काठमाडौं । केन्द्रीय बैंकले सेयर धितो कर्जामा लगाएको सीमा संशोधन नगर्ने भए पछि सेयर बजार वियरिसतर्फ अघि बढेको छ । केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत प्रति बैंक तथा वित्तीय संस्थाबाट ४ करोड र समग्र वित्तीय प्रणालीबाट १२ करोड रुपैयाँ मात्रै सेयर धितो कर्जा लिन पाउने बनाए पछि सेयर बजारमा त्यसको ठूलो असर परेको छ ।
केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत प्रतिव्यक्ति ४ करोड र १२ करोड रुपैयाँ लिन सक्ने व्यवस्था गरेको थियो । तर, पछि निर्देशनमार्फत व्यक्तिलाई परिवारमा खुम्च्याए पछि बजार निरन्तर ओरालो यात्रामा छ ।
केन्द्रीय बैंकको नीतिका कारण ठूला लगानीकर्ताले आफूसँग भएको सेयर बेचेर बैंकलाई पैसा बुझाए । बैंकले पनि एक वर्षका लागि लिएको ऋणमध्ये ४ करोडसम्म खुला गरेर बाँकी लिइएको ऋण फ्रिज गरे पछि त्यसको सिधा असर सेयर बजारमा परेको हो ।
केन्द्रीय बैंकले असारभित्र ४ र १२ करोडको सीमाभित्र बैंकहरुलाई ल्याइसक्न निर्देशन दिए पनि बैंकहरुले ऋणीले उपभोग गर्न बाँकी रहेको कर्जा रोकेपछि बजारमा झन असर परेको हो ।
ठूला लगानीकर्ताले बैंकबाट ऋण लिएर सेयर किन्ने गर्थे । कतिपय लगानीकर्ता त एकैदिन ५० करोड रुपैयाँसम्मको सेयर किन्थे । तर, बैंकले जम्मा ४ करोडको सीमा तोकिदिए पछि बजार निरन्तर ओरालोतर्फ धकेलिएको हो ।
केन्द्रीय बैंकले ल्याएको नीतिलाई भित्रभित्रै सबै लगानीकर्ताले विरोध गरे पछि ठूला लगानीकर्ताले उक्त नीतिको विरोध गरेका छैनन् । ठूला लगानीकर्ता बजारका बारेमा टिक्काटिप्पणी गर्न चाहँदैनन् ।
उनीहरुले धेरथोर लस खाएर पनि सेयर बेचिसकेका छन् । उनीहरु अहिले बजारमा प्रवेश नै गरेका छैनन् । अहिले बजारमा साना लगानीकर्ता मात्रै सक्रिय छन् ।
सेयर बजारमा ब्रोकरदेखि ठूला लगानीकर्ताले कुनै सेयर किनेका छैनन् । त्यही साना लगानीकर्ताको केही नचलेको हो । यदि केन्द्रीय बैंकले सेयर धितो कर्जाको सीमा हटाएको अवस्थामा मात्रै बजार पुन चम्किन सक्छ । नत्रभने बजार फर्किने सम्भावना हुँदैन ।
बजार साना लगानीकर्ताले थेग्नै सक्दैनन् । उनीहरुको अधिकतम क्षमता भनेको कम्पनीअनुसार अधिकतम २००० कित्ता भन्दा बढी सेयर किन्न सक्ने तागत हुँदैन । साना लगानीकर्ताले च्याखे थापेर अलिअलि पैसा कमाउने हुन् । बजार चलायमान बनाउने भनेको ठूला लगानीकर्ताले लाखौ कित्ता सेयर उठाएरै हो ।
अर्थमन्त्री जनार्दशन शर्मा र केन्द्रीय बैंकका गभर्नर महाप्रसाद अधिकारीले ठूला लगानीकर्तालाई च्याप्न खोज्दा साना लगानीकर्ताले लगानी गरेको दुई÷४ हजार रुपैयाँसम्म गुमिसकेको छ ।
३१९८ बिन्दुसम्म बजार पुगेको थियो । त्यो बेला सेयर किन्नेहरुको अवस्था अहिले नाजुक बनिसकेको छ । यो बीचमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५१३ अंक घटेको छ । सोमबार मात्रै सूचक ७३.०५ अंकले घटेर २६८५.४२ बिन्दूमा आइपुगेको छ ।
आइतबार ६१ अंकले बजार घटेको थियो । आइतबारको तुलनामा कारोबार रकम पनि घटेको छ । यसदिन ५ अर्ब १२ करोड रुपैयाँको सेयर किनबेच भएको थियो । आइतबार ६ अर्ब ५० करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो ।
ठूला लगानीकर्ताले साना लगानीकर्ताको मनोबल बढाउने काम गर्छन् । लगानीकर्ताको मनोबल बढ्नु बजारमा लागि सुखद् मानिन्छ । तर, अहिले दैनिक रुपमा लाखौं कित्ता सेयर किन्नेहरु विगत एक महिनादेखि मौन छन् । आफूसँग भएको अधिकांश सेयर बेचेका उनीहरु थप किन्न उत्साही देखिँदैनन् । त्यसैको असर सोमबारको सेयर बजारमा समेत परेको छ ।