काठमाडौं । नेपालको ग्रामीण क्षेत्रमा कोभिड–१९ बाट प्रभावित भएकाहरुका लागि सहयोग रकम जुटाउन स्पेनकी सारा भेल्बा सेप्टेम्बरको सुरुवातदेखि युरोपेली हिमश्रृंखलाको पदयात्रामा छिन् ।
उनले एक्लैले स्पेन र फ्रान्सबीचको सिंगो पाइरनेस हिमश्रृंखला हुँदै ट्रान्सपाइरेनाइको पदयात्रा १९ दिनमा पूरा गर्ने चुनौती लिएकी छिन् । ८१० किलोमिटरको यो हिमाली रुट क्याप हाइग्योर (गिपुजकोआ) र क्याप क्रेस ९जेरोना० बीच ७८ हजार मिटरको असमान उचाइहरु छन् ।
सारा स्पेनको प्यालेन्सियास्थित एगुईलार डी क्याम्पोकी बासिन्दा हुन् । सारा पेशाले पशुचिकित्सक हुन् । तर, २०१८ मा उनले आफ्नो काम छाडेर विश्व भ्रमण गर्ने निर्याण लिइन् । उनले एक वर्ष नेपाल र उत्तरी भारतको भूभागमा बसेर बिताइन् ।
ती ठाउँहरुमा रहेर उनले शेयर्ड एड्भेन्चर नामको एउटा प्रोजेक्ट तयार गरिन् । जसअन्तर्गत उनले हिमालमा रहेका गैरपर्यटकीय क्षेत्रहरुको यात्रा आयोजना गरिन् । २०२० मा उनी पारिवारिक भेटघाटका लागि स्पेन फर्किएकी थिइन् तर महामारीका कारण उनी त्यहीँ रोकिन् ।
यद्यपि उनी आफ्ना नेपाली साथीभाइहरुसँग भने नियमित सम्पर्कमै थिइन् । नेपाली साथीहरुले महामारीका कारण प्रभावित भएको ग्रामीण क्षेत्रको अप्ठ्यारो अवस्थाबारे बताए पछि साराको मनमा ट्रान्स पाइरनेस पदयात्राको सोच फुरेको थियो ।
‘ट्रान्स पाइरनेसको यात्राबारे मैले पहिलेदेखि नै सोचिरहेको थिए तर यात्रासँगै नेपालका कोभिड प्रभावित ग्रामीण जनताहरुको सहयोगका लागि केही गर्न सकिन्छ भनेर मैले यो यात्राको थालनी गरेकी हुँ,’ सारा भन्छिन् । ‘किलोमिटर्स फर नेपाल’ शीर्षकमा साराले यो पदयात्रा अभियानको थालनी गरेकी छिन् ।
आफूले यात्रा गरेको प्रत्येक किलोमिटरबाट कम्तीमा एक युरो संकलन गर्ने उनको उद्देश्य छ । उनले त्यो पैसा नेपालको स्थानीय गैरसरकारी संस्था कर्मा फ्लाइट्समा पठाउने छिन् जसले ग्रामीण क्षेत्रको अस्पतालहरुलाई आधारभूत स्वास्थ उपकरण, अक्जिमिटर्स, अक्सिजन कन्सनट्रेटर्स र पीपीईहरु उपलब्ध गराइरहेको छ ।
यसबाहेक उक्त संस्थाले महामारीबाट प्रभावित परिवारहरुमा खाद्यन्न पनि वितरण गरिरहेको छ । साराले यो रोमाञ्चक यात्रा सेप्टेम्बर महिनाको अन्त्यसम्म पूरा गर्ने अपेक्षा गरेकी छिन् ।
आफैंसँग पनि पर्याप्त संसाधन नभएको हुँदा यो यात्रा अलिक कष्टकर र चुनौतीपूर्ण भइरहेको साराले यात्राकै क्रममा बताएकी थिइन् । कति दिन त उनले आवासीय क्षेत्रहरुमा नगई अन्कन्टार पदमा पनि हिँडिन् । उनले फिल्टर प्रयोग गरी खोलाको पानी पनि पिइन् । टेन्ट छाडेर उनले निःशुल्क र सशुल्क बास पनि लिइन् ।
सेप्टेम्बरको पहिलो हप्ता त उनले हिमाली पदस्थित अग्यास टर्टासमा असिना पानीको सामना गर्न पर्यो । जोखिमपूर्ण मौसमी अवस्थाका कारण उनले दुई दिन बुजारुलोमा बिताउन पर्यो । आफूले संकलन गरेको सो अवधिसम्मको सहयोग रकमको आधा जति आफ्नो यात्रामा पनि खर्चन परेको उनले बताइन् ।
इच्छुकहरुले वेबसाइटमार्फत पनि सहयोग रकम पठाउन सक्ने उनी बताउँछिन् । सामाजिक सञ्जालहरुबाट एकदमै राम्रो प्रतिक्रिया पाइरहेको अवस्थामा आफूले तय गरेको न्यूनतम सहयोग रकमको लक्ष्य पूरा गर्नेमा उनी ढुक्क छिन् । अझ सेप्टेम्बर महिनाको अन्त्यसम्म आफ्नो लक्ष्यभन्दा डबल रकम संकलन गर्ने उनको अपेक्षा छ ।
सारा ट्रान्स पाइरसनेसको यात्रा समाप्त भएपछि नेपाल फर्किन एकदमै उत्साहित छिन् । उनलाई नेपालको जीवन दर्शन एकदमै मन पर्छ । नेपालमा यात्रा गर्नेहरु सधैं एउटै क्षेत्रमा मात्र केन्द्रित रहने गरेको तर नेपालमा अतुलनीय संस्कृतिक सम्भाव्यता भएको हुँदा आफूले नेपालको निरन्तर खोज गरिरहने उनी बताउँछिन् ।