काठमाडौं । ठूला चाड दसैं, तिहार र छठ पर्व नजिकिएसँगै काठमाडौंका मल र सपिङ सेन्टरहरुमा चहलपहल सुरु भएको छ । कोभिडका कारण लामो समयसम्म भएको बन्दाबन्दी (लकडाउन) र निषेधाज्ञाका कारण बन्द भएका मलहरूले विस्तारै लय समात्न थालेका छन् ।
कोरोना संक्रमण घटेसँगै सरकारले आर्थिक तथा अन्य क्षेत्र चलायमान बनाउन निषेधाज्ञा हटाएर बजार क्षेत्र विस्तारै खुलाउँदै लगेको छ । मल र सपिङ सेन्टरमा चहलपहल बढेर सामान्य अवस्थामा दैनिकी फर्किंदै गरेको मल सञ्चालकहरू बताउँछन् ।
बजार खुले पनि सामान्य अवस्थाको जसरी मानिसहरूको भीडभाड भने भई नसकेको मल सञ्चालकहरूको भनाइ छ । कोभिडको पहिलो लहरमा कडा लकडाउन गरिएको थियो भने दोस्रो चरणमा भने निषेधाज्ञा केही खुकुलो भएको थियो । तैपनि सर्वसाधारणहरूले मल र सपिङ सेन्टरसम्म जाने आँट भने गरेका थिएनन् ।
पछिल्लो समय भने चाडपर्वहरू नजिकिँदै गएको र खोप लगाउनेहरूको संख्या बढेको कारण पनि सर्वसाधारणहरू मल र सपिङ सेन्टरमा आवत–जावतलाई बढाउन थालेको चाबहिलमा रहेको के एल टावरका जनरल म्यानेजमेन्ट कमिटीका सदस्य दिनेश श्रेष्ठको भनाइ छ ।
टावरमा रहेका व्यापारीहरूलाई पहिलो चरणको लकडाउनमा ६ महिनासम्म ३० प्रतिशत सटरभाडा छुट दिएको थियो । जसको कारण त्यहाँबाट व्यवसायीहरू विस्तापित हुनबाट रोकिएको थियो । दोस्रो लहरमा पनि भाडा छुट दिन बहालवाला र टावर सञ्चालक समितिबीच छलफल भइरहेको श्रेष्ठको भनाइ छ ।
निषेधाज्ञा बेलाको पनि कतिसम्म छुट दिन सकिन्छ भनेर छलफल जारी रहेको उनको भनाइ छ । जसरी बाहिरी बजारमा रहेका सटरहरू खाली भएका थिए, त्यसरी मल भित्रका सटरहरू खाली नभएको उनले बताए ।
‘द काठमाडौं मल’का प्रमुख कार्यकारी अधिकृत (सीईओ) विष्णुहरी ढकालले कोभिडपछि विस्तारै लय समाउँदै आएको बताए । २५० भन्दा बढी सटर भाडामा रहेको सो मलका सबै पसलहरू सञ्चालनमा आइसकेको छ ।
कोरोना संक्रमण पहिले ३५ प्रतिशत सटर खाली रहेकोमा अहिले भने क्रमशः उक्त सटर भरिँदै गएका छन् । क्यापिटल नेपालसँग कुरा गर्दै सीईओ ढकालले भने, ‘यहाँ अन्य मलको भन्दा उल्टो भएको छ, जब कोरोना सुरु भयो त्यसपछि काठमाडौं मलका सटरहरू भाडामा जना थालेका हुन् । बाँकी रहेका अरू सटरहरू पनि अब छिट्टै भाडामा जान्छन् भन्ने आशा छ ।’काठमाडौं मलमा व्यवसायीहरूलाई ४ महिनाको पूर्णरूपले भाडा छुट दिइएको थियो ।
ललितपुरमा रहेको बिजी मलका प्रवन्धक प्रेम शर्माले कोरोनाको कारण सुनसान बनेको मलमा विस्तारै चहलपहल सुरु भएको बताए । अन्डर ग्राउण्ड २ तला र अन्य ७ तलासहित जम्मा ९ तला रहेको बिजी मल वि.सं. २०७३ सालदेखि सञ्चालनमा रहेको छ । त्यसमध्ये ५ तल्लासम्म रेष्टुराँ र पसलहरू सञ्चालनमा छन् भने अन्य २ तल्लामा फिल्महल सञ्चालनमा रहेको प्रवन्धक शर्माले बताए ।
त्यसो त बिजी मलले पनि ७० प्रतिशतसम्म सटरहरूको भाडा छुट दिएको जनाएको छ । क्यापिटल नेपालसँग कुरा गर्दै उनले भने, ‘पहिलो चरणको लकडाउनमा हामीले ४ महिना ७० प्रतिशत र ३ महिना ६० प्रतिशतसम्म भाडा छुट दिएका थियौं ।
दोस्रो लहरको निषेधाज्ञामा पनि ३५ प्रतिशत छुट दिएर व्यापारीहरूलाई सहज हुने वातावरण बनाएका छौं ।’ आफूहरूले भाडामा छुट दिएको कारण कोरोना संक्रमणको समयमा पनि मलका सटर खाली नभएको शर्माको भनाइ छ ।