काठमाडौं । नेपाल वायुसेवा निगम (एनएसी)का कर्मचारीहरु अराजक हुन थालेका छन् । नेपाल वायुसेवा निगम कर्मचारी संघको नेतृत्वमा भएको आन्दोलन मन्त्रालयको निर्देशनहरुलाई पनि लत्याउँदै अघि बढिरहेको छ ।
बुधबार मात्रै कर्मचारीहरुले निगमका १३ जना निर्देशकलाई करिब ६ घण्टा कार्यकक्षमा थुनेर दुव्र्यहार गरेका छन् । आफूहरुलाई तत्कालै तलब निकासा गर्नुपर्ने माग राख्दै कर्मचारीहरुले बुधबार दिउँसो ४ बजेदेखि राति ९ बजेसम्म उच्च तहका कर्मचारीलाई कार्यकक्षमै थुन्नुका साथै गालीगलौजसमेत गरिएको छ ।
‘बिहीबारै हामीलाई तलब निकासा गरिदिनुपर्छ, महाप्रबन्धक र सञ्चालकहरुको मतलब भएन भन्दै निर्देशकहरुलाई धम्क्याउने र थर्काउने काम भयो’ पीडित एक निर्देशकले क्यापिटलसँग भने, ‘‘महाप्रबन्धक, सञ्चालक समिति जे -जे भने पनि हामी नै हौं, तत्कालै फाइलमा हस्ताक्षर गरी अघि बढाउनुस् भन्दै दबाब दिने र निर्देशकको कुर्सीमा बसेर कर्मचारीहरुले आचरणविपरीत काम गरे ।’
अहिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्रीसँग भएकाले बिहीबारै फाइल प्रधानमन्त्रीकहाँ लैजान दबाब दिएको ती निर्देशकले बताए ।
पर्यटन मन्त्रालयले पटक-पटक कर्मचारीहरुलाई काममा फर्कन निर्देशन दिए पनि उनीहरुले बेवास्ता गर्दै आन्दोलनलाई निरन्तरता दिइरहेका छन् । संघले निगमलाई कम्पनीमा लगिने गरी भएको निर्णय खारेज गर्नुपर्ने, महाप्रबन्धक डिमप्रकाश पौडेलको बर्खास्ती/ राजीनामा गर्नुपर्ने, महाप्रबन्धकको अस्वभाविक ३०० प्रतिशत तलब वृद्धि खारेज गर्नुपर्ने, सञ्चालक समितिमा निगमको व्यावसायिक स्वार्थ बाझिने संस्थामा आबद्ध व्यक्तिको नियुक्ति खारेज गरी नयाँ विज्ञ सदस्य नियुक्त गर्नुपर्ने माग गर्दै ८६ दिनदेखि विभिन्न स्वरुपमा आन्दोलन गरिरहेका छन् ।
विगत २ महिनादेखि निगमका कर्मचारीहरुले तलबभत्ता खान पाएका छैनन् । सञ्चालक समितिबाट बजेट पारित नभएकाले कर्मचारीहरुको तलब रोकिएको हो । त्यही बहानामा कर्मचारीहरुले निर्देशकहरुलाई कार्यकक्षमा थुनेका हुन् ।
आन्दोलनका कारण महाप्रबन्धक पौडेल कार्यालयमा गएका छैनन् भने सञ्चालक समितिको बैठक पनि बसेको छैन । विभागीय मन्त्री नभएकाले पनि परिस्थिति जटिल बन्दै गएको छ । निगमको बजेट निर्माणकै क्रममा कर्मचारीहरुले आन्दोलन सुरु गरेपछि सञ्चालक समितिकाे बैठक नबसेका कारण बजेट पास हुन नसकेको हो ।
केही समयअघि अस्थायी कर्मचारीहरुले तलब बुझे पनि स्थायी कर्मचारीको तलब रोकिएको छ । यद्यपि महाप्रबन्धक पौडेलले मन्त्रालयसँग नीतिगत सहमति लिएर निगमको बजेट पास नभए पनि आइतबार वा सोमबार भित्र सबै कर्मचारीलाई तलब खुवाइने बताए ।
संघका उपाध्यक्ष देबेन्द्र पुनले निर्देशकहरुलाई कार्यकक्षमा थुनेको नभई छलफल गरेको बताए । ‘दुई जना निर्देशकहरुले मोबाइल अफ गरेको कारणले उहाँहरुलाई पर्खदा समय लागेको हो’ उपाध्यक्ष पुनले भने, ‘राति ९ बजेसम्म कार्यालयमा बसे पनि उहाँहरुलाई थुनेका भने हैनौं ।’ कर्मचारीहरुले भने आफ्ना मागहरु तत्काल पूरा नभए त्रिभुवन विमानस्थलको ‘ग्राउण्ड ह्याण्डलिङ’ र उडान सेवा समेत रोक्ने चेतावनी दिँदै आएका छन् ।