काठमाडौं । अमेरिका सहित ३० भन्दा धेरै देशमा भरखरै सार्वजनिक भएको आइफोन १३ को नेपालमा गैरकानुनी रुपमा प्रि–अर्डर बुकिङ खुलाएर धमाधम रकम असुली गरिरहेको खुलेको छ । प्रि–अर्डरका लागि गुगल फर्म भर्नुपर्ने र ई-सेवामार्फत १५ हजार रुपैयाँ अग्रिम भुक्तानी गर्नुपर्ने गरी गैरकानुनी रुपमा रकम असुली गरिरहेको पाइएको छ ।
विश्वका ३० वटा देशमा सेप्टेम्बर २५ बाट आइफोन १३ को बिक्री खुला गरिएको छ । तर, नेपालमा ९८४१५३३०६९ नम्बरमा सम्पर्क राखेर प्रि–अर्डर खुलाइको हो । जुन गैरकानुनी हो । नेपालमा नेक्स्ट जेन आइफोनको आधिकारिक बिक्री गरिरहेकाे छ। यही कम्पनीले ओलिज् र इभोलाई एप्पल ब्रान्डका हरेक सामग्री वितरण गर्छ ।
याे हाे बेनामे कम्पनीले बनाएकाे गुगल फर्म
तर, अहिले एउटा गुगल फर्म बनाएर अनाधिकृत रुपमा प्रि–बुकिङ अर्डर लिइरहेको छ । क्यापिटल नेपालले माथि उल्लेखित नम्बरमा सम्पर्क गर्दा आफ्नो कम्पनी बुटवलमा भएको र आधिकारिक रुपमा फोन ल्याएर दसैंमा उपलब्ध गराउने बताएको छ । उक्त व्यक्तिले आफ्नो कम्पनीको नाम बताउन चाहेनन् ।
तर, नेपालमा नोभेम्बरमा मात्रै आइफोन बिक्रीका लागि आउँदैछ । अहिले जति देशमा बिक्री खुलाइएको छ । त्यसमा नेपाल पर्दैन । तर, उक्त व्यक्तिले गैरकानुनी रुपमा फोन भित्र्याएर दिने उद्देश्यले प्रि–बुकिङ लिइरहेको छ ।
यस्ता फोन कर छली गरेर भित्र्याउने र बेच्ने दाउ रहेको देखिन्छ । कम्पनीले बनाएको गुगल फर्ममा फोन अर्डर गर्नेको इमेल, नाम, फोन नम्बर, लोकेसन खुलाउनु पर्ने छ ।
बेनामे कम्पनीले बनाएको गुगल फर्ममा आइफोन १३ मिनी, आइफोन १३, आइफोन १३ प्रो र आइफोन १३ प्रो म्याक्सको बुकिङ खुला गरेको हो । आफूलाई जुन फोन चाहिन्छ, त्यो फोनको अर्डर गरेपछि ई-सेवाबाट १५ हजार भुक्तानी गर्ने र सोको रिसिप्ट पठाउनुपर्ने व्यवस्था गरिएको छ ।