काठमाडौं । अपार्टमेन्ट, रियल इस्टेट र निर्माण व्यवसायमा रहेका सीई ग्रुप पछिल्लो समयमा जलविद्युतमा आक्रामक भएको छ । ग्रुपले धमाधम जलविद्युत आयोजनाहरुमा लगानी विस्तार गरिरहेको छ ।
आगामी सन् २०३० सम्म १ हजार मेगावाटका आयोजना निर्माणको अवस्थामा पुर्याउने सीई ग्रुपका अध्यक्ष तथा प्रवन्ध निर्देशक विजय राजभण्डारीले बताए । ग्रुपले ऊर्जा डेभलपर्समार्फत जलविद्युत आयोजना बनाइरहेको छ ।
एक दशकको लक्ष्य पुरा गर्नका लागि काम सुरु भइसकेको राजभण्डारीले जानकारी दिए । सीईले शृङखला (क्यास्केड) र करिडोर आयोजना निर्माणमा जोड दिएको उनी बताउछन् । यसले गर्दा निर्माण लागत कम हुनुका साथै उपकरण पनि एउटै भए पुग्नेछ ।
पछिल्लो समयमा ग्रुपले ५३.५ मेगावाटको अपर म्याग्दी र २६.५ को शिवाखोला आयोजना निर्माण गर्न लागेको छ । अपर म्याग्दी आयोजना बनाउन विदेशी बैंकबाट ऋण ल्याउने तयारी गरेको राजभण्डारीले सुनाए । यी दुई आयोजना पछिल्लो चरणमा अघि बढ्न लागेका हुन् ।
उनका अनुसार विदेशी बैंकसँग छलफल भइरहेको छ । निश्कर्षमा पुगिनसकेको उनको भनाई छ । अपर म्याग्दी बनाउन ११ अर्ब रुपैयाँ लाग्ने देखिएको छ ।
माइवेनी ९.५१ मेगावाट भर्खरै सञ्चालनमा आइसकेको छ । अर्को तल्लो जोगमाई ६.२ मेगावाटको आयोजना पनि सञ्चालनमा आइसकेको छ । ग्रुपले ताप्लेजुङमा ४९ मेगावाटको अर्धजलाशय मिडिल मेवा आयोजना बनाइरहेको छ ।
यो आयोजनामा हिमालय बैंकको अगुवाइमा ऋण लगानी भएको छ । शिवाखोला आयोजना मेवा नजिकै रहेकाले निर्माण गर्न सहज हुने भएको छ ।
सीईले निर्माण व्यवसायीको रूपमा ८६ मेगावाटको सोलु–दूधकोसी आयोजनामा काम गरिरहेको छ । यस्तै म्याग्दीमा निर्माणधिन नीलगिरीमा १११ मेगावटको आयोजनामा व्यवसायीको रूपमा काम गरिरहेको छ ।
माइबेनी स्मलिङ पावर कम्पनी, तल्लो जोगमाई एसियन हाइड्रोपावर कम्पनी, मिडिल मेवा,मेवा डेभलपर्स र पालुन आयोजना पालुनखोला हाइड्रोपावर कम्पनीमाफत निर्माण सुरु भएका हुन ।
माइबेनी आयोजना बनाउन १ अर्ब ८५ करोड, तल्लो जोगमाईमा १ अर्ब १६ करोड, मिडिल मेवा ९ अर्ब, पालुनखोलामा झन्डै ४ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । यस्तै दूधकोसी ९ लाई २० अर्ब र तामाकोसी ९ मा साढे ४ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
मिडिल मेवा सन् २०२३ मा सम्पन्न गर्ने लक्ष्य छ । अन्य आयोजनाबारे अध्ययन भइरहेकाले निर्माण सम्पन्न हुने मिति तय भएको छैन । यस्तै सीईले १११ मेगावाटको दूधकोसी, २४.४६ मेगावाटको तामाकोसी ९ जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । यी आयोजनाहरुको विस्तृत इन्जिनियरिङको काम जारी छ ।