीकर्ताले पर्खन सके र तत्काल मूल्य अभिवृद्धिको बाटो नहेरे बजार उकालो चढ्ने सम्भावना हुन्छ । तर, लगानीकर्तामा त्यो धैर्यता भने देखिएको छैन ।
बुधबारको कारोबारमा पछिल्लो चरणमा उच्च कारोबार देखिएको छ । यद्यपि, यसदिन ५ अर्ब २ करोड ८५ लाख रुपैयाँ बराबरको मात्रै सेयर किनबेच भएको छ । बुधबारको कारोबार रकम यो साताकै सबैभन्दा कम हो । यसले बजार सुधार हुने संभावनालाई इंकित गरेको छ ।