काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले सहायक संस्थामार्फत निर्माण थालेको १०२ मेगावाटको मध्य भोटेकोसी जलविद्युत आयोजना एक वर्षपछि धकेलिएको छ ।
विकासकर्ता मध्य भोटेकोसी जलविद्युत कम्पनी लिमिटेडले विद्युत उत्पादन सुरु गर्नुपर्ने मिति २०७८ मंसिर १४ गते कायम गरेको थियो । कोरोना महामारीलगायत विभिन्न कारणले गर्दा काममा अवरोध आएकाले आयोजना २०७९ मंसिरभित्र सम्पन्न हुने कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामगोपाल सिवाकोटीले बताए ।
आयोजनाको ७५ प्रतिशत काम सकिएको छ । बाँकी २५ प्रतिशत १ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको सिवाकोटीले जानकारी दिए । मध्य भोटेकोसीको निर्माण २०७० माघ २८ बाट प्रारम्भ भएको हो । कम्पनीको प्रक्षेपित वित्तीय विवरणअनुसार निर्माण अवधिको ब्याजसहित आयोजनाको अुनमानित कुल लागत १६ अर्ब ९७ करोड ३२ लाख रुपैयाँ रहेको छ ।
निर्माण अवधिको ब्याजसहित आयोजना बनाउन प्रतिमेगावाट करिब १६ करोड ६४ लाख रुपैयाँ छ । आयोजनाको लागत निर्माण अवधिको ब्याज बाहेक १५ अर्ब ३ करोड २ लाख ९० हजार रुपैयाँ रहेको छ । आयोजनाबाट वार्षिक ५४ करोड २० लाख युनिट बिजुली उत्पादन हुनेछ । प्रतिफल १३.४९ प्रतिशत रहेको छ ।
कर्मचारी सञ्चय कोष, चिलिमे जलविद्युत कम्पनी र मध्य भोटेकोसीबीच ०६८ मंसिर २२ मा त्रिपक्षीय ऋण सम्झौता भएको हो । जसअनुसार सञ्चय कोषले आयोजना निर्माणका लागि ६ अर्ब १४ करोड रुपैयाँ कर्जा लगानीको सम्झौता गरेको थियो । ०७७ साउन १४ गते भएको पूरक ऋण सम्झौताबमोजिम कोषले थप दीर्घकालीन कर्जाबापत २ अर्ब ७४ करोड ६९ लाख ९० हजारसमेत गरी कुल ८ अर्ब ८८ करोड ८६ लाख रुपैयाँ कर्जा लगानी गर्ने भएको छ ।
आयोजना बनाउन सञ्चय कोषले ९.७५ प्रतिशत ब्याजमा ऋण लगानी गरेको छ । कर्जा र सोको ब्याज तथा अन्य दस्तुरसमेत खाम्ने गरी सुरक्षणबापत कम्पनीको नाममा हाल रहेको र पछि सिर्जना हुने आयोजनाको चल अचल सम्पत्ति तथा चिलिमे जलविद्युत कम्पनीको नाममा रहेको रसुवा जिल्लास्थित २२.१ मेगावाट क्षमताको चिलिमे जलविद्युत आयोजना सञ्चय कोषको नाममा दृष्टिबन्धकको लिखत रजिस्ट्रेसन पारित गरिएको छ । कम्पनीको चुक्ता पुँजी ६ अर्ब रुपैयाँ रहेको छ ।
कम्पनीमा हाल चिलिमे जलविद्युत कम्पनी, नेपाल विद्युत प्राधिकरण, सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनी, सिन्धु इन्भेष्टमेन्ट कम्पनी, नेपाल अरनिको हाइड्रोपावर कम्पनी र सिन्धु भोटेकोसी हाइड्रोपावर संस्थापक सेयरधनी रहेका छन् ।
कम्पनीको प्रवन्धपत्र तथा नियमावलीअनुसार जारी पुँजीको ३७ प्रतिशत चिलिमे जलविद्युत, १० प्रतिशत विद्युत प्राधिकरणलाई, १ प्रतिशत सिन्धुपाल्चोक हाइड्रोपावर, १ प्रतिशत सिन्धु इन्भेस्टमेन्ट, १ प्रतिशत नेपाल अरनिको हाइड्रोपावर र १ प्रतिशत आयोजनामा घरजग्गा परी अति प्रभावित मानिएका घरपरिवारबाट गठन भएको कम्पनी सिन्धु भोटेकोसी हाइड्रोपावर लिमिटेडलाई रहेको छ ।
त्यस्तै १ प्रतिशत ऋणदाता संस्था (कर्मचारी सञ्चय कोष) का कर्मचारीहरुलाई, ३.५ प्रतिशत संस्थापक सेयरधनी संस्थाका कर्मचारीहरुलाई, १९.५ प्रतिशत कर्मचारी सञ्चय कोषका संचयकर्ताहरुलाई आव ०७५/०७६ मा निष्कासन गरी ०७५ पुस ४ गते बाँडफाँट कमिटीबाट बाँडफाँड भइसकेको छ ।
साथै आयोजना प्रभावित स्थानीय बासिन्दाहरुलाई १० प्रतिशत र सर्वसाधारणलाई १५ प्रतिशत धितोपत्र निष्कासन तथा बाँडफाँट गर्ने व्यवस्था रहेको छ । असोज २० गतेदेखि सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने कम्पनीले जनाएको छ ।
सिभिल तथा हाइड्रोमेकानिकल कार्य चाइना इन्जिनियरिङ ग्रुप, ग्वाङसी हाइड्रोइलेक्ट्रिसिटी कन्ट्रक्सन ब्युरो, इलेक्ट्रोमेकानिकल कार्य एन्ड्रिज हाइड्रो र प्रसारण लाइन कार्य ऊर्जा एसी जेभीले पाएका छन् । यस्तै निर्माण सुपरिवेक्षण परामर्श सेवा ट्रयाक्टवेल इन्जिनियरिङ जीएमबीएच र नेपालको टोटल म्यानेजमेन्ट सर्भिसले गरिरहेका छन् ।
आयोजनाबाट १०२ मेवा विद्युत उत्पादन गर्न विद्युतगृहमा ३४ मेवाका ३ वटा फ्रान्सिस टर्वाइन र ४० एमभीएका ३ वटा जेनेरेटर जस्ता उपकरणहरुको प्रयोग गरिएको छ ।
आयोजना सिन्धुपाल्कचोक जिल्लाको बाह्रबिसे नगरपालिका ५ र भोटेकोसी गाउँपालिकामा पर्छ । आयोजना नदीको प्रवाहमा आधारित (रन अफ रिभर) हो ।