काठमाडौं । नेपाल विद्युत प्राधिकरणले थप ५०० वटा विद्युतीय सवारीसाधन चार्जिङ स्टेशन बनाउने भएको छ । निजी क्षेत्रसँगको सहकार्यमा चार्जिङ स्टेशन पूर्वाधार बनाउन प्राधिकरणले आशयपत्र मागेको हो ।
सरकारको विद्युतीय गाडी प्रवद्र्धन गर्ने नीतिलाई सघाउन प्राधिकरणले चालु आर्थिक वर्षभित्र देशका विभिन्न स्थानहरुमा निजी क्षेत्रसँगको सहकार्यमा सो संख्यामा चार्जिङ स्टेशन पूर्वाधार निर्माण गर्न लागेको जानकारी दिएको छ ।
प्राधिकरणले आवश्यक्ताअनुसार देशभरका राजमार्ग, बसपार्क, सपिङ मल, सिनेमा भवन, शिक्षण संस्था, अस्पताल, होटल र रेष्टुराँलगायत अन्य सार्वजनिक स्थलहरुमा स्टेशन राख्ने भएको छ ।
विद्युती गाडी आपूर्तिकर्ता कम्पनी, निसान, हुण्डाइ, एमजी, बीवाइडी र कियालगायतले आफ्नो लगानीमा देशका विभिन्न स्थानहरुमा चार्जिङ स्टेशन बनाउन थालेका छन् । सरकारले विद्युतीय गाडीलाई प्रवद्र्धन गरेको र चार्जिङ स्टेशन आवश्यक्ता बढ्दै गएपछि प्राधिकरणले निजी साझेदारी बनाउन स्टेशन बनाउन लागेको हो ।
यता विद्युत महशुल निर्धारण आयोगले विद्युतीय बस चार्ज गर्दा चार्जिङ स्टेसनले प्रतियुनिट ४ रुपैयाँ ६० पैसा महशुल दर निर्धारण गरेको छ । स्टेसनले यसअघि प्रतियुनिट १० रुपियाँ तिर्दै आएका थिए । प्रतियुनिट ४ रुपियाँ ६० पैसाको थप २० प्रतिशत शुल्क लिएर सवारी चार्ज सुविधा दिन पाउने छन् । प्राधिकरणले महशुल समायोजनका लागि नयाँ दर आयोगमा प्रस्ताव गरेकाले यसमा केही परिमार्जन हुने संभावना छ ।
नेपाल राष्ट्र बैंकले विद्युतीय चार्जिङ स्टेसन निर्माण गर्न लिएको ऋणलाई पुनर्कर्जामा गणना गर्न पाउने व्यवस्था गरिएको छ । केन्द्रीय बैकले गरेको पुनर्कर्जा कार्यविधि २०७७ (तेस्रो संशोधन) मा विद्युतीय चार्जिङ स्टेशन निर्माण गर्न लिएको ऋणको ब्याज अब ५ प्रतिशत मात्रै लाग्ने जानकारी गराएको हो ।
देशमा विद्युतीय गाडीको खपत बढ्दै गएको र सरकारले पनि विद्युतीय सवारी साधनलाई बढावा दिइरहेका बेला केन्द्रीय बैंकले चार्जिङ स्टेसन निर्माणमा प्रवाह भएको ऋणलाई पनि सहुलियत प्रदान गरेको हो ।
एकमुष्ट रुपमा प्रदान गरिने पुनर्कर्जाको अवधि बढीमा एक वर्षको हुनेछ र यस्तो कर्जा नवीकरण हुने छैन । बैंकबाट आह्वान गरी इजाजतपत्रप्राप्त संस्थालाई एकमुष्ट प्रदान हुने प्रति ग्राहक पुनर्कर्जाको अधिकतम सीमा ५ करोड रुपैयाँ हुनेछ ।
यता प्राधिकरणले स्थानीयस्तरमा सात प्रदेशका विभिन्न ५० स्थानमा विद्युतीय सवारी साधनको चार्जिङ स्टेसनको बनाउन ठेक्का लगाइसकेको छ । प्राधिकरणको विद्युतीय सवारी चार्जिङ पूर्वाधार विकास आयोजना र अन्तर्राष्ट्रिय टेण्डरबाट छनोट भएको वाङवाङ डिजिटल इनर्जी कर्पोरेसन लिमिटेड, जियाङ्सु, चीनबीच सम्झौता भएको छ ।
स्टेशनको पूर्वाधार बनाउन ३७ करोड ७९ लाख ५५ हजार रुपैयाँमा सम्झौता भएको छ । एसियाली विकास बैक (एडीबी) को ऋण सहयोगमा निर्माण गर्न लागिएको चार्जिङ स्टेसन एक वर्षभित्रमा सक्ने गरी ठेक्का सम्झौता गरिएको छ ।
हरेक चार्जिङ स्टेसनमा १४२ किलोवाट क्षमताको चार्जर, त्यसमा विद्युत आपूर्तिका लागि ५० केभीएको ट्रान्सफर्मर,अनलाइन विलिङ प्रणालीको जडान गरिने जानकारी दिए ।
चार्जिङ स्टेसनमा छिटो चार्ज गर्न मिल्ने ६०/६० किलोबाटका डिसी र २२ किलोवाटका एसी चार्जरहरु राखिने छन । यसबाट ठूला बससहित तीन वटा सवारी साधनले एक साथ चार्ज गर्न सकिने छ ।