काठमाडौं । ३१९८ पुगेर निरन्तर ओरालो लागेको सेयर बजार २६०० अंकमा आइपुगेसँगै बैंकबाट लगानीकर्तालाई धमाधम मार्जिन कल आउन सुरु भएको छ ।
भदाै २ गतेकाे उच्च विन्दु ३१९८ बाट करिव झण्डै ६ सय अंकले बजार खसेपछि बैंकले प्रत्यक ऋणीलाई फोन गरेर रकम थप्न भनिरहेका छन् । बैंकले अहिले १२० दिनको गणना गरेको त्यसको ७० प्रतिशतसम्म मार्जिन कर्जा उपलब्ध गराउँछन् ।
कुनै कम्पनीको मूल्य १२०० रुपैयाँ छ भने त्यसको १२० दिनको औसत मूल्य लिएर त्यसको ७० प्रतिशतसम्म सेयर धितो कर्जा दिने नीतिगत व्यवस्था छ । अहिले बजार निरन्तर घटेपछि बैंकले मार्जिन कल भर्न भनिरहेका छन् ।
ऋण लिएको बेलामा तोकेको औसत मूल्यको २० प्रतिशत घटेपछि बैंक तथा वित्तीय संस्थाहरुले मार्जिन कल गर्छन । त्यस्तो बेला ऋण लिनेले कित थप सेयर उपलब्ध गराउनुपर्छ । हैन भने ऋण तिर्नुपर्छ । २० प्रतिशत भन्दा तलै रहँदा मार्जिन कल गरेको स्थितीमा राष्ट्र बैंकमा उजुरी गरे कार्वाही भोग्नु पर्ने अवस्था आउन सक्छ ।
कतिपय लगानीकर्ताले बैंकको फोन आएपछि घाटा खाएरै भए पनि सेयर बेच्न थालेका छन् । बैंकको मार्जिन कल आएपछि अहिलेसम्म जेनतेन टिकेका लगानीकर्ता दबाबमा परेका छन् ।
बैंकमा मार्जिन कल नभरे त्यहाँ ब्याज रेकर्ड होला भन्ने डर, बेचौं भने सबै सेयर नोक्सानमा छ । तर, पनि लगानीकर्ताले बैंकमा आफ्नो ब्याज रेकर्ड बनाउन नचाहँदा बजार थप पेनिक बन्ने सम्भावना छ ।
केन्द्रीय बैंक, नेपाल धितोपत्र बोर्ड, अर्थ मन्त्रालय र ब्रोकर मिलेर अहिले बजार घटाइरहेका छन् । यसमा सबैका आ–आफ्ना स्वार्थ छन् । ब्रोकर र ठूला लगानीकर्तालाई केन्द्रीय बैंकले सेयर धितो कर्जामा (४ र १२ करोड) लगाइएको सीमा हटाउन पनि बजार घटाउनुपर्ने छ । त्यही भएर ब्रोकरले सबै लगानीकर्तालाई कोल्याट्रल (सेयर किन्न दिने अनुमति) निल गराएका छन् ।
यदि कोही लगानीकर्ता यदि सेयर किन्न चाहन्छ भने उसले पहिला कोल्याट्रल जम्मा गर्नुपर्छ । र, लगानीकर्ताले जति कोल्याट्रल जम्मा गरेको त्यति बराबरको मात्रै सेयर किन्न पाउँछ । यसअघि ब्रोकरले कोल्याट्रलको ४ गुणासम्म सेयर किन्न मिल्ने बनाएका थिए । अब त्यो सुविधा छैन । केही महिनाअघिसम्म ब्रोकर सञ्चालकलाई फोन गरेपछि पैसा नै नदिइ पनि कोल्याट्रल भरिदिन्थे । यसले पनि बजारलाई ठूलो असर पारेको छ ।
केन्द्रीय बैंक तत्काल ४ र १२ करोडको सीमा हटाउने पक्षमा छैन । मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा केही हेरफेर हुन सक्छ । केन्द्रीय बैंकले कात्तिकमा मात्रै मौद्रिक नीतिको समीक्षा गर्छ । केही भइहाल्यो भने त्यही बेला मात्रै हुन्छ ।
तर, लगानीकर्ताले सरकार, केन्द्रीय बैंक, धितोपत्र बोर्डमाथि निरन्तर दबाब दिइरहेका छन् । अर्थमन्त्री जनार्दन शर्मा, गभर्नर महाप्रसाद अधिकारीले नियोजित रुपमा बजार घटाएको प्रति ठूला लगानीकर्ता गम्भीर असन्तुष्ट बनेका छन् । यसले सत्ताधारी दललाई चुनावमा गम्भीर अप्ठ्यारो पार्न सक्छ ।
खासगरी अर्थमन्त्री माओवादी केन्द्रको भागमा परेको छ । शर्माप्रति सेयर बजारका लगानीकर्ता असन्तुष्ट बनेका छन् । बजारको मागलाई समयमै समाधान गरिएन भने यसले ठूलो समस्या निम्त्याउने सम्भावना रहेको लगानीकर्ताहरु बताउँछन् ।
केन्द्रीय बैंकले असारभित्र ४ र १२ करोडको सीमाभित्र बैंकहरुलाई ल्याइसक्न निर्देशन दिए पनि बैंकहरुले ऋणीले उपभोग गर्न बाँकी रहेको कर्जा रोकेपछि बजारमा झन असर परेको हो ।
ठूला लगानीकर्ताले बैंकबाट ऋण लिएर सेयर किन्ने गर्थे । कतिपय लगानीकर्ता त एकैदिन ५० करोड रुपैयाँसम्मको सेयर किन्थे । तर, बैंकले जम्मा ४ करोडको सीमा तोकिदिए पछि बजार निरन्तर ओरालोतर्फ धकेलिएको हो ।
केन्द्रीय बैंकले ल्याएको नीतिलाई भित्रभित्रै सबै लगानीकर्ताले विरोध गरेपछि ठूला लगानीकर्ताले उक्त नीतिको विरोध गरेका छैनन् । ठूला लगानीकर्ता बजारका बारेमा टिकाटिप्पणी गर्न चाहँदैनन् ।
उनीहरुले धेरथोर घाटा खाएर पनि सेयर बेचिसकेका छन् । उनीहरु अहिले बजारमा प्रवेश नै गरेका छैनन् । अहिले बजारमा साना लगानीकर्ता मात्रै सक्रिय छन् । सेयर बजारमा ब्रोकरदेखि ठूला लगानीकर्ताले कुनै सेयर किनेका छैनन् । त्यही साना लगानीकर्ताको केही नचलेको हो । यदि केन्द्रीय बैंकले सेयर धितो कर्जाको सीमा हटाएको अवस्थामा मात्रै बजार पुनः चम्किन सक्छ । नत्रभने बजार फर्किने सम्भावना हुँदैन ।
बजार साना लगानीकर्ताले थेग्नै सक्दैनन् । उनीहरुको अधिकतम क्षमता भनेको कम्पनीअनुसार अधिकतम २००० कित्ताभन्दा बढी सेयर किन्न सक्ने तागत हुँदैन । साना लगानीकर्ताले च्याखे थापेर अलिअलि पैसा कमाउने हुन् । बजार चलायमान बनाउने भनेको ठूला लगानीकर्ताले लाखौं कित्ता सेयर उठाएरै हो ।
अर्थमन्त्री जनार्दन शर्मा र केन्द्रीय बैंकका गभर्नर महाप्रसाद अधिकारीले ठूला लगानीकर्तालाई च्याप्न खोज्दा साना लगानीकर्ताले लगानी गरेको दुई/४ हजार रुपैयाँसम्म गुमिसकेको छ ।
मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७० अंकले घटेर २६१५.४० बिन्दूमा आइपुगेको छ । सोमबार मात्रै नेप्से २.६१ प्रतिशतले घटेको हो । सोमबार नेप्से ६१ अंकले घटेको थियो । सोमबारको तुलनामा बजार ७० अंकले घट्दा कारोबार रकममा सामान्य वृद्धि भएको छ ।
यस्तो बेला कारोबार रकम वृद्धि हुनु भनेको लगानीकर्ताले घाटामै सेयर बेचेर बैंकको मार्जिक भरेका हुनसक्छ । सोमबार ५ अर्ब १२ करोड रुपैयाँ कारोबार भएकोमा मंगलबार ५ अर्ब ७४ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।