म्याग्दी । नेपाल विद्युत् प्राधिकरणद्वारा निर्माणाधीन ४० मेगावाटको राहुघाट जलविद्युत आयोजनाको ३० प्रतिशत मात्र काम सम्पन्न भएको छ । भारतीय निर्यात–आयात (एक्जिम) बैंकको ६ करोड ७० लाख अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा प्राधिकरण र सरकारकोे संयुक्त लगानीमा विसं २०६६ मा सो आयोजना निर्माण सुरु भएको थियो ।
पुरानो ठेकेदार आइभिआरसीयल टाट पल्टिएपछि विसं २०७२ मा उसँगको ठेक्का तोडेर विसं २०७३ मा प्राधिकरणले सहायक कम्पनी रघुगङ्गा हाइड्रो स्थापना गरेर नयाँ प्रक्रियाबाट निर्माण अघि बढाएको थियो । पहिलेको कार्यतालिका र सम्झौताअनुसार राहुघाट विसं २०७० मा निर्माण सकिनुपर्ने थियो ।
यो आयोजना निर्माणका लागि विसं २०७४ मङ्सिरमा छ अर्ब रुपैयाँमा ठेक्का सम्झौता गरेको भारतको सिभिल ठेकेदार जयप्रकाश एशोसियट (जेपी) ले पनि अपेक्षाकृत काम गर्न सकेको छैन । आयोजनाका व्यवस्थापक राज विष्टले हालसम्म ३० प्रतिशत प्रगति भएको बताए । “४५ महिनाको ठेक्का सम्झौताको म्याद सकिन लागेको छ”, उनले भने “ठेकेदारले थप एक वर्ष म्याद थप्न प्रस्ताव गरेको छ ।”
पुरानो ठेकेदारले १० प्रतिशत काम गरेको थियो । हालसम्म पिप्लेमा ६१ मिटर गहिरो सर्चसाफ्ट र ६५४ मिटर लामो चारवटै अडित (मुख्य सुरुङमा पुग्ने पहुँचमार्ग) निर्माण सकिएको छ । पावरहाउसदेखि दग्नाम र झिँको सिमानामा पर्ने बाँधसम्म ११ किलोमिटर पहुँचमार्ग, बुग्लस्थित रघुगङ्गा नदीमाथि ४० मिटर लामो ट्रस प्रविधिको मोटर चल्ने पुल निर्माण गरेको छ ।
छ किलोमिटर २०० मिटर लामो सुरुङ मध्य हालसम्म एक हजार ७३७ मिटर निर्माण सकिएको छ । प्रेसर साफ्टको २५४ मिटर सुरुङ निर्माण भएको छ । सिभिल ठेकेदार जेपीले २०७५ असारमा पहुँचमार्ग र २०७६ असारमा सुरुङ खन्न सुरु गरेको थियो ।
ठेकेदारले पर्याप्त मात्रामा मजदुर, उपकरण परिचालन गर्न र निर्माण सामग्री तथा उपकरण जुटाउन नसक्दा ढिलासुस्ती भएको आयोजना प्रभाबित क्षेत्र रघुगङ्गा गाउँपालिका–३ पिप्लेका वडाध्यक्ष जीवनकुमार मल्लले जानकारी दिए। पहिरोका कारण बाँध, पहिलो र दोस्रो नम्बर अडिटबाट सुरुङ निर्माणको काम गत असार महिनादेखि रोकिएको छ ।
बाँधमा जग्गा व्यवस्थापन र पहिलो नम्बरको अडित खनेर सुरुङ निर्माणको तयारी गरेको थियो । पिप्लेको बगैँचास्थित आउटलेट निर्माणस्थलमा सक्रिय भएको पहिरोका कारण तिल्केनीचौरमा राहुघाटको विद्युतगृह निर्माणलाई समेत प्रभावित बनाएको छ ।
प्राकृतिक विपद् र कोरोना भाइरसको महामारीलाई ठेकेदारले ढिलाइको कारण दाबी गरेको छ । विसं २०७६ कात्तिकमा १ करोड २ लाख ९३ हजार २२.३५ अमेरिकी डलरमा इलेक्ट्रोमेकानीकल ठेक्का सम्झौता गरेको भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल) ले तिल्केनीचौरमा विद्युतगृह निर्माणका लागि प्रारम्भिक चरणको काम गरेको छ ।
अर्धजलाशययुक्त (पीआरओआर) प्रविधिको बाँध रहने यस आयोजनाले सन् २०२३ को जनवरी ३१ देखि वार्षिक २४ करोड ५ लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित २०७५ चैतमा विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) गरेको थियो ।
राहुघाटबाट उत्पादन हुने बिजुली केन्द्रीय ग्रिडमा जोड्न कालीगण्डकी कोरीडोर अन्तरगत २२० केभी (डबल सर्किट) क्षमताको दाना–कुश्मा प्रसारण लाइनमा जोड्न लुप इन लुप आउट .लिलो) को चार टावर तयार भएको छ । रासस