काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक राजन पोखरेलले बिहीबारदेखि अनिवार्य अवकाश लिदैंछन् । उनको अवकाश हुने मिति नजिकिएसँगै प्राधिकरणभित्र र मन्त्रालयबाट उच्च अधिकारीहरु महानिर्देशक बन्नका लागि दौडधुप र लबिङ्गमा जुटेका छन् ।
प्राधिकरणमा महानिर्देशक पोखरेलसँगै सिनियर उपमहानिर्देशकहरु देवानन्द उपाध्याय र देवेन्द्र थापाको पनि उमेर हदका कारण अनिवार्य अवकाश लिइसकेका कारण पनि यो पटक धेरैले दौड सुरु गरेका छन् ।
महानिर्देशक बन्न हालका उपमहानिर्देशक एवम् एवंम प्रवक्ता राजकुमार क्षेत्री, त्यस्तै भोलाप्रसाद गुरागाई , प्रतावबाबु तिवारी दौडमा छन् । क्षेत्री, गुरागाई र तिवारी १२ औं तहका हुन् । सेवाअवधिमा तिवारी र गुरागाईंभन्दा क्षेत्री पाँच वर्ष सिनियर हुन् । देवचन्द्र लाल कर्ण, हंसराज पाण्डे, गोविन्द दाहाल ,जगनाथ निरौला र प्रदिप अधिकारी दौडमा छन् । यी सबै ११ औं तहका हुन । ती मध्ये अधिकारी सबैभन्दा कनिष्ठ हुन् ।
उनिहरु विभिन्न राजनीतिक दलका नेताहरु भेट्नेदेखि पर्यटनमन्त्री को आउने भन्नेमा लागिरहेका छन् ।प्राधिकरणमा उपमहानिर्देशकका रुपमा ६ वर्ष कार्यकाल पुरा गरेपछि सेवा निवृत्त हुने प्रावधान रहेको छ । सोहीकारण धेरैजसो महानिर्देशकले आफ्नो ४ वर्षे कार्यकाल पुरै अवधि काम गर्न पाउँदैनन् ।
विषेश गरेर पर्यटनमन्त्री को आउने र प्रधानमन्त्रीले कसलाई साथ दिन्छ भन्ने भएकोले पनि अहिले नै यहि आउँछ भन्ने अवस्था नभएको प्राधिकरण भित्रका कर्मचारीहरुको भनाई छ ।
महानिर्देशक बन्नका लागि पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले पनि इच्छा देखाइरहेका छन् । सरकारले योग्य ठानेर जिम्मेवारी दिएमा आफु लिन तयार रहेको उनले बताए । महानिर्देशकका लागि पर्यटन मन्त्रालयले मन्त्रिपरिषदमा सिफारीस गर्नुपर्छ ।