काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए)को अध्यक्ष पदका लागि कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन् । आचार्यले आइतबार काठमाडौंमा एक समारोहकाबीच २०२१/२०२३ कार्यकालका लागि संघको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् ।
एनआरएनएलाई सही अर्थमा आमप्रवासी नेपालीहरुको साझा संस्था बनाई संस्थामा सबैको सहभागिता र अपनत्व सिर्जना गरेर अभियानलाई पूर्णता दिने प्रतिबद्धता उनले जनाएका छन् ।
‘पैत्रिक सम्पत्तिको अधिकार, राहदानीसहित तेस्रो पुस्तापछि पनि कायम रहने गरी गैरआवासीय नेपाली नागरिकतालाई कार्यान्वयन गर्ने सर्वोच्च प्राथमिकता दिनेछु’, उनले भने ।
उनले आफ्नो दुई वर्षे कार्यकालमा संसारभर एनआरएनएको पन्जीकृत सदस्य संख्या पाँच लाख पुर्याउने र राष्ट्रिय समन्वय परिषदहरुको संख्या कम्तीमा एक सय पुर्याउने घोषणा गरेका छन् । हाल एनसीसीको संख्या ८४ रहे पनि कतिपय एनसीसीहरु निष्क्रिय छन् भने संघका पन्जीकृत सदस्यहरुको संख्या एक लाखको हाराहारीमा छन् ।
संसारभरका सबै नेपाली मूलका मानिसहरुलाई पनि जोड्ने योजना सुनाउँदै थाइल्याण्ड, म्यानमारलगायतका मुलुकमा बसोबास गर्ने नेपालीलाई ‘पिपुल अफ नेपाली ओरिजिन(पिएनओ) को मान्यता दिलाउन पहल गर्ने प्रतिबद्धतासमेत जनाएका छन् ।
योसँगै वैदेशिक रोजगारीलाई थप व्यवस्थित र मर्यादित बनाउने भन्दै मध्यपूर्व, मलेसियालगायतका मुलुकमा काम गर्ने नेपालीहरुको सुरक्षामा पनि विशेष ध्यान दिने घोषणा गर्दै वैदेशिक रोजगारीमा रहेका र थपिने नेपाली महिला कामदारको सुरक्षा र सीपको विकासमा संघले संस्थागत रुपमा ध्यान दिने प्रतिबद्धता उनले गरेका छन् ।
यस्तै बढीभन्दा बढी मुलुकहरुसँग द्वीपक्षीय लगानी प्रवद्र्धन तथा परियोजना सहमति एवं दोहोरो करमुक्ति जस्ता सम्झौताहरु गर्न सरकारसँग सहकार्य गर्न संस्थागत पहल गर्ने, खाडीमुलुकमा रहेका नेपालीहरुको सानो–सानो पुँजीलाई एकीकृत गर्दै मुनाफामूलक क्षेत्रमा सामूहिक लगानी
अवधारणालाई अगाडि बढाउने बताएका छन् । कोभिडका कारण रोजगारी गुमाएर फर्केका युवाहरुका लागि ‘एक एनआरएन एक रोजगार अभियान’ सुुरु गरिनेसमेत उल्लेख गरेका छन् ।
उनीसँगै संघको महासचिव पदमा अमेरिका निवासी एनसीसी अमेरिकाको दुई कार्यकाल नेतृत्व गरिसकेका चिकित्सक डा.केशव पौडेलले उम्मेदवारी घोषणा गरेका छन् । अमेरिकास्थित एक अस्पतालमाका मेडिकल डाइरेक्टर पौडेल एनआरएनए अभियानमा लामो समयदेखि सक्रिय अभियन्ता हुन् ।
संघको दसौं विश्वसम्मेलन आगामी अक्टोबर २३ देखि २५(कात्तिक ७ गतेदेखि ९ गतेसम्म काठमाडौंमा हुँदैछ । निर्वाचन समितिले अनलाइन माध्यमबाट विश्वभरबाट एकसाथ मतदान गराउने तयारी गरिरहेको छ ।