काठमाडौं । दोस्रो लकडाउनपछि आजबाट यती एयरलाइन्सले पर्वतीय उडानको सुरुवात विश्व चर्चित पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदीको उडानसँगै सुरु गरेको छ ।
एभरेस्ट प्रिमियर लिग खेल्न आएका क्रिकेटर अफ्रिदीसहित ४४ जना यात्रु लिएर उडान भरेको यतीले अब प्रत्यक आइतबार उडान गर्ने तालिका बनाएको हो । हालको लागि आइतबारदेखि उडानको सुरूवात गरे पनि यात्रुको मागअनुसार उडान संख्या र तालिका परिवर्तन हुने यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए।
हिमाल चढ्न नसक्ने र ट्रेकिङ जान नसक्ने व्यक्तिहरुका लागि पर्वतीय उडान आकर्षक मानिन्छ । पर्वतीय उडानमार्फत यात्रुहरुले लाङटाङ, गौरीशंकर, मेलुङ्छे, चोयु, नुप्त्से, लोत्से, आमादब्लम, मकालु, सगरमाथालगायत विश्वका ८ वटा अग्ला हिमालको दृश्यावलोकन गर्न सकिने भएकाले यसप्रति यात्रुहरूको आकर्षण बढेको छ ।
सुन्दर शान्त हिमाली मुलुक नेपालमा आएर पहिलो पटक पर्वतीय उडान गर्न पाउँदा आफूलाई खुसी लागेको र दृश्यावलोकनले आफूलाई रोमान्चित बनाएको अफ्रिदिले प्रतिक्रिया दिए । उनले कोरोना भाइरसको जोखिम नेपालमा अत्यन्त कम रहेकोले ढुक्कसँग नेपाल घुम्न सकिने जानकारी दिए ।
उडानपछि प्रतिक्रिया दिँदै उनले महत्वपूर्ण अवसर र आकर्षक दृश्यावलोकनका लागि यती एयरलाइन्स परिवार र चालकदललाई धन्यवाद व्यक्त गरे ।
लकडाउनसँगै आन्तरिक पर्यटनलाई आकर्षित गर्न यतिले हालसम्मकै सस्तो सगरमाथाको उचाइ बराबर ८८४८ रुपैयाँमा पर्वतीय उडान गर्न सकिने आकर्षक प्याकेज ल्याएको र यसले आन्तरिक पर्यटकिय गतिविधि बढाउन मद्दत गर्ने प्रवक्ता बर्तौलाले बताए ।