काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले ग्राहकलाई १ अर्ब ११ करोड रुपैयाँको फिर्ता गर्न दिएको निर्देशनप्रति असहमति जनाउँदै एनसेल पुनरावलोकनमा जाने भएको छ ।
एनसेलले प्राधिकरणलाई पत्रमार्फत सोको जानकारी दिएको हो । एनसेले प्राधिकरणको स्वीकृति बिनै विभिन्न सेवा तथा प्याकहरुको स्वतः नवीकरण गरेर ग्राहकहरुको ब्यालेन्स काट्ने गरेका पाएपछि प्राधिकरणले एनसेलमाथि ५० हजार जरिवानाको कारबाहीसमेत गरेको हो ।
प्राधिकरणले ग्राहकको जानकारी बिना विभिन्न प्याकमा उठाएको १ अर्ब ११ करोड २९ लाख ७६ हजार ८ सय ४९ रुपैयाँसम्बन्धी ग्राहककै मोबाइल नम्बरमा फिर्ता पठाउन एनसेललाई निर्देशन दिएको थियो ।
तर, प्राधिकरणको दिएको निर्देशन प्रतिचित्त नबुझेको भन्दै दूरसञ्चार ऐन २०५३ को दफा ४८ लाई टेकेर एनसेलले तालुकदार मन्त्रालयभित्र रहेको पुनरावेदन समितिमा जाने प्रक्रिया थालेको छ ।
ऐनमा प्राधिकरणको आदेशमा चित्त नबुझेको व्यक्ति वा संस्थाले ३५ दिनभित्र सो समितिमा पुनरावेदन दिन सक्ने व्यवस्था छ । तर, सो पुनरावेदनमा समितिले दिएको निर्णय अन्तिम हुने पनि ऐनमा व्यवस्था छ ।
एनसेलले ग्राहकको मञ्जुरीबिनै गेमलेफ्ट, ह्वावे एप ग्यालरीजस्ता भ्यालु एडेड सेवा तथा प्याकहरू अटो रिन्यू (नवीकरण) हुने गरी सञ्चालन गरेको र यसबाट आफूहरूसमेत ठगिन पुगेको भनी विभिन्न माध्यमबाट प्राधिकरणमा उपभोक्ताहरूले गुनासो गरेका थिए ।
सोही गुनासोका आधारमा प्राधिकरणले एक निरीक्षण समिति बनाएर अध्ययन गरेको थियो । अध्ययनका क्रममा सोही गल्ती गरेको पाइएपछि ग्राहकबाट उठाएको रकम फिर्ता गर्न प्राधिकरणले एनसेललाई निर्देशन दिइएको हो ।
गेमलेफ्ट नामको भ्यास सेवाअन्तर्गत तीन दिन रिन्यू र साप्ताहिक रिन्यूका प्याकहरू २०७५ असोज १५ गतेदेखि २०७७ सालको जेठ १८ गतेसम्म सो सेवा सञ्चालन गरी ११ करोड ३७ लाख ४८ हजार ९८६ रुपैयाँ आर्जन गरेको थियो ।
यस्तै, ह्वावे एप ग्यालरी नामबाट २०७५ असोज १५ गतेदेखि २०७७ साल जेठ १८ गतेसम्म अटो रिन्यू हुने गरी ९९ करोड ९२ लाख १८ हजार ८ सय ६३ रुपैयाँ आर्जन गरेको थियो ।