विराटनगर । स्यानेटरी प्याड उद्योगलाई सरकारले सहयोग गरे पनि बाहिरबाट आयात हुनेको मूल्य नतोकिँदा नेपाली उत्पादनलाई समस्या परेको छ । सरकारले स्यानेटरी प्याड उद्योग स्थापना गर्नेलाई कर छुट दिएको छ । यस्तै स्यानेटरीको कच्चा वस्तु आयातमा भन्सारदर १० प्रतिशतबाट घटाएर ५ प्रतिशत कायम गरेको अर्थ मन्त्रालयले जनाएको छ ।
कच्चा पदार्थमा पनि भन्सार दर कम गरेर सहुलित दिएको स्यानेटरी प्याड उद्योगी पुनित सारडाले बताए । ‘पहिला १० देखि १५ प्रतिशत भए पनि विगत ३ वर्षदेखि ५ प्रतिशत छ’, उनले भने, ‘सरकारले आफ्नो तवरबाट गर्न सक्ने सपोर्ट राम्रो गरेको छ स्यानेटरी उद्योगलाई ।’ सरकारले स्यानेटरी प्याड उद्योगलाई राम्रो गरेको र नीति पनि राम्रो बनाएकाले पछिल्लो समयमा उद्योगहरु पनि स्थापना भएको उद्योगी सारडाको भनाइ छ ।
पहिला एक दुइटा स्यानेटरी प्याड उद्योग भएकोमा अहिले ६ वटा पुगेको उनले बताए । विराटनगरमा दुइवटा स्यानेटरी प्याड उद्योग रहेको उनले जानकारी दिए ।
नेपाली उद्योगले बजारको माग अनुसारको उत्पादन गर्न सक्ने जस्विन हाईजिङका सञ्चालक समेत रहेका सारडाले बताए । आफ्नो उद्योगको वार्षिक २० करोड थान प्याड उत्पादन गर्ने क्षमता रहेको बताउँदै उनले सबै जसो उद्योगको क्षमता यति नै हुने बताए ।
उनकाअनुसार हामी स्यानेटरी प्याडमा आत्मनिर्भर भए पनि बजार भने आयातित स्यानेटरी प्याडले खाइरहेको छ । ‘उनीहरुकोे ब्रान्ड बिक्री भइरहेको छ, विश्वविख्यात ठूलो कम्पनीको ब्रान्ड भएकाले ग्राहकलाई मानसिकता परिवर्तन भएको छैन्’, उनले भने, ‘हाम्रो उत्पादन भए पनि बजारमा बिक्री गर्न समस्या भइरहेको छ ।’ उतिकै गुणस्तर र सस्तो भए पनि बजारमा बिक्री गर्न समस्या भएको उनको भनाइ छ ।
‘ग्राहकले पहिलादेखि ब्रान्डलाई पैसा हालिरहेका छन्, वस्तु कस्तो गुणस्तरको छ त्यो मतलब छैन’, उनले भने । हाम्रो उत्पादन सस्तो र गुणस्तरीय भए पनि आयातित प्याडको ब्रान्डले गर्दा बजार लिन नसकेको उनको भनाइ छ ।
आयातित स्यानेटरी प्याडमा मूल्य अनिवार्य हुनुपर्ने व्यवस्था सरकारले नगरेका कारण यसको फाईदा विदेशी ब्रान्डले लिने गरेको सारडाको भनाइ छ । ‘मूल्य नलेखिएको हुँदा ४० को माललाई ७५ मा बेच्ने वा जतिमा पनि बेच्ने, नाफा धेरै हुने भएकाले व्यापारीले आयातित प्याडलाई नै प्राथमिकता दिने गरेका छन्’, उनले भने, ‘हाम्रो मूल्य लेख्या हुन्छ, त्यो भएपछि १५ प्रतिशत मात्र नाफा खाएर बेच्न पाउँछ, हाम्रो बस्तुको माग कम गर्छन ।’
सरकारले जसरी नेपाली स्यानेटरी प्याड उद्योगलाई सहुलियत दिएको छ त्यसैगरी अब विदेशबाट आउने स्यानेटरी प्याडको मूल्य अनिवार्य गर्नुपर्ने उनले बताए । मूल्य अनिवार्य गर्यो भने हाम्रो उत्पादनको माग बजारमा बढ्ने र उद्योगहरु सञ्चालन भईरहने उनको भनाइ छ ।
आयातित स्यानेटरी प्याडको अनिवार्य मूल्य हुनुपर्ने व्यवस्था नगरिए स्वदेशी उद्योग टिक्न गाह्रो हुने उनको भनाई छ । एउटा उद्योग सञ्चालन गर्न ५० करोड रुपैयाँ लाग्ने बताउदै उद्योगी सारडाले लगानी बचाउन पनि सरकारले आयातित स्यानेटरी प्याडको मूल्य अनिवार्य गर्नुपर्नेमा जोड दिए ।
यो पनि हेर्नुहोस
अर्थ मन्त्रालयले भन्यो-स्यानिटरी प्याडमा कर वृद्धि भएको छैन, कच्चा वस्तुको भन्सार घटेको छ