काठमाडौं । नेपाल वायुसेवा निगमका कर्मचारीहरुद्वारा जारी आन्दोलनप्रति महाप्रबन्धक पौडेलले विज्ञप्ति जारी गरी अमुक स्वार्थ प्रेरित व्यक्तिको इसारामा चल्दा सहमति हुन नसकेको टिप्पणी गरेका छन् ।
शान्तिपूर्ण रुपमा विचार अभिव्यक्त गर्ने र पेशागत हकहितका लागि आवाज उठाउन पाउने कानुनी अधिकार रहेको विषयसमेत मध्यनजर गरी व्यवस्थापनको तर्फबाट पटक–पटक वार्ताका लागि आह्वान गर्दासमेत कुनै पनि संगठनले चासो नदेखाएको उनको आरोप छ ।
तालुक मन्त्रालयबाट समेत पटक–पटक वार्ताको निम्ति गरिएका प्रयासलाई पनि गम्भीरतापूर्वक नलिने, निगममा काम गर्न चाहने कर्मचारीहरुलाई समेत मूल गेट थुनी काममा जान नदिने, काममा निष्ठापूर्वक लागिरहेका कर्मचारीहरुलाईसमेत जबरजस्ती आन्दोलनमा तान्ने गरेको उल्लेख गरेका छन् ।
कर्मचारी आन्दोलनका न्यूनतम मापदण्डसमेत ख्याल नगरी कार्यालयभित्र कर्मचारीहरु रहेको अवस्थामा बिजुली, पानी, टेलिफोन, इन्टरनेट काटीदिने जस्ता अमानवीय तथा अपराधजन्य कामहरु गरेका छन् ।
व्यवस्थापनको उच्च तहका कर्मचारीहरुलाई समेत कार्यालय प्रवेशमा रोक लगाइ निगमको दैनिक कार्य संचालनमा समेत बाधा पुर्याउने जस्ता कारणहरुले यो आन्दोलन निगमको हितभन्दा पनि अमुक स्वार्थ प्रेरित व्यक्तिहरुको इसारामा संचालित र कुण्ठाबाट प्रेरित भएको कुरा स्पष्ट हुन्छ, विज्ञप्तिमा भनिएको छ ।
निगमको नेतृत्वलाई कमजोर बनाई आफ्ना स्वार्थपूर्ति गर्न उद्यत समूहको उस्काहटमा लागि आफ्नो र निगमको भबिष्य धुमिल पार्ने काम नगर्नु नगराउन समेत विज्ञप्तिमार्फत कर्मचारीहरुलाई अनुरोध गरेका छन् ।
आन्दोलनका कारण निम्न कार्य प्रभावित
१) निगमले अनुमति पाएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा अन्र्तराष्ट्रिय विमान स्थलको ग्राउण्ड हेण्डलिङ सेवाको लागि आवश्यक तयारीको कार्य ।
२) निगममा आईएफआरएस प्रणाली लागू गर्ने सम्बन्धमा गर्नुपर्ने तयारीको काम ।
३) अनलाइन टिकट प्रणालीसमेत हुने गरी पास लागू गर्ने सम्बन्धमा गरी राखिएको तयारीको काम
४) ए ३२० को ईन्जिन मर्मतका लागि एमआरओ छान्नेसम्बन्धी सम्पूर्ण प्रक्रिया
५) अर्थ मन्त्रालयको निर्देशनबमोजिम गर्नुपर्ने निगमको अद्यावधिक डीडीएसम्बन्धी काम
६) आव २०७८।७९ को बजेट तथा वार्षिक कार्यक्रम तर्जुमाको काम
७) महालेखा परीक्षकको प्रतिवेदनउपर छलफल र जवाफ दिने कार्य (आन्दोलनका कारण म्याद गुज्रिन पुगेको)
८) निगमको ऋण दायित्व भुक्तानी गर्न अर्थ मन्त्रलयको समन्वयमा गरिने सम्पूर्ण कामहरु
९) निगम व्यवस्थापनले तयार गरी सञ्चालक समितिले स्वीकृत गरेको १० वर्षे व्यावसायिक योजना कार्यान्वयन गरी आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका लागि विमान संख्या थप गर्न नेपाल सरकार संग समन्वय गर्नेसम्बन्धी सम्पूर्ण काम ।