काठमाडौं । बाढीले क्षति पुगेको मेलम्ची खानेपानी आयोजनाको लागि अर्थ मन्त्रालयले १ अर्ब १९ करोड रुपैयाँ विनियोजन गरेको छ । मेलम्ची खोलामा गत असार र साउनमा गएको बाढीका कारण खानेपानी आयोजनामा करिब २ अर्ब रुपैयाँको क्षति भएको अनुमान गरिएको छ ।
चालु आर्थिक वर्षको लागि मन्त्रालयले विनियोजन गरेको बजेट पर्याप्त हुने आयोजनाका प्रवक्ता तथा सिनियर डिभिजन इन्जिनियर राजेन्द्रप्रसाद पन्तले बताए ।
आयोजनाले तत्कालै सुरुङहरु, नदी सफा गर्ने तथा बिग्रिएका संरचना मर्मत गर्नु पर्ने जनाएको छ । आयोजना माथि तिरको पहिरो रोकथाम सिँचाइ विभागले र सडक तथा पुल निर्माणको काम सडक विभागले गरिदिएमा निर्माण कार्य आगामी चैतसम्म सम्पन्न गर्न सकिने प्रवक्ता पन्त बताउँछन् ।
गत भदौ २५ गते सरकारले ल्याएको प्रतिस्थापन विधेयकमार्फत अर्थमन्त्री जनार्दन शर्माले खानेपानी आयोजनाको मर्मत तथा पुनःनिर्माण गरी यही वर्षको अन्त्यसम्ममा नियमित पानी वितरण गर्ने जनाएका थिए । सरकारको सो लक्ष्य पुरा गर्न सकिने पन्तले बताए । क्यापिटल नेपालसँग कुरा गर्दै उनले भने, ‘सबै पक्ष मिलेर पुननिर्माण कार्य गर्दा यो वर्षमा पानी नियमित वितरण गर्न सकिन्छ ।’
सुरुङ तथा नदी सफा गर्ने क्रममा त्यहाँ रहेका ग्रेग्रानलाई व्यवस्थापन गर्ने विषयमा पनि चुनौती रहेको आयोजनाले जनाएको छ । त्यसको लागि स्थानीय निकायसँग समन्वय हुनुपर्ने इन्जिनियर पन्त बताउँछन् ।
‘केही गेग्रान सडकमा व्यवस्थापन गर्न सकिन्छ होला अन्यलाई स्थानीय निकायले क्रसरलाई बेच्न पनि सक्छन् ।’ उनले भने ‘सडक, पुललगायत अन्य संरचना निर्माण सम्बन्धित निकायले गर्ने भनेर समन्वयात्मक बैठक भएको छ । तत्काललाई अस्थायी सडक नदीबाट निकालेर काम गर्ने र पुलहरु पनि अस्थायी रुपमा खानेपानी आयोजनाले सञ्चालन गर्ने योजना छ ।’ मेलम्ची खानेपानी आयोजनाले सञ्चालन गर्ने सबै काम १ अर्ब १९ करोड रुपैयाँ रकमबाट नै सञ्चालन हुने बताइएको छ । आयोजनाले सञ्चालन गर्ने सबै काम पहिलाकै ठेक्केदारसँग समन्वय गरेर सञ्चालन हुने बताइएको छ ।
त्यस्तै सरकारले गत साउन १८ गते खानेपानी आयोजनाभन्दा माथिल्लो क्षेत्रको भौगर्भिक अवस्था अध्ययन गर्न एसियाली विकास बैंक (एडीबी)लाई पत्राचार गरेका थियो । सोअनुसार एडीबीले विज्ञसहितको टोली गठन भएको जनाकारी आफूलाई आएको उनले बताए । तर, आयोजना स्थलमा उक्त टोलि परिचालन हुने समयलगायत विषयमा जानकारी नभएको पन्तको भनाइ छ ।