काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल क्यानले नेपालको डिजिटल रूपान्तरणमा सघाउ पुर्याउने उद्देश्यले नेपालसहित एसिया–ओसिनिया क्षेत्रका मलेसिया, अस्ट्रेलिया, सिंगापुर, जापान लगायतका विशेषज्ञहरूसित अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
सोल्टी होटलमा आयोजना भएको उक्त कार्यक्रममा नेपाल बाहेकका अन्य मुलुकका विशेषज्ञहरू भर्चुअल माध्यममार्फत उपस्थिति जनाएका थिए ।
‘नलेज एक्स्चेञ्ज अन डिजिटल ट्रान्सफर्मेसन’ विषयक कार्यक्रमको प्रमुख अतिथि तथा वक्ताको रुपमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले कार्यक्रममा, सेन्ट्रल बैंक डिजिटल करेन्सीको संभावनाको बारेमा नेपाल राष्ट्र बैंकले अध्ययन गरिरहेको जानकारी दिए । उनले सूचना प्रविधि तथा सुरक्षाको क्षेत्रमा सहकार्यका निम्ति नेपाल राष्ट्र बैंक सदैब तयार रहेको पनि बताए ।
क्यान महासंघका अध्यक्ष नवराज कुँवरले कार्यक्रमको उदघाटन सत्रमा आफ्नो मन्तव्य राख्दै अन्तर्राष्ट्रियस्तरमा भएका उत्कृष्ट अभ्यासबारे ज्ञान आदान–प्रदान गर्न, यस क्षेत्रमा डिजिटल अर्थतन्त्रको भविष्य निर्धारण गर्न तथा अर्थ–सामाजिक सम्भावनाको रोडम्यापबारे भिजन निर्माण गर्न सघाउनेजस्ता लक्ष्य लिएर कार्यक्रम गरिएको बताए ।
कार्यक्रममा अध्यक्ष कुँवरले अन्तरक्रिया कार्यक्रमले व्यावसायिक संभावनाको विस्तार गर्न र नीतिगत सुधार तथा विकासका लागि सुझाव लिन पनि सघाउने अपेक्षा गरिएको बताए ।
कार्यक्रमको दोस्रो सत्रमा ‘फिन्टेक फर डिजिटल ट्रान्सफर्मेसन इन नेसनल एण्ड इन्टर्नेसनल पर्सपेक्टिभ’ विषयमा अष्ट्रेलियन इन्फर्मेसन इण्डष्ट्री एसोसिएसनका प्रमुख कार्यकारी अधिकृत रोन गौसी, आईएमई पेका प्रमुख कार्यकारी अधिकृत विकास नाहटा तथा अडेरा ग्लोबल प्रालि सिंगापुरका महाप्रबन्धक एवं एआई एण्ड हाई पर्फरमेन्स कम्प्युटिङ च्याप्टर एसजिटेकका मानार्थ सचिव फुति मेङ्गले कार्यपत्र प्रस्तुत गर्दै नेपाल र विश्वको अहिलेको अवस्था तथा त्यसवाट लिन सकिने व्यावसायिक लाभ एवं डिजिटल रुपान्तरणको निम्तो भोलिको तयारीका बारेमा चर्चा गरेका थिए ।
कार्यक्रमको तेस्रो तथा अन्तिम सत्रमा इमर्जिङ टेक्नोलोजिज फर डिजिटल टान्सफर्मेसन विषयमा कार्यपत्र प्रस्तुत गर्दै अमिया कर्पोरेसन जापानकी ग्लोबल सेल्स युनिट– जनसम्पर्क अधिकृत र नेपाल पेमेन्ट सोलुसन्सका चिफ इन्नोभेसन अफिसर एवं पुर्यानी भेन्चर्सका संस्थापक डा. प्रमोद पराजुलीले सूचना प्रविधिले नेतृत्व गरेको हालको औद्योगिक युगमा डिजिटल रुपान्तरणले कसरी प्रविधि, डाटा, प्रक्रिया र संस्थागत परिवर्तनलाई समेटेको छ एवं त्यसबाट नेपालले कसरी फाइदा लिन सक्छ भन्नेबारे चर्चा गरेका थिए ।